सक्षम, सभ्य र समृद्ध रामेछाप बनाउने प्रतिबद्धता

आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि राजनीतिक दलहरू चुनावी अभियानमा व्यस्त छन् । मतदातालाई आ–आफ्नो पक्षमा पार्न लोकतान्त्रिक तथा वाम गठबन्धनका कार्यकर्ताहरू विभिन्न एजेन्डा लिएर मतदाताका घरदैलोमा पुगिरहेका छन् । रामेछापमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । १ प्रनितिधिसभा र २ प्रदेशसभाका लागि रामेछापमा १२ वटा दलले उम्मेदवारी दिएका छन् । नजिकिँदै गएको मतदानका समयसँगै जिल्लामा चुनावी सरगर्मी बढेको छ । प्रमुख प्रतिस्पर्धी दल नेपाली कांग्रेस र वाम गठबन्धनका उम्मेदवारको प्रचारप्रसारमा पनि तीव्र प्रतिस्पर्धा देखिएको छ । जिल्लाका सबै उम्मेदवार र पार्टी आ–आफ्ना एजेन्डा लिएर जनताका घरदैलोमा पुगिरहेका छन् । ९० वटा मतदान स्थलका १ सय ९१ मतदान केन्द्रबाट जिल्लाका कुल १ लाख ५२ हजार ४ सय ६५ जनाले मतदान गर्दैछन् । रामेछापका मुख्य प्रतिस्पर्धी उम्मेदवारहरूसँग कारोबारकर्मी रमेश ढुंगेलले गरेको कुराकानीको सार :
स्वच्छ प्रतिस्पर्धा गरौ, जिल्लाको विकासमा लागौं
पूर्णबहादुर तामाङ (कान्छाराम)
प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार
मसँग विकास–निर्माणको काम कसरी अगाडि बढाउनुपर्छ भन्ने अनुभव छ । जिल्लाका मोटरबाटो पुगिसकेका गाउँमा मोटरबाटोको स्तरोन्नति गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुलीलगायतका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर तत्काल काम सुरु गर्ने, चुनाव जिते पनि नजिते पनि जिल्लाको निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ दुवैमा १÷१ वटा डोजर दिने तथा दुवै क्षेत्रमा हरेक वर्ष २५ लाख रुपैयाँका दरले विकास–निर्माणको कामका लागि छुट्टाछट्टै रकम आफ्नो व्यक्तिगत तर्फबाट उपलब्ध गराउने, निर्वाचन क्षेत्र ‘ख’ मा चुनाव सकिएलगत्तै पाँचवटा एम्बुलेन्स दिने र जिल्लामा एउटा शवबाहन दिने योजना छ ।
जिल्लामा भएका सम्भावित पर्यटकीय स्थलको अध्ययन गरी त्यसको व्यवस्थापन गर्ने, जिल्लामै पर्याप्त उद्योगधन्दा, कलकारखाना सञ्चालन गरी बिदेसिने युवाहरूलाई स्वदेशमै रोजगारी दिने योजना छ ।
पार्टीले विश्वास गरेर मलाई रामेछापको प्रतिनिधिसभाको टिकट दिएको छ । पार्टीमा लागेको लामो समयपछि टिकट पाएको छु । संविधान कार्यान्वयनमा महŒवपूर्ण भूमिका खेल्नेछु । मभन्दा बढी अनुभवी उम्मेदवारसँग म चुनावी प्रतिस्पर्धामा छु । मेरो एउटा मात्र मान्यता छ— जसरी हुन्छ रामेछाप जिल्ला समृद्ध बन्नुपर्छ । हरेक जनताले परिवर्तनको अनुभूति गर्न पाउनुपर्छ । यसपटक पार्टीले युवा पुस्तालाई टिकट दिएको छ । रामेछापको सामाजिक कार्यमा पनि भूमिका खेल्दै आएको छु । मैले बिरामी हुँदा सहज रूपमा अस्पतालसम्म बिरामीलाई पु¥याउन जिल्लाका विभिन्न स्थानमा एम्बुलेन्स दिएको छु । निर्वाचनमा स्वच्छ तरिकाले प्रतिस्पर्धा गर्नुपर्छ । निर्वाचनमा झैझगडा गरेर जानु हुँदैन भन्ने मेरो स्पष्ट मान्यता छ ।
रामेछापमा वाम गठबन्धन र कांग्रेसको बीचमा स्थानीय तहको मतअन्तर २९ हजारभन्दा बढी छ । यो तथ्यांकअनुसार हामी त प्रचारमा नहिँडे पनि हुने हो, डराएर हिँडनुपर्ने हो; तर हामीलाई के विश्वास छ भने रामेछापका जनताले हामीलाई विश्वास गर्नेछन् । हाम्रो पक्षमा मतदान गर्नेछन् र हामीले नै चुनाव जित्छौं ।
मैले जितेको खण्डमा रामेछापमा धेरै काम गर्ने योजना बनाएको छु । रामेछापको मन्थली एयरपोर्टको पिच पनि मेरै नेतृत्वमा भएको हो । निर्वाचनका क्रममा हारजित जे भए पनि सामाजिक कार्यमा एक भएर अगाडि बढ्नेछु । सामाजिक काम गर्दा मैले कहिल्यै पार्टीगत रूपमा हेरेको छैन । गत वर्षको वर्षामा रामेछापको खिम्तीमा आएको बाढीपहिरोमा परी घाइते भएकाहरूको उद्धार गर्न मैले नै हेलिकप्टर पठाएको हुँ ।
म रामेछाप जिल्लालाई समृद्ध बनाउन चाहन्छु । मैले जितेमा राज्यबाट पाउने सेवा–सुविधा नलिने घोषणा गरेको छु । निर्वाचनका क्रममा कसैलाई पनि मुख नछाडौं । मेरो आग्रह छ, स्वच्छ तरिकाले इमानदारीपूर्वक राजनीति गरौं । स्वच्छ राजनीति गरेर जसले जनताको मन जित्छ, उसैले जित हासिल गर्ने हो ।
जिल्लालाई समृद्ध बनाउन भूमिका खेल्छु
श्यामकुमार श्रेष्ठ
प्रतिनिधिसभा सदस्यका नेकपा माओवादी केन्द्रका उम्मेदवार
प्रतिनिधिसभा सदस्यका नेकपा माओवादी केन्द्रका उम्मेदवार
रामेछाप जलस्रोतको धनी जिल्ला भएकाले त्यसको अध्ययन गरी रामेछापका जनताको जीवनस्तर माथि उठाउनेछु । मन्थली–देवीटार हुँदै दोलखाको लामाबगरबाट चीनसँग अन्तरदेशीय मार्गमार्फत कनेक्टिभिटी गर्ने योजना छ । यसअघि सांसद हँुदा र गृह राज्यमन्त्री हँुदा आफूले सुरु गरेका अपूरा काम पूरा गर्न पनि जनताले यस पटक पुनः आफूलाई जिताउनेछन् भन्ने मेरो विश्वास छ ।
रामेछापको विकास–निर्माणमा मैले यसअघि सांसद र राज्यमन्त्रीका रूपमा भूमिका निर्वाह गर्दै आएको छु । प्रतिनिधिसभाको निर्वाचनमा विजयी भए राष्ट्रिय स्तरका नीति–निर्माण तय गर्ने कार्यमा भूमिका खेल्नेछु । वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएको छु । केन्द्रको भूकिकाका साथसाथै रामेछापको विकास–निर्माण, उन्नति–प्रगति, जनताको सामाजिक न्याय तथा आर्थिक समृद्धिको बाटोमा आफूले निर्वाह गर्नुपर्ने भूमिकामा लाग्नेछु ।
नेपालमा स्थायी शान्ति र दिगो विकासका लागि स्थायी सरकार आवश्यक छ । त्यसका लागि संवैधानिक रूपले देखा परेका समस्या समाधान गरेर शासकीय स्वरूपमा परिवर्तन गर्नुपर्छ । छोटो समयमा सरकार परिवर्तन हुने अहिले जुन समस्या छ, यसको दीर्घकालीन समाधान भनेको जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली नै हो । देशको समृद्धिका लागि जनताद्वारा निर्वाचित कार्यकारी प्रणालीलाई अवलम्बन गर्नुपर्छ ।
स्थायी सरकार गठन नहँुदासम्म दिगो विकासको बाटोमा मुलुकलाई लैजान सकिँदैन । प्रदेशसभाका धेरै ऐन बनाउनुपर्नेछ । यसका लागि पनि महŒवपूर्ण भूमिका निर्वाह गर्नेछु । नेपालमा दैनिक १५ सय युवा बिदेसिन बाध्य छन् । नेपालमा रोजगारीको अवसर नहुँदा प्रचुर रूपमा प्राकृतिक स्रोतसाधन भएर पनि सही ढंगले व्यवस्थापन हुन सकेको छैन । अब संरचनागत रूपमा व्यवस्था गरेर रोजगारीको अवस्था सिर्जना गर्नुपर्छ । नेपालको दिगो विकास हासिल गर्नका लागि युवाहरूलाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्नुपर्छ । नेपालको सापेक्षतामा नेपालमै प्रविधिको विकास गर्नुपर्छ । यसो गर्न नसक्दा दक्ष जनशक्ति सबै बिदेसिने खतरा छ ।
जिल्लामा रणनीतिक खालका महŒवका योजनाहरू पहिचान गरिसकेका छौं । योजनाबद्ध रूपमा जिल्लाको विकास गर्ने योजना बनाएको छु । एक–दुईवटा स्काभेटर लगेर बाटो खनिदिनेबित्तिकै जिल्लाको विकास हुन सक्दैन । जिल्लाको समग्र विकास मुख्य कुरा हो । जिल्लाको विकास गर्न हामी सबै मिलौं । हामी सबै जुटौं । हामी सबै मिलेर लाग्यौं भने मात्र जिल्लाले राखेको लक्ष्य हासिल गर्न सकिन्छ । मुख्य सडकको स्तरोन्नति तथा कालोपत्रेलाई प्राथमिकता दिइएको छ ।
ऊर्जाको क्षेत्रमा राष्ट्रिय गौरवका आयोजनाहरू रामेछाप जिल्लामा सञ्चालन हुँदैछन् । ती आयोजनाहरूमा रामेछापवासीलाई अनिवार्य रूपमा सेयर हाल्ने व्यवस्था गछौं । हामीले रामेछापवासीको दैनिक जीवनस्तर कसरी सुधार गर्न सकिन्छ भनेरै योजना बनाएका छौं । रामेछापका जनतासँग रहेको पुँजीलाई एकीकृत गरेर ऊर्जा क्षेत्रमा लगानी गरी आर्थिक उन्नतिमा टेवा पु¥याउने लक्ष्य लिएका छौं । रामेछापलाई पर्यटकीय क्षेत्र बनाएर पनि आर्थिक रूपमा सम्पन्न बनाउन सकिन्छ । गुम्देलको लाछ्योर महालङ्गुलर हिमाललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गछौं । लिखु करिडोर, तामाकोसी करिडोर तथा सुनकोसी करिडोरलाई ऊर्जाको भण्डारका रूपमा लिएर अगाडि बढ्छौं । यी योजना अगाडि बढाउन सकेको खण्डमा आम रामेछापेली जनताको जीवनस्तर उकास्न सकिन्छ भन्ने मेरो विश्वास छ ।
रामेछापका हरेक ठाउँमा स्वास्थ्य, शिक्षा, रोजगारी, प्राविधिक शिक्षाको माध्यमबाट समग्र क्षेत्रको विकास गर्ने योजना बनाइएको छ । हामीले वाम गठबन्धनका तर्फबाट सिंगो रामेछापको आर्थिक समृद्धि र पूर्वाधार विकासलाई युद्धस्तरमा काम गर्ने लक्ष्य बनाएका छौं । रामेछापमा खानेपानीको ठूलो समस्या छ । लिफ्ट खानेपानी योजनामार्फत जनताका समस्या समाधान गर्छौं ।
म निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्छु । अरू उम्मेदवारहरूलाई पनि आचारसंहिता पालना गर्न आग्रह गर्छु । २०७० सालको निर्वाचनमा पनि मलाई जिताउनुभयो । रामेछापको वामपन्थी धारबाट राज्यमन्त्री बनाउनुभएको छ । अब फेरि पनि जिताउनुहुनेछ भन्ने विश्वास लिएको छु ।
तीन तहमा वर्गीकरण गरेर विकास गर्छौं
कैलाशप्रसाद ढुंगेल
प्रदेशसभा सदस्यका एमाले उम्मेदवार
निर्वाचन क्षेत्र ‘ख’
प्रदेशसभामा बनाउनुपर्ने, कानुन बनाउनुपर्ने आवश्यकता छ । स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकारको पाइपलाइनलाई मिलाउने काममा भूमिका खेल्छु । राजनीतिक दलहरूले आस्था र विश्वास जहाँ राखे पनि रामेछापको भूगोल साझा छ । रामेछापसँग के छ, हामीले त्यसको पहिचान गरेका छौं । रामेछापसँग जमिन, जंगल र पानी छ । यसलाई आधार बनाएर पानी, वन र जमिनमा आधारित भएर व्यावसायिक उत्पादन गर्दै औद्योगीकरणतिर लैजानुपर्छ । शिक्षालाई प्रभावकारी बनाउन व्यावसायिक शिक्षामा जोड दिनुपर्छ । अब गाउँपालिकाभित्र आधारभूत जनतासँग सरोकार राख्ने शिक्षा प्रणालीमा लैजाने सोच बनाएका छौं ।
हामीसँग रहेको जलविद्युत्को भण्डारलाई प्रभावकारी रूपमा उपयोग गर्ने नीति बनाएका छौं । खिम्ती, लिखु, सुनकोसीलगायतका खोला तथा नदीहरूबाट उत्पादन हुने आयोजना सकेसम्म नागरिकको लगानीमा उत्पादन गरी हाम्रो हो भन्ने देखाउनुपर्छ । सडकको गुरुयोजना यसअघि नै निर्माण भइसकेको छ । रामेछापका सबै सडक बा¥है महिना सञ्चालनमा ल्याउनेछौं, जसका कारणले उत्पादनलाई बजारसम्म लैजान सहज हुन्छ । व्यावसायिक पशुपालन र कृषि प्रणालीलाई अगाडि बढाउनुपर्छ । अस्थिर खालका जनप्रतिनिधि भएकाले विकासले गति लिन नसकेको हो । अहिलेसम्म पाँच वर्षसम्म एउटै सरकार चलेको अवस्था छैन । स्थानीय सरकार भइसक्यो । प्रदेश र केन्द्रीय सरकार बहुमत नभए फेरि यो अलपत्र पर्छ । दिगो सरकार चाहिएको छ । हामीले अत्यावश्यक योजनालाई पहिलो चरणमा, मझौला योजनालाई दोस्रो चरण र ठूला योजनाहरूलाई तेस्रो चरणमा सम्पन्न गर्ने योजना बनाएका छौं । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाए रामेछाप समृद्ध बनाउने सोच बनाएका छौं । रामेछापलाई हरियाली र समृद्ध बनाउने हाम्रो प्रतिबद्धता छ ।
पाच वर्षभित्र परिवर्तनको महसुस गराउछु
शान्ति पौडेल
प्रदेशसभा सदस्यका एमाले उम्मेदवार
निर्वाचन क्षेत्र ‘क’
प्रदेशबाट थुप्रै खालका कानुन निर्माण गर्नुपर्ने अवस्था छ, त्यसका लागि महŒवपूर्ण भूमिका निर्वाह गर्नेछु, जुन कानुनले तल्लो तहमा राज्यका तर्फबाट प्रवाह हुने सेवाहरूलाई नजिक पु¥याउनेछ । रामेछाप जिल्लालाई समृद्ध बनाउन लागि के–के बनाउनुपर्छ ? भन्ने धेरै चासोको विषय छ । जिल्ला सदरमुकामदेखि गाउँपालिकाका केन्द्रहरूसम्म यो पाँच वर्षभित्र सडक पिच गर्नका लागि पहल गर्नेछौं । यो काम पूरा गर्न सकिन्छ । वडाको केन्द्रदेखि गाउँपालिकाको केन्द्रसम्म बा¥है महिना यातायात सञ्चालन गर्ने गरी सडक स्तरोन्नति गर्नेछौं । लिखु करिडोरको सडकलाई आगामी पाँच वर्षभित्र सम्पन्न गर्न भूमिका खेल्नेछु । ३४ वटा सडकले सबै रामेछापलाई जोडनेछ । यो गुरुयोजना कार्यान्वयन गर्न लाग्नेछु ।
स्वास्थ्यको क्षेत्रमा सरकारले घोषणा गरेको १५ शैयाको अस्पताललाई गाउँपालिका र नगरपालिकामा केन्द्रमा स्थापना गर्नेछु । बस्ती विकास गर्ने योजनालाई व्यवस्थित गर्दै बसाइँसराइको समस्या समधान गर्न सहरीकरणलाई ध्यान दिनेछु । भूकम्पपीडित जसलाई घर बनाउन जमिनको अभाव छ, उहाँहरूलाई सुरक्षित बस्तीमा सार्नेछौं । सामुदायिक विद्यालयहरू, भौतिक पूर्वाधारहरू सुधार गर्दै प्राविधिक शिक्षा प्रदान गर्न भूमिका खेल्नेछु । रामेछाप सुक्खाग्रस्त जिल्ला हो । लिफ्ट प्रणालीबाट खानेपानी पु¥याउने प्रतिबद्धता पनि व्यक्त गर्छु । साविकका ३५ गाविसमा एक वर्षभित्र विद्युतीकरण हुने विश्वास पनि दिलाउँछु । कृषिको धेरै जमिन बाझो हुँदै गएको छ । प्रदेशसभाले स्थानीय र केन्द्रीय तहलाई जोड्ने काममा भूमिका खेल्नेछु ।
शिक्षामा रहेको विभेद हटाउ“छु
रत्न कार्की
प्रदेशसभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार
निर्वाचन क्षेत्र ‘क’
मेरो पहिलो प्राथमिकता लोकतन्त्रको संस्थागत विकास गर्नु नै हुनेछ । प्रदेशसभाको निर्वाचनमा म निर्वाचित भएको अवस्थामा जिल्लाको विकासमा भूमिका खेल्नेछु । प्रदेशसभाबाट कानुन बनाएर देशको विकासमा लाग्नेछु । सामाजिक एजेन्डा र विकास–निर्माणका लागि राजनीतिक स्थिरता आवश्यक हुन्छ । कानुनी राज्य महŒवपूर्ण हुन्छ । म निर्वाचनका क्रममा आकाशको तारा नै झार्छु भन्न चाहन्नँ । पूरा गर्न नसकिने वाचा गरेर म जनतालाई झुक्याउन चाहन्न । स्वाभाविक रूपमा हाम्रो समाजमा समस्या छन् । सडक, विद्युत्, खानेपानी, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यकता छ । शिक्षामा ठूलो विभेद छ ।
गाउँमा पढ्ने र सहरमा पढ्ने विद्यार्थीमा पाठ्यक्रम, शिक्षक, भौतिक सुविधाको विभेद छ । विभदेकारी शिक्षा प्रणालीको अन्त्य गर्न भूमिका खेल्नेछु । एउटै प्रणालीको शिक्षा नेपालमा आवश्यक छ । रामेछापका जनताको स्वास्थ्यमा राम्रो पहुँच छैन । म निर्वाचित भएपछि रामेछापमा अस्पताल निर्माणलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढाउनेछु । रामेछाप नदी नै नदीले घेरिएको छ । रामेछापको विकासको आधार ऊर्जा हो । सबै नदीनाला र खोलाबाट अत्यधिक मात्रामा विद्युत् उत्पादन गर्न चाहन्छौं । यो योजना अगाडि बढाउन सकेको अवस्थामा रामेछापको मुहार फेर्न सकिन्छ ।
बहुमूल्य जडीबुटी त्यसै खेर गइरहेको छ । यसको यथोचित पहिचान गरेर विकास गर्न चाहन्छौं । उद्योग, कलकारखाना सञ्चालन गर्न लाग्छौं । सडकलाई व्यवस्थित गर्दै खानेपानीको समस्या समाधान गर्न लिफ्ट सिस्टमबाट भए पनि स्वच्छ खानेपानी पु¥याउँछौं । परम्परागत कृषि प्रणालीले श्रम खेर गइरहेको छ । अब व्यावसायिक कृषि प्रणालीलाई अगाडि बढाउने योजना बनाएको छु । युवाहरूलाई सकारात्मक सोचका साथ अगाडि बढाउने हो भने रामेछापको परिवर्तन सम्भव छ । म अझै पनि लामो समय राजनीति गर्ने अठोट छ । लोभ र स्वार्थ विशेषमा भ्रम छर्न चाहन्नँ । जे गर्न सक्छु त्यो गर्ने हो । समाजमा रहेको सामाजिक विभेद अन्त्य गर्न लाग्नेछु ।
भ्रष्टाचारलाई शून्यमा झार्न भूमिका खेल्छु
जितबहादुर थापामगर
प्रदेशसभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार
निर्वाचन क्षेत्र ‘ख’
संविधान संशोधनमार्फत कार्यकारी राष्ट्रपतीय प्रणालीमा जान सकिन्छ कि भन्ने वाम गठबन्धनले राजनीतिक तरंग ल्याउने काम गरेको छ । कुरा अहिले समृद्धिको छ । रामेछापलाई समृद्ध बनाउनका लागि सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता मिल्नु जरुरी छ । रामेछापको विकास–निर्माणमा आउने बजेट सही तरिकाले सदुपयोग गर्न भूमिका खेल्नुपर्छ । भ्रष्टाचार हुन नदिन सचेत बन्नुपर्छ ।
यदि म निर्वाचित भएमा पहिलो प्राथमिकता भ्रष्टाचारलाई शून्यतामा झार्ने हुनेछ । दोस्रो, अहिले गाउँ रित्तो भएको छ । सबै मानिस सहरकेन्द्रित हुन थालेका छन् । गाउँ निर्माण गर्ने युवा जनशक्ति बिदेसिएको छ । जिल्लाको विकास गर्न सकेको अवस्थामा सहर रोज्नेहरू बिस्तारै आफ्नो गाउँ फर्किनेछन् । जिल्लामा पिच सडक, खानेपानी, विद्युत्, स्वास्थ्य शिक्षा, प्रहरी चौकीलगायतका आवश्यक भौतिक पूर्वाधार निर्माण गर्नुपर्छ । रामेछापलाई समृद्ध बनाउनका लागि गाउँबस्तीको पुनः मूल्यांकन गर्नुपर्छ । रामेछापमा बैंक स्थापना गर्नुपर्छ ।
कृषिक्षेत्रको सुधार गर्न सकेको अवस्थामा रामेछापको विकास गर्न सकिन्छ । निर्वाचनका क्रममा गरिने प्रतिबद्धता अनुसार नै निर्वाचित भएपछि काम पनि गरेर देखाउनुपर्छ । रामेछापमा जे–जस्तो अवस्थामा भए पनि निर्माण भएका सडकलाई स्तरोन्नति गर्नुपर्छ । रामेछापभित्रका सबै सडकलाई व्यवस्थित गर्नुपर्छ । जिल्लाको विकास गर्न पहिलो कुरा इच्छाशक्ति चाहिन्छ । दृढ इच्छाशक्ति हुने हो भने कसैले पनि विकास–निर्माणको कामलाई रोक्न सक्दैन । रामेछापलाई जोडेर रेल्वे निर्माण गर्नुपर्छ । भ्रष्टाचारलाई शून्यतामा नझारेसम्म जति बजेट हाले पनि जिल्लाको विकास हुँदैन । मैले निर्वाचन जितेको अवस्थामा पाँच वर्ष रामेछापलाई झिलिमिली बनाउन लाग्नेछु ।