Logo

हवाई रुटमा दोस्रोपटक प्रतिबद्धता

नेपाल र भारतबीच नयाँ हवाई रुट खोल्ने सैद्धान्तिक सहमति भएको झन्डै चार वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणका क्रममा पुनः सोही विषयमा प्रतिबद्धता जनाएका छन् । मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको संयुक्त वक्तव्यमा हवाई रुटको विषयमा प्राविधिक टोलीले अध्ययन गरे टुंग्याउने भनिएको छ । मोदी सन् २०१४ मा नेपाल भ्रमणमा आउँदा पनि यसरी नै हवाई रुटको विषय प्राविधिक टोलीले टुंग्याउने संयुक्त वक्तव्यमा उल्लेख गरिएको थियो ।
गत वर्ष नेपाल र भारतीय प्रतिनिधिबीच भएको दुईपक्षिय वार्तामा नयाँ हवाई रुट थप गर्न सहमति समेत भएको थियो । तर हालसम्म पनि कार्यन्वयनमा भने आउन सकेको छैन । भारतले तत्कालको लागि नेपालगन्ज रुट प्रयोग गर्न दिने भने पनि गत वर्षदेखि कुनै पनि वार्ताहरू अगाडि नबढ्दा नयाँ हवाई रुट खुल्ने प्रक्रिया झनै लम्बिँदै गएको छ । चार वर्षअघि भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणको अवसरमा नयाँ हवाई रुट दिने बताएका थिए । उक्त समयमा ६ महिनामा टुंग्याउने बताएको भएपनि हालसम्म कार्यन्वयमा भने आउन सकेको छैन । यसपटकको भ्रमणमा पनि हवाई रुटको विषयमा कुरा उठेर संयुक्त वक्तव्यमा समावेश गरिएको छ ।
चारवर्षयता पटक-पटकको वार्तापछि भारतीयपक्षले नेपालगन्ज रुट तत्काल खोल्ने समझदारी गरेका थिए । तर दुई पक्षले प्राविधिक रिपोर्ट तयार गरेर पुनः वार्ता गरेपनि टुंगिने भनिएता पनि हालसम्म रुट भने खुल्न सकेको छैन । नेपाल भारतसंग जनकपुर, नेपालगन्ज र भैहरवाको हवाई रुट मागेको थियो । जनकपुर र नेपालगन्ज दिन भारत तयार भए पनि भैरहवाको रुट भने दिननसक्ने यसअघि नै बताइसकेको छ ।
नेपालले निर्माण जारी राखेका भैरहवा, पोखरा र निजगढ विमानस्थलका लागि पनि नयाँ हवाई रुट अत्यावस्यक रहेको छ । हाल सिमाराबाट मात्रै हवाई रुट खुल्ला रहेको छ । गत वर्षको सहमतिमा महेन्द्रनगरबाट बाहिरिन दिने सहमति भएको थियो । उक्त सहमति समेत कार्यन्वयनमा आएको छैन ।
भारतले ट्रान्स हिमालयन रुट–२ समेत खोल्न तयार भइसकेको छ । तर म्यानमार र भुटानको समेत सहमति आवस्यक पर्ने भएकोले उक्त रुट खुल्ने विषयमा समेत कुनै पनि विषय अगाडि बढेको छैन । काठमाडौं–महेन्द्रनगर–दिल्ली (एल–६२६) दोहोरो रुट हो । त्यस्तैगरी ल्हासा–काठमाडौं–भरतपुर–भैरहवा–दिल्ली रुट (बि३४५) रहेको छ । भने काठमाडौं–जलेश्वर–पटना (जी३३५) रुट रहेको छ ।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ भित्र संचालनमा आउँदै छ भने सन् २०२० मा पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउँदै छ । दुई विमानस्थल सञ्चालनको लागि पनि नेपालगन्ज रुट अनिवार्य आवस्यकता रहेको छ । केही महिनाअघि सिंगापुरमा सम्पन्न अन्तर्राष्ट्रिय ‘एयर शो’मा समेत नेपालले हवाई रुटको विषयमा कुरा उठाएको थियो । एउटामात्र सिमरा रुट हुँदा नेपाली हवाई आकाश बढी व्यस्त हुँदै आएको छ ।
खुल्ला आकाश सम्झौतामा भारत अनुदार
विमानस्थल निर्माणले गति लिँदै जाँदा नेपाल र भारतबीच हुनुपर्ने अत्यावश्यक सम्झौता खुल्ला आकाश सम्झौता अर्थात एयर स्पेश एग्रिमेन्ट (एएसए) को विषयमा छलफलनै हुन सकेको छैन । नेपाल–भारतबीच हुने भनिएको हवाई सम्झौता प्रक्रिया सुरु भएको पाँच वर्षमा पनि दुईपक्षीय छलफलसमेत अगाडि बढेका छैनन् ।
यस सम्झौता नभए नेपालमा बन्दै गरेका क्षेत्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थलहरूमा जहाजहरू उडान-अवतरणको गर्न नपाउने निश्चत छ । सम्भौता नहुँदा भैरहवा, पोखरा र निजगढमा निर्माण गरिने भनेको तीनवटै विमानस्थलले बिजनेस पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्