जनकपुर-अयोध्या सिधा बस सेवा सुरु
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर-अयोध्या सिधा बस सेवाको संयुक्त रूपमा शुभारम्भ गरेका छन्। जनकपुरमा शुक्रबार आयोजित कार्यक्रममा दुवै प्रधानमन्त्रीले हातमा हरियो झण्डा लिएर बस सेवा सुरू गरेका हुन्।
यसअघि प्रधानमन्त्री ओली र मोदीले जनकपुरमा छुट्टाछुट्टै सम्बोधन पनि गरेका थिए। उद्घाटनपछि जनकपुरदेखि भारतको अयोध्यासम्मका लागि शुक्रबार बस प्रस्थान गरेको छ। बस सञ्चालनको शुभारम्भ गरेसँगै रामायण सर्किट अन्तर्गत जनकपुर-अयोध्या जोडिएका छन्।
सन् २०१४ मा मोदीको नेपाल भ्रमणका क्रममा अयोध्या र जनकपुरबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध प्रवर्द्धन र विकासका लागि नेपाल सरकारसँग गरिएको सम्झौताअनुरूप रामायण सर्किट परियोजना सुरु भएको हो। यो परियोजनाभित्र अयोध्या, शृङ्गपुर, चित्रकुट, सीतामढी, बक्सर दरभंगा, नन्दीग्राम महेन्द्रगिरि, जगदलपुर, भद्राचलम, रामेश्वरम्, हम्पी, नासिक र नागपुर समेटिने छन्। नेपालतर्फ जनकपुरधाम लगायत भगवान् राम र सीताको जीवनगाथासँग जोडिएको धार्मिक स्थलको विकास गर्ने लक्ष्य परियोजनाले राखेको छ।
भारतको पर्यटन मन्त्रालयबाट भारतभर दर्शन योजनाअन्तर्गत विकसित १३ विषयगत सर्किटमध्ये रामायण सर्किट एक हो।
नेपाल–भारत सहकार्यका ५ ‘टि’मोडल
जनकपुरमा नागरिक अभिनन्दन कार्यक्रमपछि बोल्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाल भारतबीचको सम्बन्धमा ५ टि’को महत्व औल्याएका छन् । ट्रेडिसन (परम्परा), ट्रेड (व्यापार), टुरिजम (पर्यटन), टेक्नोलोजी (प्रविधि) र ट्रान्सपोर्ट (यातायात)को क्षेत्रमा दुई देशबीचको सहकार्य गरेर अघि बढ्नुपर्ने बताउँदै उनले दुई देशबीचको ‘कनेक्टिभिटी’मा जोड दिए। साथै, मोदीले जनकपुर र आसपासको विकासका लागि भारत सरकारले एक अर्ब रुपैयाँ सहयोग गर्ने घोषणा पनि गरेका छन्। जनकपुरको बारहबिघामा नागरिक अभिनन्दन ग्रहणपछिको सम्बोधनका क्रममा मोदीले नेपाल सरकार र प्रदेशसरकारको योजनामार्फत भारतले जनकपुर र आसपासको विकासका लागि एक सय करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्।