६० घर, एउटै शौचालयको भर

जुम्ला- ‘हरेक दिनको सुरुवात बिहानीबाट हुन्छ’ भनेझैं यहाँका नागरिकको हरेक दिनको सुरुवात शौच कसरी गर्ने भन्ने पीर चिन्ताबाट सुरु हुन्छ । काम धन्दाभन्दा शौचालय कसरी र कहाँ गर्ने भन्ने चिन्ता, खुल्ला ठाउँमा गरौँ, खुला दिसामुक्त घोषणा जिल्ला पर्यो, नगरौं के गर्ने हैरानीमा दैनिकी चलिरहेको झण्डै ६० घरधुरीको समस्या हो यो । जुम्ला नेपालको ३५औं खुल्ला दिसामुक्त घोषणा भएको जिल्ला हो ।
यहाँका सयौं नागरिक शौचालयविहीन छन् । गाउँको कुरै नगरौं, एउटा पनि शौचालय नभएका पनि गाउँ छन् । तर अलि शिक्षित र हुनेखाने बसोबास गर्ने जुम्ला सदरमुकामै शौचालय अभाव छ ।
चन्दननाथ नगरपालिका–५ का ज्ञानबहादुर विकको परिवारलाई हरेक दिन बेलुका सुतिसकेपछि भोलि बिहानको काम धन्दाभन्दा बढी शौैच गर्ने चिन्ताले सताउँछ । ‘किनकि घरमा शौचालय छैन, खुल्ला शौच गर्न पाइँदैन । “टोलमा भएको एउटै शौचालयमा जो पहिले पुग्यो, त्यसैले शौच गर्न पाउँछ,” उनले भने, “शौच गर्नकै लागि भए पनि एकाबिहानै उठ्नुपर्छ, आफूलाई शौैच लागेको बेला शौैचालयमा हुल हुन्छ, घरमा शौचालय बनाउने जग्गा पनि छैन । बिहान शौच गर्न लामबद्ध भएर घण्टौ बस्नु पर्ने बाध्यता छ । यो दृष्य जुम्ला सदरमुकाम–५ कालेखोली लाइनको हो ।
ज्ञानबहादुर जस्तै जिल्ला सदरमुकाममा अवस्थित कालेखोली टोलका ६० घरपरिवारले विगत धेरै वर्षयता एउटै शौचालय प्रयोग गर्दै आएका छन् । सबै टोलवासीले एउटै शौचालय प्रयोग गर्दा घण्टौ लाइनमा बस्नुपर्ने बाध्ययता रहेको चन्द्रलाल सुनारले बताए । दलित समुदायको बाहुल्य रहेको उक्त टोलका स्थानीयले एउटै सार्वजनिक शौचालय प्रयोग गर्दै आएपछि यस्तो समस्या भोग्नु परेको हो ।
साँगुरो बस्तीमा गुजुमुज्ज घरैघरले जोडिएको कालेखोली टोलका दलित समुदायसँग शौचालय बनाउने जग्गा नै नभएपछि नगरपालिकाले बनाइ दिएको सार्वजनिक शौचालय प्रयोग गर्न उनीहरू बाध्य छन् । “शौचालय निर्माणका लागि हामीसँग घर लगाएको जग्गाबाहेक अन्य जग्गा छैन,” उनीहरूको गुनासो छ ।
सार्वजनिक शौचालयमा हुल गरेर शौच गर्न लाज लाग्छ, तर बाध्यता छ । “आफ्नै घरमा शौचालय बनाए आरामले शौच गर्न पाइन्थ्यो,” स्थानीय हजमा विकले भनिन्, “समुदायमा शौचालय नभएको थाहा पाउँदा पाउँदै, जिल्लालाई किन खुला दिसामुक्त घोषणा गरियो, हाम्रो समुदायको यो समस्या कसले सुन्छ ।”
आधुनिक शौचालय निर्माण हुदैं
कालेखोली टोलका दलित समुदायले भोग्दै आएको शौच गर्ने समस्या समाधानका लागि चन्दननाथ नगरपालिकाको सहयोगमा वडापालिकाले निर्माण गरिरहेको सुविधा सम्पन्न आधुनिक शौचालय निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । वडाध्यक्ष अर्जुनसिंह कठायतका अनुसार १० लाख लागतमा निर्माण हुने आधुनिक शौचालयमा सोलार, विद्युत्, चिसोतातो नुवाउने पानीसहित आवाश्यक सामग्रीका साथ महिला, पुरुष, अपांग र बालमैत्री शौचालय निर्माण हुने भएको छ । आधुनिक शौचालय निर्माणपछि कालेखोली टोलका समुदायले भोग्दै आएको शौैच गर्ने समस्या हट्ने वडाध्यक्ष कठायतले बताए ।