हावाहुरीले २० करोडको केरा क्षति

चितवन- चितवनको कालिका नगरपालिका–२ का डोलनाथ दाहाल बिमा सम्बन्धमा जानकार थिए । दैवी प्रकोपबाट बालीनालीमा क्षति हुँदा राहत भए पनि मिल्ने बुझेर उनले केराखेतीको बिमा गरिहाले । चार वर्षअघि खेती सुरु गरेका दाहालले सुरुमै आफ्नो खेतीको बिमा गरेका हुन् । आइतबार साँझ आएको हावाहुरीसँगैको असिनापानीले उनले लगाएको सम्पूर्ण केराखेतीमा नोक्सान पु¥यायो । केरा वगानमा गएर टुलुटुल हेर्नु सिवाय अरु केही गर्ने अवस्थामा छैनन् ।
दाहालले कालिका नगरपालिकाका विभिन्न तीन स्थानमा गरि १२ विगाहामा केराखेती गर्दै आएका छन् । आइतबारको हावाहुरी र असिनासहितको पानीले १२ विगाहामै पूर्णरूपमा क्षति पुर्यायो । उनले ९ विगाहा ३ कट्ठाको भने बिमा गरेका छन् । अरु बिमाको प्रक्रियामा थियो । तीनै ठाउँको केरा करिव–करिव तयारी अवस्थामा थियो । हावाहुरी र असिनापानी उनका लागि अभिसाप बन्यो । केरा बेच्न पाएको भए करिव ४८ लाख रूपैयाँ आम्दानी हुने दाहालले सुनाए । “बिमा नगरेको भए डुब्थेँ,” दाहालले भने, “बिमासम्बन्धी केही जानकारी भएकाले सुरुमै गरिहालें, यदि बिमाले क्षतिपूर्ति दिए बराबर जसो हुन्छ होला ।” बिमाले क्षतिपूर्ति दिएमा दाहालले २४ लाख रूपैयाँ पाउनेछन् । बिमा कम्पनीले क्षतिपूर्ति वापत एक घरी केराको १ सय ९० रूपैयाँ दिने उनले बताए ।
दाहालसँगै सिमाना जोडिएको विजय अधिकारीको पनि ३ विगाहामा लगाएको केराखेती पूर्ण रूपमा क्षति भएको छ । हावाहुरी र असिनाकै कारण उनको खेतीमा करिव १६ लाख वरावरको क्षति भएको छ । दाहालसँगै उनले पनि चार वर्ष अघि केराखेती गरेका थिए तर उनले खेतीको बिमा भने गरेका छैनन् । बिमा नगर्दा उनलाई अहिले पछुतो लागेको छ । “बिमा गर्ने भन्दाभन्दै गरिएन”, अधिकारीले भने, “त्यसको परिणाम अहिले डुब्ने अवस्थामा आयो ।” केही कागजपत्र नमिल्दा बिमा नगरिएको उनको भनाई छ । कालिका नगरपालिका– ४ का केदारप्रसाद अधिकारीले पनि १७ कट्ठामा लगाएको केराखेतीको बिमा गरेका छैनन् । उनको पनि पुरै खेती नष्ट भएको छ ।
चितवनका सफल केरा किसानका रूपमा चिनिएका चितवन केरा उत्पादक संघका निवर्तमान अध्यक्षसमेत रहेका यज्ञप्रसाद सुवेदीको पनि हावाहुरीका कारण करिब १ करोड रूपैयाँ बराबरको क्षति भएको छ । उनले चितवनमा ५५ विगाहामा केराखेती गर्दै आएका छन् । हावाहुरीका कारण करिब ३० विगाहामा क्षति पुगेको सुवेदीले बताए । रत्ननगर १२ जिरौनाका आशबहादुर गुरुङको पनि ७ विगाहामा गरेको केराखेती पूर्णरूपमा नष्ट भएको छ । त्यसबाट उनले करिव ३५ लाखको क्षति व्यहोर्नु परेको छ । खेतीको बिमा गरे पनि प्रत्येक वर्ष आउने हावाहुरीका कारण यो पेशाबाट पलायन हुनुपर्ने अवस्था नजिक रहेको गुरुङले दुखेसो पोखे ।
चितवन केरा उत्पादक संघका अनुसार हावाहुरी र असिनापानीका कारण चितवनमा करिव २० करोडभन्दा बढीको क्षति भएको छ । जिल्लाका अनुमानित ४ सय जना किसानको बगानमा करिव २० करोडको क्षति भएको संघका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए । क्षति भएका मध्ये २ सय ५० जना किसानले आफ्नो खेतीको बिमा गरेका छैनन् । चितवनमा कूल ६ सय ३० जना केरा किसान छन् । तीमध्ये १ सय ६५ जनाले मात्रै बिमा गरेको उनले बताए ।
यसैबीच प्रदेश नम्बर ३ का कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामाले हावाहुरी र असिनापानीका कारण क्षति पुगेका केरा बगानको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन् । मन्त्री लामाले जिल्लाका विभिन्न स्थानमा भएको क्षतिबारे जानकारी लिँदै निरीक्षण गरेका हुन् । उनीसँगै कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ, रत्ननगर नगरपालिकाका मेयर नारायण वनसहितको टोलीले पनि प्रभावित क्षेत्रको अनुगमन गरेको थियो ।