धान जोनका लागि ३ करोड १२ लाख «

धान जोनका लागि ३ करोड १२ लाख

कञ्चनपुर-प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ धान जोन कञ्चनपुरले धान जोनका लागि ३ करोड १२ लाख रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ । परियोजना कार्यान्वयन एकाइले आर्थिक वर्ष ०७४-७५ लागि उक्त बजेट सार्वजनिक गरेको हो । गत वर्ष जोन कार्यालयले भीमदत्त नगरपालिकामा ५ सय ५० बिघा र कृष्णपुर नगरपालिकामा २ सय बिघामा गरी कुल ७ सय ५० विघा अर्थात् ५ सय हेक्टर क्षेत्रफलमा कार्यक्रम सञ्चालन गरेको थियो । किसानहरूलाई उत्पादनमूलक र स्वरोजगारमूलक बनाउने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले धान जोनको विकासका साथै १ हजार ६ सय ३० कृषकको समृद्धिका लागि कार्यक्रमहरू सार्वजानिक गरेको छ ।
आर्थिक वर्ष ०७४-७५ को बजेटमा पुँजीगततर्फ ९ लाख ४२ हजार रुपैयाँ (फर्निचर, कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर, सोलार) र चालूतर्फ ३ करोड २ लाख ९७ हजार रुपैयाँ विनियोजन गरेको परियोजना कार्यान्वयन एकाइ धान जोनका कार्यक्रम प्रस्तोतकर्ता तथा वरिष्ठ कृषि विकास अधिकृत गोकुलप्रसाद बोहराले जानकारी दिए । उनले धान जोनका लागि कञ्चनपुर जिल्लामा दुईवटा मात्रै नगरपालिकामा जोन भए पनि यसको क्षेत्र विस्तारका लागि सबैले सहयोग गर्नुपर्ने बताए । आर्थिक वर्षमा चालू बजेटतर्फ विभिन्न कार्यक्रममा बजेट विनियोजन गरेको वरिष्ठ कृषि विकास अधिकृत गोकुल प्रसाद बोहराले बताए, जसअन्तर्गत प्रतिफलमा आधारित प्रोत्साहन अनुदानमा २० लाख, सञ्चालन समितिको मागमा आधारित पुँजीगत बजेट १ सय ५८ लाख र चालू बजेट २० लाख ७० हजार, कृषि शिक्षालय स्थापनाका लागि ५ लाख, भकारो सुधारका लागि १३ लाख रुपैयाँ विनियोजित गरेको छ । त्यस्तै गोष्ठी, तालिम, प्रविधि प्रकाशन तथा प्रदर्शनका लागि ८ लाख ४५ हजार, प्रोफाइल तयारीका लागि ५ लाख र तलब तथा कार्यालय सञ्चालनका लागि ७२ लाख ८२ हजार रुपैयाँ बजेट विनियोजित गरेको वरिष्ठ कृषि विकास अधिकृत बोहराले बताए ।

महादेव अवस्थी

प्रतिक्रिया दिनुहोस्