मोदी भ्रमणका सांकेतिक विम्बहरू «

मोदी भ्रमणका सांकेतिक विम्बहरू

मोदी भ्रमणले नेपालमा घट्दो भारतीय लगानी पुनः लयमा फर्कने र भारतीय पर्यटकको आगमन बढ्ने अपेक्षा पनि गर्न सकिन्छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शुक्रबारदेखि हुने नेपाल भ्रमणले यहाँको राजनीतिक वृत्त मात्र नभई सम्पूर्ण समाज नै तातेको छ । मोदी भ्रमणको विपक्षमा उल्लेख्य जनमत नभए पनि अढाई वर्षअघि नेपाललाई बिनाकारण नाकाबन्दी लगाइएको विषयमा तीव्र जनआक्रोश यथावत् छ । नाकाबन्दीविरुद्ध अडान लिएकै कारण राष्ट्रवादीको उपमा पाएका र यसैको धरातलमा निर्वाचनमा स्पष्ट बहुमतसमेत हासिल गरेका प्रधानमन्त्री केपी शर्मा ओली नै मोदीको स्वागत र सम्मानमा इतिहास बिर्साउने गरी अग्रसर हुनुले निश्चय नै नेपाल–भारत सम्बन्धमा हिजोका दिनमा उत्पन्न व्यर्थका शंका उपशंकाको भने अन्त्य हुने अपेक्षा गर्न सकिन्छ ।
नेपाल र भारतबीचको सम्बन्ध राजनीतिक स्तरमा त्यति प्रतिकूल नरहे पनि नेपाली समाजमा भारतविरोधी भावना भने प्रबल छ । भारतले सधैँ नेपालमाथि थिचोमिचो गरिरहेको र नेपाललाई पनि सिक्किम वा भुटानको जस्तै व्यवहार गर्ने मनोवैज्ञानिक त्रास नेपाली समाजको एउटा तप्कामा सधैं छ । तर, नेपाली जनतामा भारतविरोधी भावना जागृत हुनुमा सबैभन्दा प्रमुख दोषी भने राजनीतिक नेतृत्व नै हो । सत्तामा पुग्न भारत विरोधलाई भर्यांग बनाउने र सत्ताच्युत हुनुपरेको दोष पनि भारतकै थाप्लोमा हालेर जनतामा समेत अतिरञ्जित प्रचार गर्दैै भारतविरोधी भावना जागृत गराउने काम अहिलेसम्म राजनीतिक दलहरू विशेषतः वामपन्थी दलहरूले नै गर्दै आएका छन् । अहिले सत्तामा रहेका दुवै दल नेकपा एमाले र माओवादी केन्द्रको राजनीतिक सत्तारोहणको पृष्ठभूमिमा भारतसँगको आफ्नो स्वार्थ अनुकूल व्याख्या गर्ने परिपाटी नै प्रमुख कारण भएको यहाँनेर स्मरणीय छ ।
नेपालको संविधानसभाले ९० प्रतिशत बहुमतका साथ जारी गरेको संविधानमाथि भारतको असन्तुष्टि र यसको संशोधनका लागि दबाब दिन भारतीय पक्षले नेपालका केही मधेसी दललाई उपयोग गरेर लगाएको नाकाबन्दी नेपाल–भारत सम्बन्धकै कलंक हो भन्दा अत्युक्ति हुँदैन । यसका लागि भारतले सार्वजनिक रूपमा क्षमायाचना गर्नैपर्छ । तर, यसमा मतियार बनेका मधेसी दललाई गत निर्वाचनमा प्राप्त जनमतका आधारमा भने उक्त समयको मधेस आन्दोलनको वैधतामाथि प्रश्न उठाउन सकिँदैन । त्यसैले मोदीलाई गाली मात्र गर्नेभन्दा घरभित्रको असन्तुष्टि मिलाउन नसक्ने नेतृत्वलाई पनि यसमा प्रश्न उठाउन सक्नुपर्छ । यस्तै, नेपालको आन्तरिक मामिला मिलाउन नसकी भारतलाई गुहार्ने मधेसी दलदेखि तत्कालीन सरकारसम्मको रवैयामाथि पनि जनताले प्रश्न उठाउन सक्नुपर्छ ।
भनिन्छ, सबै कुरा फेर्न सम्भव छ तर छिमेकी फेर्न सकिँदैन । त्यसैले भूपरिवेष्टित देश नेपालका लागि भारतसँग प्रतिस्पर्धा होइन, सहकार्यकै बढी खाँचो छ । त्यसै पनि विशाल भूगोल र विशाल बजार भएको भारतसँग नेपालले तुलनात्मक लाभका क्षेत्रमा बाहेक मास प्रडक्सनमा प्रतिस्पर्धा गर्न सक्दैन । अर्कातर्फ नेपालको अन्तर्राष्ट्रिय व्यापारमा दुईतिहाइभन्दा ठूलो व्यापारिक साझेदार रहेको भारतसँग नेपालले निउँ खोज्नुभन्दा कसरी द्विदेशीय सम्बन्धको फाइदा लिन सकिन्छ, त्यो नै महत्वपूर्ण हुन्छ । त्यसैले मोदी भ्रमणको विरोध नभई यसलाई अधिकतम अवसरका रूपमा उपयोग गर्नु नै नेपालको हितमा हुनेछ ।
प्रधानमन्त्री भएको चार वर्षमा मोदीले तेस्रो पटक नेपाल भ्रमण गर्नु आफैंमा सकारात्मक उपलब्धि पनि हो । डेढ दशकसम्म प्रधानमन्त्री वा राष्ट्रपतिस्तरमा हुन नसकेको भ्रमण यसरी नियमित र छोटो समयमा हुनु भनेको नेपालका लागि भारतको महत्व मात्र नभई विश्व मानचित्रमा नेपालको छविमा समेत बढोत्तरी भएको भनेर बुझ्न सकिन्छ । अर्कातर्फ यसपटकको मोदी भ्रमणले नेपालमा घट्दो भारतीय लगानी पुनः लयमा फर्कने र नेपालमा भारतीय पर्यटकको आगमन बढ्ने अपेक्षा पनि गर्न सकिन्छ । त्यसैले मोदी भ्रमणलाई अवसरका रूपमा उपयोग गर्न नेपाल चुक्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्