प्रधानमन्त्री कप अन्तर प्रदेश क्रिकेट जेठमा
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा प्रधानमन्त्री कप अन्तर प्रदेश क्रिकेट प्रतियोगिता आगामी जेठमा हुने भएको छ । आगामी जेठ १३ देखि २९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा सञ्चालन गरिने राखेपद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेशको सहभागिता रहनेछ । जसअनुसार समूह ‘ए’ मा नेपाल आर्मी, सशस्त्र प्रहरी बल (एपिएफ) प्रदेश नं १, २ र ४ परेको छ । त्यस्तै समूह ‘बी’ मा भने नेपाल पुलिस क्लबसँगै प्रदेश नं ३, ५, ६ र ७ छन् ।
प्रतियोगिताको विजेता टोलीले २० लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । त्यस्तै ‘म्यान अफ दि सिरिज’ले एक लाख तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही ५० हजार पाउनेछन् ।