लीलाराम कुन्तिदेवी न्यौपाने सम्मान प्रदान

समाजसेवी स्व. लिलाराम न्यौपानेको ८७ औं जन्मजयन्तीको अवसर पारेर यस वर्ष पनि लीलाराम कन्तिदेवी न्यौपाने प्रतिष्ठानले अनवरत रूपमा सामाजिक क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मान गरेको छ । हास्य कलाकार एवं समाजसेवी सिताराम कट्टेल र कुन्जना घिमिरे (धुर्मुस–सुन्तली) लाई लीलाराम कुन्तिदेवी न्यौपाने समाज सेवा सम्मान २०७५, शिक्षा क्षेत्रमा समर्पित विनोद शाही (डोल्पो शिक्षक) लाई लीलाराम कुन्तिदेवी न्यौपाने शिक्षासेवा सम्मान २०७५, क्रिकेटर वसन्त रेग्मीलाई लीलाराम कुन्तीदेवी न्यौपाने खेलकुद सम्मान २०७५ र पत्रकार चेतन पन्तलाई लीलाराम कुन्तीदेवी न्यौपाने पत्रकारिता सम्मान २०७५ बाट सम्मान गरिएको छ । पुरस्कारको राशि जनही १ लाख रुपैयाँ रहेको छ ।
कार्यक्रममा विभिन्न जिल्लाका १० वटा सामुदायिक विद्यालयमा पनि लीलाराम कुन्तिदेवी जेहेन्दार छात्रवृत्ति अक्षयकोष स्थापना गर्न प्रतिविद्यालय २ लाख ५० हजार का दरले २५ लाख रकम हस्तान्तरण गरियो भने अन्य संघसंस्था तथा विद्यालयहरुमा विविध सहयोग गरियो । उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्य घनश्याम भुषाल, प्रमोद यादव, प्रदेशसभा सदस्य सन्तोष पाण्डेलगायतले मन्तव्य राखेका थिए ।