मोदी भ्रमणका अपेक्षा – दुई देशको सम्बन्धमा कनेक्टिभिटीको ठूलो भूमिका हुन्छ «

मोदी भ्रमणका अपेक्षा – दुई देशको सम्बन्धमा कनेक्टिभिटीको ठूलो भूमिका हुन्छ

दुई देशको सम्बन्धमा कनेक्टिभिटीको ठूलो भूमिका हुन्छ
अशोक वैद
केन्द्रीय अध्यक्ष, नेपाल–भारत सहयोग मञ्च तथा
उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महसंघ, प्रदेश नं. २
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज वैशाख २८ गते नेपाल भ्रमणमा आउँदैछन् । उनी भारतको पटनाबाट नेपालको प्रदेश नम्बर २ को मुकाम जनकपुर विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । यसअघि दुई पटक नेपाल आइसकेका भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणको सूची पहिलेको भ्रमणमा पनि थियो, तर प्राविधिक कारणले स्थगित भएको थियो । यसपटक भने उनले पहिलो भ्रमण जनकपुरबाट सुरु गर्ने भएका छन् । मोदीको स्वागतका लागि जनकपुरलाई दुलहीझैं सिँगारिएको छ । उनको भ्रमणका लागि २८ गते एक दिन प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ । नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा र भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदा निजी क्षेत्रले पनि केही न केही आशा एवं अपेक्षाहरू राख्ने गरेको छ । भारतीय प्रधानमन्त्री मोदीको यसपटकको भ्रमणमा अपेक्षाभन्दा पनि सम्बन्ध सुधार तथा धार्मिक पर्यटनको विकासबाट प्रदेश नम्बर २ लाई समृद्ध बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ । यसै सन्दर्भमा नेपाल–भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महसंघ प्रदेश नम्बर २ का उपाध्यक्ष अशोक वैदसँग कारोबारकर्मीहरू नीरज पिठाकोठेले गरेको कुराकानीको सार :

भारतीय प्रधानमन्त्रीको भ्रमणलाई कसरी लिनुभएको छ
सबैभन्दा पहिले त मित्रराष्ट्र भारतका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हृदयदेखि नै स्वागत गर्न चाहन्छु । उहाँको भ्रमणलाई हामीले सद्भावका रूपमा लिएका छौं । खास गरी प्रदेश नम्बर २ का जनताले उत्सव मानेका छन् । उहाँ जनकपुर आउने दिन प्रदेश नम्बर २ मा सार्वजनिक बिदा पनि घोषणा भइसकेको छ । यो एउटा नेपाल–भारतको धार्मिक पर्यटनमा ठूलो उपलब्धि हुन्छ । मोदीजीको भ्रमणले जनकपुरधामलाई विश्व मानचित्रमा धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गरेर छुट्टै पहिचान बनाउनेछ ।

कतिपयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा गर्न लागिएको नागरिक अभिनन्दनको विषयमा टीका–टिप्पणी पनि गरेका छन् । नाकाबन्दी गरेको भुलेर नेपाली नेताहरू लम्पसार परे पनि भन्छन् नि ?
भारत हाम्रो असल मित्र हो । हामी पटक–पटक यस्ता कुरा उठाएर सम्बन्ध बिगार्ने काम नगरौं । सम्बन्ध सुदृढ गर्ने काम कसरी गर्ने, त्यो सोचौं । नेपालका प्रधानमन्त्री ओली केपीज्यूले पनि भनिसक्नुभएको छ, भारतसँगको सम्बन्ध सुधार भइसक्यो । कतिपय सामाजिक सञ्जालमा यसलाई नकरात्मक प्रचार गर्ने गरिएको छ । यो राम्रो होइन, हामी जहिले पनि सकारात्मक सोच लिएर हिँड्नुपर्छ ।

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले नेपालको आर्थिक विकासमा कस्तो सहयोग गर्ला, निजी क्षेत्रले के अपेक्षा राखेको छ ?
सम्बन्ध पहिले नै सुधार भइसकेको छ । हाम्रो सम्बन्ध मजबुत छ । यो प्रधानमन्त्री केपी ओलीको भ्रमणले देखाइसक्यो । नेपालको आर्थिक विकासका सम्बन्धमा तपाईंले सही कुरा उठाउनुभयो । नेपालको आर्थिक राजधानी वीरगन्ज प्रमुख प्रवेशद्वार पनि हो । यहाँका केही समस्या भारतीय प्रधानमन्त्रीसमक्ष पुर्याउनु पनि आवश्यक छ । दुई देशको आर्थिक विकासका लागि अथवा दुई देशको सम्बन्धमा कनेक्टिभिटीको ठूलो भूमिका हुन्छ । रक्सोल नेपालको मुख्य नाका हो । सामानको सबैभन्दा बढी ओसारपसार यहींबाट हुन्छ । पिपराकोठीदेखि रक्सोलसम्म दुई लेनको मात्रै सडक बनिरहेको छ । यो एउटा एसियन हाइवे हो । म भारतीय प्रधानमन्त्रीज्यूलाई नेपालको निजी क्षेत्रका तर्फबाट के ध्यानाकर्षण गराउन चाहन्छु भने कमसेकम एसियन हाइवेको हेभी सडक भएकाले ६ लेनको सडक निर्माण गर्नुपर्छ । यसको निर्माण द्रुत गतिमा हुनुपर्छ । अहिले पनि यसको निर्माण सुस्त गतिमा भइरहेको छ । नेपालमा आयातका लागि रक्सोलको ढालामा हुने जाम पनि समस्या हो । १६–१६ घण्टासम्म बन्द हुँदा नेपालीहरूलाई रक्सोल आवतजावत गर्न समस्या हुने गरेको छ । आकाशे पुलको विषयमा बजेट विनियोजन भइसकेको छ । काम पनि चालू छ । खालि एकपटक ध्यानाकर्षण मात्रै गराएको हुँ । अर्को, सीमाक्षेत्रका सहरहरू सफा, स्वच्छ रूपमा विकास हुनुपर्छ । भारतको सीमाको सहरको विकास भयो भने पनि नेपाललाई पनि फाइदा हुन्छ । अन्तराष्ट्रिय रेल्वे सेवासँग कनेक्सन जोडिएको सबैभन्दा ठूलो रेल्वे नै रक्सोल हो । अर्को रक्सोलमा ठूलो विमानस्थल पनि छ । त्यसलाई पनि क्षमता विस्तार गरेर भारतको कोलकाता, दिल्लीलगायतका स्थानमा उडान सञ्चालन गरिदियो भने नेपाललाई ठूलो सहयोग पुग्छ ।

मोदीको प्रदेश नम्बर २ मा भएको भ्रमणले यो प्रदेशको विकासमा परिवर्तन आउला ?
अब, जसरी कुरा आइरहेको छ, जनकपुर अयोध्या बस सेवा सञ्चालन हुँदैछ । रामायण सर्किटको कुरा पनि आइरहेको छ । रक्सोल–काठमाडौं रेल सेवामा पनि सम्झौता हुँदैछ । यसले २ नम्बर प्रदेशलाई नै फाइदा पुग्ने हो । मैले अघि पनि कुरा गरेँ— जानकी मन्दिरको विषयमा, जानकी मन्दिरलाई रामायण सर्किटसँग जोड्न लागिएको छ । जसरी पत्रपत्रिकामा आउँदैछ, जलमार्गमा पनि सम्झौता हुदैछ । धार्मिक पर्यटनको हिसाबमा ठूलो धार्मिक पर्यटनको सम्भावना हुँदै छ । हामीले मोदीजीसँग यो दिनु त्यो दिनु भनेर माग्ने होइन । उहाँ आफैं आउनुहुन्छ, आफै बुझ्नुहुन्छ । धेरै कुरा सरकारी स्तरबाटै हुने हो । मधेस आन्दोलनका बेला अन्तर्राष्ट्रिय स्तरमा गएको गलत सन्देशलाई पनि मोदीजीको भ्रमणले सकारात्मक सन्देश दिन्छ भन्ने लागेको छ ।

नेपालमा आयातका लागि भारततर्फबाट नै बढी समस्या छ भनिन्छ । कसरी समाधान गर्न सकिन्छ ?
आयातको मुख्य समस्या भनेकै ढुवानी हो । ढुवानीको लागत घटाउन सडक स्तरीय हुनुपर्छ । दुवैतर्फको सडकको अवस्था उस्तै छ । नेपालतर्फ अब चार लेनको सडक मितेरी पुलसम्म जान्छ । भारतीय पक्षले पनि अब सडकलाई मर्मत–सम्भार गरेर सुधार गरिदिए मालवस्तु आयातका लागि ढुवानीमा सहज भई आर्थिक भार कम पर्न जान्छ । हाम्रो अपेक्षा नेपाली उद्योग–व्यापारमा कम लागत लाग्ने खालका सेवा–सुविधाहरू हुनुपर्छ भन्ने नै हो । बाँकी अन्य समस्याहरूका बारेमा मन्त्रीस्तरीय, सचिवस्तरीय तथा दुवै पक्षका उच्चस्तरीय छलफल र वार्ताबाट नै समाधान हुने हो ।

प्रतिक्रिया दिनुहोस्