अमूलको लगानी रोक्न डेरी व्यवसायीको लबिङ

मुलुक दुग्ध उत्पादनमा आत्मनिर्भरताको नजिक पुगेका बेला भारतको प्रतिष्ठित कम्पनी अमूल डेरी नेपाल प्रवेश गर्ने तयारीले स्वदेशी व्यवसायी त्रसित बनेका छन् । उनीहरूले दुग्धजन्य उद्योगमा स्वदेशी लगानी नै पर्याप्त रहेको भन्दै अमूललाई नेपालमा लगानीका लागि स्वीकृति नदिन सरकारसँग आग्रह गरेका छन् । व्यवसायीहरूले आफुहरूको आग्रहविपरित अमूललाई स्वीकृति दिइए व्यवसाय नै बन्द गरेर आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
नेपाल डेरी एसोसियसनले अमूल डेरीले नेपालमा प्लान्ट खोले सम्पूर्ण डेरी व्यवसाय नै बन्द गरेर सडकमा आउने चेतावनी दिएको हो । यसअघि पनि मिल्क होलिडेविरुद्ध सडकमै दूध पोखेर आन्दोलनमा उत्रने गरेका व्यवसायी फेरि त्यस्तै अवस्था नआओस् भन्दै सरकारलाई चेतावनी दिइरहेका छन् । अर्थ मन्त्रालयका राजस्वसचिव शिशिरकुमार ढुंगानासहित उच्च सरकारी अधिकारीसँग आक्रोस व्यक्त गरेका उद्योगीले कुनै पनि हालतमा नेपालको सम्भावना र मेहनतलाई एफडीआईका नाममा अर्काे कम्पनी ल्याएर खेर जान दिन नहुने बताएका छन् । देश दुग्ध उत्पादनमा आत्मनिर्भर नजिक पुग्न लाग्दा भारतको कम्पनी ल्याउनु सरासर यहाँको कृषक तथा उद्योगमाथि अन्याय हुने व्यवसायीको भनाइ छ ।
एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले सरकारले अमूललाई प्लान्ट खोल्न दिइए आफूहरूले नेपालको सम्पूर्ण डेरी बन्द गर्ने चेतावनी दिएका हुन् । एसोसिएसनका अनुसार नेपालमा वार्षिक १९ लाख टन दूध उत्पादन हुने गरेको छ । आउँदो १ वर्षमा नेपाल दूध र दुग्धजन्य वस्तु उत्पादनमा आत्मनिर्भर हुने चरणमा रहेको बेला विदेशी उद्योग आउँदा स्वदेशी व्यवसाय धरासायी हुने सापकोटाको तर्क छ । उनका अनुसार यस क्षेत्रमा हालसम्म २० अर्ब रुपैयाँ लगानी भएको छ र ४ लाख ५० हजार किसानले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । “नेपालले तीन वर्षमा दूधमा आत्म निर्भर हुने लक्ष्य लिएकोमा २ वर्ष वितिसकेको छ र अबको १ वर्षमा आत्मनिर्भर हुने चरणमा छ,” सापकोटा भन्छन्, “सरकार आफैंले आत्मनिर्भरताको कार्यक्रम घोषणा गर्छ, फेरि आफैंले विदेशी लगानीका नाममा स्वदेशी लगानीकर्ता र कृषकलाई मारमा पार्ने काम गर्दैछ ।”
सरकारले विदेशी डेरीलाई नेपाल प्रवेश गराएर नेपालीहरूको व्यवसाय खोस्न खोजेको आरोप व्यवसायीको छ । उनले केही समयअघि रामदेवको घिउले नेपालको उत्पादनलाई धरासायी बनाउन खोजेको स्मरण गराउँदै दूधमा पनि सोही अवस्था नआउनका लागि सरकारले आमुललाई स्वदेश भित्रिन नदिन आग्रह गरे । जुन क्षेत्र आत्मनिर्भर हुन सकेको छैन त्यसमा विदेशी लगानीका लागि स्वीकृति दिन व्यवसायीको माग छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको तयारीमा जुटेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने तयारीमा एसोसिएसन जुटेको छ ।
सरकारी अधिकारीहरू भने विदेशी कम्पनीलाई नेपालमा उद्योग खोल्न रोक्न नसकिने बताउँछन् । हालैको एक कार्यक्रममा राजस्व सचिव ढुंगानाले व्यवसायीसँग भने, “विदेशी लगानीसँग डराएर हुँदैन, बरु आफू पनि प्रतिस्पर्धामा उत्रिन तयार रहनुस् ।” भारतीय सञ्चार माध्यमहरूका अनुसार नेपाल सरकारकै आग्रहमा अमूल डेरी नेपाल भित्रन लागेको हो । अमूल डेरीका प्रबन्ध निर्देशक आरएस सोधीका अनुसार नेपालको मध्यभागमा दूध उत्पादन राम्रो रहेकाले डेरी उद्योगको उच्च सम्भावना रहेको छ र यसमार्फत स्थानीय किसानलाई सहयोग पुग्ने अपेक्षा अमूलको छ । तर, आमुलले सरकारका कुन अधिकारीले आग्रह गरे भन्ने स्पष्ट खुलाइएको छैन । भारतमा अमूल सहकारी मोडलमा सफल व्यवसाय मानिन्छ । संसारका ४० मुलुकमा अमूलका उत्पादन निकासी हुँदै आएका छन् भने नेपाली बजारमा पनि अमूलका उत्पादन लोकप्रिय रहेका छन् ।
मुलुकमा ८ सय दुग्ध उत्पादक सहकारी संस्था तथा सरकारी स्तरबाट ३७ जिल्लामा र सहकारीका ६६ वटा दूध चिस्यान केन्द्र रहेका छन् । दुग्ध व्यवसायको माध्यमद्वारा शहरबाट गाउँमा वार्षिक करीव १२ अर्ब रुपैयाँ नगद प्रवाह गर्न सफल भएको उल्लेख गर्दै अध्यक्ष सापकोटाले नेपालमा वार्षिक ४ प्रतिशत दरले उत्पादन बढेको र यसरी नै आत्मनिर्भरताको नजिक पुगेकाले यस क्षेत्रमा विदेशी कम्पनी ल्याउन नहुने तर्क गरे । विश्वमा जति उत्पादन हुन्छ त्यसको २० प्रतिशत अर्थात १ सय ६० मिलियन मेट्रिकटन भारतमा मात्रै उत्पादन हुन्छ । अमूल डेरीले दैनिक १ करोड १० लिटर दूध उत्पादन गर्छ भने वार्षिक झन्डै ५० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार गर्छ ।