फलाम जिन्दगी «
Logo

फलाम जिन्दगी

बिहान सात बजेको थियो । घोराही उपमहानगरपालिका–१८ गिठेपानी मसिना जोडने बाटोको छेउमा एउटा सानो छाप्रोमा शिरमा भादगाउँले टोपी लगाएका एक बालक फलामका भाँडा ठटाइ रहेका थिए ।
उनको साथमा अरु कोही थिएन । के गर्ने लागेको बाबु भनेर उनलाई प्रश्न गर्दा उनले उतर दिए भाँडा पिट्न लागेको छु अनि थपे तपाईंको पनि केही पिटाउनु पर्नेछ ? उनले प्रश्न गरे । उनी आफनै सुरुमा काम गरी रहे । एउटा हातले पङखामार्फत घुमाइ रहेका थिए भने कारको हातले सनासोले सानो फलाम आगोमा राखेर तताइराखेका थिए । केही बेरमा नै तातिएको फलामको टुक्रालाई ठटाउन थाले । यसैगरी नै बिहानको समय तथा साझको समय बित्ने गरेको छ घोराही उपमहानगरपालिका–१८ गिठेपानीका १३ बालक समितर विकको । यसरी बिहान बेलुका आरन लगाएर फलामको भाँगो ठटाउनु उनको रहर नभएर बाध्यता हो ।
उनले विगत ६ महिनादेखि यस्तै कार्य गदै आएका छन् । यसरी भाँडा पिटाएर प्राप्त भएको रकम आफनो पढाइ खर्च तथा घर खर्च चलाउने गरेका छन् । उनले बिहानको सयम आरन लगाएर फलामका भाँडा निर्माण गर्ने, भाँडा पिटाउने काम गर्दछन् । खाना आएर विद्यालय जाने गरेका छन् भने विद्यालयबाट आएपछि फेरि काम सुरु गर्दछन् । उनी अहिले आधारभूत विद्यालय गिठेपानीमा कक्षा ६ मा अध्ययनरत छन् । उनले अहिले चुलेसी, खुकुरी, खुपा, थारु हरीया, त्रिशुल, पन्ने चक्कु आदि निर्माण गर्ने गरेको बताए । यसरी निर्माण गरेका सामग्री बिक्रीबाट आउन रकमले आफनो पढाइ खर्च, तथा घर खर्च चलाउने गरेको विकले बताए । उनले फुर्सदको समयमा सामग्री निर्माण गरेर राख्ने र किन्न आएमा बिक्री गर्ने गरेका छन् । उनका बाजेको मृत्यु भएपछि उनले यसरी भाँडा पिटाउन थालेका हुन् । उनको बाजेको गएको मंसिरमा मृत्यु भएको थियो । उनले भाँडा निर्माण गर्ने र पिटाउन बाजेबाट सिकेका थिए । बाजेबाट ४ महिना लगाएर उनले सिकेका थिए । “बाजेले सीप सिक पछि काम काम लाग्छ भन्नुहुन्थ्यो त्यसैले सिकेको हँु अहिले आएर काम लागेको छ,” विकले भने ।
बुबा आमा नारायणपुरमा बस्ने गरेको उनले बताए । बाबु आमासँग २ भाइ रहेको बताए । अहिलेसम्म बुबाले आफू र बोइलाई १ रुपैयाँ पनि नदिएको विकले बताए । बुबा आमाले लेबर काम गर्ने गरेको र २ भाइलाई पढाउने र घर खर्चमै पैसा सकिने गरेको उनले बताए । “बुबा आमाबाट रकम नपाएपछि मैले यसरी काम थालेको हँु,” विकले भने । बाजे हुँदासम्म उनलाई समस्या थिएन । तर बाजेको मृत्यु भएपछि कसरी घर खर्च चलाउने तथा आफ्नो पढाइ खर्च जुटाउने भन्ने समस्या उनलाई पीर परेको थियो । काम नगरेर के गर्नु बोइला पनि पाल्नु प¥यो पढाइ खर्च पनि चाहियो त्यसैले काम गर्न थालेको हुँ विकले भने । यसरी बिहान साँझ काम गरे पनि उनी नियमित विद्यालय जान भने छोडेका छैनन् । बिहान, साँझ काम गर्नु पर्ने भएपछि रातको समयमा पढने गरेका छन् । “स्कुलमा दिएको होमवर्क मैले राति गर्ने गर्दछु । बिहान साँझ लेख्न पढन पाइँदैन,” विकले भने । काम गरेर थाले पनि उनी राति ११/१२ बजेसम्म बसेर विद्यालयले दिएको गृहकार्य र पढने गरेको बताउँछन् ।
यसरी घरमा पढनका लागि उपयुक्त वातावरण र समय नपाए पनि उनी पढाइ कमजोरसमेत नभएको आधारभूत विद्यालयका प्रधानाध्यापक लोकराज सुवेदीले जानकारी दिए । उनी कक्षामा प्रथम आउने गरेका छन् । त्यसै गरेर विद्यालयमा अनुशासित तथा इमान्दार विद्यार्थीको रूपमा समेत परिचित छन् । विद्यालयमा टिफिन टाइममा समेत उनी कक्षा कोठामा बसेर अध्ययन गर्ने गरेको प्रअ सुवेदी बताउँछन । “घरको आर्थिक स्थिति कमजोर भए पनि कामप्रति लगनशिलता तथा पढाइमा राम्रो छ,” प्रअ सुवेदीले भने । विकलाई पढाइमा सहयोग पुगोस् भनेर कक्षा ६ मा विद्यालयले निःशुल्क नाम लेखिदिएको छ ।
अमरराज आचार्य 

प्रतिक्रिया दिनुहोस्