धरहरा आसपासमा नयाँ संरचना बनाउन रोक

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काठमाडौं महानगरपालिकाबीच धरहरा परिसर र आसपासमा नयाँ संरचना निर्माणमा रोक लगाउने सहमति भएको छ ।
प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको संयोजकत्वमा बुधबार सिंहदरबारमा बसेको प्राधिकरण, महानगरपालिका, पुरातत्व विभाग, गुठी संस्थानसहितको संयुक्त बैठकले हाल बनिरहेका संरचनालाई यथास्थानमै राखी नयाँ संरचना निर्माणमा रोक लगाउने सहमति भएको हो । विनासकारी भूकम्पबाट क्षतिग्रस्त बनेको ऐतिहासिक धरहराको शीघ्र पुनर्निर्माण हुन गइरहेको सन्दर्भमा धरहराको सुन्दरतालाई असर पार्न सक्ने भन्दै अर्काे सूचना नभएसम्मका लागि हाललाई धरहरा परिसर आसापासमा निर्माण भइरहेका संरचना रोक्का गर्ने निर्णय भएको प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले जानकारी दिए । गुठी संस्थानले आफ्नो हकभोगमा रहेको जग्गामा ठेक्कापट्टा लगाएको भए त्यसलाई तोड्नसमेत बैठकले निर्देशन दिएको प्रमुख कार्यकारी अधिकृत भुसालले बताए ।
बैठकमा गुठी संस्थानका प्रतिनिधिहरूले आफ्नो हकभोगको जग्गा प्रयोग गर्न पाउनुपर्ने धारणा राखेका थिए । जवाफमा प्रमुख कार्यकारी अधिकृत भुसालले सो सम्बन्धमा नेपाल सरकारले आवश्यक व्यवस्था गर्ने भन्दै तत्कालका लागि संरचना निर्माणको कार्य यथास्थानमै राख्न प्राधिकरणले गुठी संस्थानलाई लिखित रूपमै पत्राचार गर्ने जानकारी दिए । बैठकमा प्रमुख कार्यकारी अधिकृत भुसालले ती पुनर्निर्माण हुन थालेका जग्गाहरूको हकको विषयमा नेपाल सरकारलाई आवश्यक परेमा पछि अधिग्रहण वा सट्टापट्टा गर्न सकिनेतर्फ आश्वस्त पारेका थिए ।
बैठकमा काठमाडौं महानगरपालिकाले धरहरा परिसरमा भाडामा लगाएका सम्पूर्ण सटर १५ दिनभित्र खाली गराउने सहमति भएको छ । गोश्वारा हुलाकलगायत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल राष्ट्र बैंकअन्तर्गत रहेका सरकारी कार्यालयलाई स्थानान्तरणका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिए । यी सबैको कार्यको नियमित निगरानी गरी स्थानीय प्रशासनले प्राधिकरणलाई आवश्यक सहयोग गर्नका लागि समन्वय गर्ने प्राधिकरणले जनाएको छ ।
बैठकमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत यादव कोइराला, प्राधिकरणका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, गुठी संस्थानका निमित्त प्रमुख दीपकबहादुर पाण्डे, काठमाडौं महानगरापलिका–२२ का वडाध्यक्ष चिनकाजी महर्जनलगायत सहभागी थिए ।