प्रहरी चौकी स्थापना गर्न सांसदहरूको माग «

प्रहरी चौकी स्थापना गर्न सांसदहरूको माग

तनहुबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सांसदहरूले तनहु क्षेत्र नम्बर १ का विभिन्न भागमा नयाँ प्रहरी चौकी स्थापना गर्न गृहमन्त्री र नेपाल प्रहरीका महानिरीक्षकसँग माग गरेका छन् ।
प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानको नेतृत्वमा प्रतिनिधिसभाका सांसद केदार सिग्देल र कलिला खानले मंगलबार गृहमन्त्री रामबहादुर थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दीलिप रेग्मीलाई भेटी तनहु जिल्लाको शान्ति सुरक्षाको स्थिति सुदृढ गर्न नयाँ स्थानमा प्रहरी चौकी स्थापना गर्नुपर्ने र केही प्रहरी चौकीको स्तरवृद्धि गर्न माग गरेका हुन् ।
सांसदहरूले हाल प्रहरी नायव निरीक्षक (सई) को कमान्डमा हुने जिल्ला ट्राफिक कार्यालयको स्तर वृद्धि गरी प्रहरी निरीक्षकको कमान्डमा राख्नुपर्ने माग गरेका छन् । प्रहरी निरीक्षकको कामन्डमा ट्राफिक कार्यालय रहँदा ३३ जना ट्राफिक प्रहरी हुने र त्यसले जिल्लाको सवारी व्यवस्थापन कार्य सहज हुने सांसद श्रेष्ठले बताए ।
त्यसैगरी हाल प्रहरी निरीक्षकको कमान्डमा रहेको इलाका प्रहरी कार्यालय भानुको स्तर वृद्धि गरी प्रहरी नायब उपरीक्षकको कमान्डमा ७५ जना प्रहरी खटाइनु पर्ने, त्यसैगरी इप्रका बन्दिपुर र इप्रका देवघाटको स्तर वृद्धि गरी प्रहरी निरीक्षकको कमान्डमा ३५ प्रहरी खटाउन सांसदहरूले गृहमन्त्री र महानिरीक्षकको ध्यानाकर्षण गराएका छन् ।
त्यस्तै बन्दिपुरमा असइको नेतृत्वमा १३ जनासहितको पर्यटक प्रहरी कार्यालयको स्थापना गर्नुपर्ने, व्यास नपा–१ को भादगाउँ, व्यास नपा–७ को कलेस्ती, व्यास नपा– १२ को छिर्कने, भानु नपाको नावरुङ, भानु नपाको चोक चिसापानी र देवघाट गाउँपालिकाको कोटामा नयाँ प्रहरी चौकी स्थापना गर्न सांसदहरूले माग गरेका छन् । सांसद श्रेष्ठले प्रहरी चौकीको स्थापनापछि उक्त ठाउँका जनताले ढुक्कसँग व्यापार व्यवसाय गर्न पाउने र आफ्नो जीविकोपार्जन गर्न सक्ने हुँदा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले त्यस विषयमा ध्यान दिने बताए ।
ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री थापा र प्रहरी महारिनीक्षक खनालले सांसदहरूको ध्यानाकर्षण निकै उचित र सकारात्मक भएको हुँदा त्यस बारेमा गम्भीर भएर सोच्ने बताए । साथै प्रहरी महानिरीक्षक खनालले बन्दिपुरमा पर्यटक प्रहरी खटाउने विषयमा आफू निकै सकारात्मक भएको हुँदा एक साताभित्रैमा बन्दिपुरमा केही संख्यामा पर्यटक प्रहरी खटाउने प्रतिबद्धता सांसदहरूलाई दिलाएका थिए ।
कृष्ण न्यौपाने

प्रतिक्रिया दिनुहोस्