पुनर्निर्माणका लागि दुई देशको स्थानीय तहबीच सहकार्य हुने «

पुनर्निर्माणका लागि दुई देशको स्थानीय तहबीच सहकार्य हुने

भूकम्पले क्षति पुराएको सिन्धुपाल्चोकको एक नगरपालिकासँग छिमेकी राष्ट्र चीनको महानगरपालिकाले सहकार्य गर्ने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकासँगै चीनको छेन्दु महानगरपालिकाले भगिनी सम्बन्ध विस्तार गर्दै पुनर्निर्माणमा सहकार्य गर्न लागेको हो ।
तीन महिनाअघिदेखि सीमा जोडिएको चीनको छेन्दु नगरपालिकासँग भगिनी सम्बन्धका लागि पहल भएको थियो । भूकम्पले सिन्धुपाल्चोकमा जस्तै क्षति पुराएकाले पुनर्निर्माणका लागि एक आपसमा आइपरेका समस्या समाधान गर्न छेन्दु महानगरपालिका इच्छुक भएको हो ।
चिनियाँ प्रतिनिधिले चौतारा साँगाचोकगढी नगरपालिकामा आएर दुवै नगरबीच भगिनी सम्बन्ध कायम गरेर अघि बढ्नका लागि तयार भएको बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी छेन्दु महानगर पार्टी कमिटीका सेक्रेटरी आबु, छेन्दु महानगरका उपमेयर वाङदुईलगायत निरीक्षणका लागि सिन्धुपाल्चोक आएका थिए । छेन्दु महानगरका प्रतिनिधिहरूले चौतारा साँगाचोकगढी नगरपालिकाभित्र भएको पुनर्निर्माणको प्रगतिलगायत अन्य भौतिक संरचना अवलोकन गरेर फर्किएका हुन् ।
चीनको छेन्दु महानगरमा पनि भूकम्पले क्षति पुराएकाले पुनर्निर्माणमा सहकार्य गर्न आफूहरू इच्छुक रहेको महानगरका उपमेयर वाङदुईको भनाइ उद्धृत गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले जानकारी दिए ।
स्थानीय तहमा जनप्रतिनिधि आएपछि चौतारा साँगाचोकगढी नगरपालिकाले नेपालमै पहिलो पटक सीमा जोडिएको देशको महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापनाका लागि पहल गरिएको हो । “यहाँका समस्या समाधान गर्नका लागि छुदु नगरपालिकाले र त्यहाँका लागि हामीले पहल गर्नेछौं,” नगरपालिकाका प्रमुख तामाङले भने, “यसो हुँदा दुवै नगरको विकासले फड्को मार्न सक्छ ।” उनले यो सम्बन्ध स्थापित भएपछि अन्तर्राष्ट्रिय सम्बन्धमा थप सुधार ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
छेन्दु र चौताराको विशेषता पनि मिल्दो छ । हिमाली गाउँ पर्ने दुवै नगरमा दुर्लभ हिमाली वन्यजन्तु रेडपाण्डाको बसोबास हुने गरेको छ । दुवै नगरमा ग्रामीण र सहरको झल्को पाइन्छ । ऐतिहासिक पुरातत्वको विशेषता रहेको प्रमुख तामाङले जानकारी दिए । यो सम्बन्ध दिगो बनाएर बाह्य पर्यटन प्रवद्र्धन गराउने नगरपालिकाले अपेक्षा लिएको छ । “हाम्रो नगरमा एकै दिन पैदलबाट हिमाल, पहाड र तराईको हावापानी अनुभव गर्न सकिन्छ, यस्तो भूगोल भेट्न विश्वमै मुस्किल पर्छ,” प्रमुख अमानसिं भन्छन्, “हाम्रो नगर विभिन्न जातजाति, धर्म संस्कृतिमा विविधता भएको स्थान हो, यहाँको प्रचार गर्न सके प्रसस्तै चिनियाँ नागरिक नेपाल आउनेछन् ।” उनले छेन्दु महानगरसँग भगिनी सम्बन्ध स्थापित गरी यो नगरपालिकालाई आर्थिक र सामाजिक रूपमा समृद्ध बनाई मुलुककै नमुना बनाउने अभियानमा रहेको बताए ।
चिनियाँ कम्युनिष्ट पार्टी छेन्दु महानगरका सेक्रेटरी आबुले आफूहरू तिब्बत सरकार र चीन सरकारकोसमेत प्रतिनिधित्व गरेर नेपालमा आएको बताएका थिए । छिट्टै आधिकारिक रूपमा भगिनी सम्बन्ध स्थापित गरी भूगोलअनुसार चीनमा भएको खेती नेपाल भित्र्याउने र यता भएको चीनमा भित्र्याउने दुवै नगरको भनाइ छ । भगिनी सम्बन्ध कायम गरेर सहकार्य गर्न आफूहरू तयार रहेको आबुले जनाए । चिनियाँ पक्षसँगको अन्तरक्रिया कार्यक्रममा नेपाली पक्षले तातोपानी नाका सञ्चालनका लागि पहल गरिदिन आग्रहसमेत गरेका थिए ।
किशोर बुढाथोकी

प्रतिक्रिया दिनुहोस्