महिला सशक्तीकरणमा लघुवित्त

हामीजस्ता पितृसत्तात्मक मुलुक भएका देशहरूमा महिला सशक्तीकरणको अवस्था सबल देखिँदैन । महिलाले जन्मेदेखि पालन–पोषण, शिक्षा–दीक्षालगायत जीवनका हरेक चरणमा विभेदका कारणले निरन्तर रूपमा संघर्ष गर्नुपर्छ । आधा धर्ती ओगटेका महिलाको अवस्था नेपालमा सामाजिक, आर्थिक, राजनीतिक, प्रशासनिक दृष्टिकोणले अब्बल छैन । महिलाको स्तर उकास्नका लागि नेपालको संविधानले प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा विशेष अवसरलगायत राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हकको व्यवस्था गरेको छ । सामाजिक, आर्थिक, राजनीतिक एवं शैक्षिक रूपले पछाडि परेका महिलालाई विकासको समान अवसर एवं पहुँचका लागि महिला सशक्तीकरणका आवाजहरू उठ्न थालेका छन् । अतः राज्यको हरेक निकायमा महिलाको उल्लेखनीय सहभागिता बढाउन र महिला सशक्तीकरण अभियानमा लाग्न नीति–निर्मातादेखि महिला अधिकारकर्मी एवं सबै सरोकार पक्षको ध्यान केन्द्रित हुनुपर्छ ।
दक्षिण एसियाली मुलुकहरूमा लैङ्गिक विकास र असमानता सूचकाङ्क दुवैका आधारमा मालदिभ्स (०.९३७ र ०.३१२) सबैभन्दा उच्च/राम्रो मुलुक र अफगानिस्तान (०.६०९ र ०.६६७) सबैभन्दा न्यून/कमजोर मुलुकका रूपमा देखिन्छ । यसैगरी लैङ्गिक विकास सूचकाङ्कमा क्रमशः श्रीलङ्का (०.९३४), बंगलादेश (०.९२७), नेपाल (०.९२५), भुटान (०.९००), भारत (०.८१९) र पाकिस्तान (०.७४२) रहेको पाइन्छ । लैङ्गिक असमानता सूचकाङ्कका आधारमा क्रमशः श्रीलंङ्का (०.३८६), भुटान (०.४७७), नेपाल (०.४९७), बंगलादेश (०.५२०), भारत (०.५३०) र पाकिस्तान (०.५४६) रहेको पाइन्छ । छिमेकी मुलुक चीनको लैङ्गिक विकास सूचकाङ्क (०.९५४) र लैङ्गिक असमानता सूचकाङ्क (०.१६४) दक्षिण एसियाली राष्ट्रको तुलनामा उत्कृष्ट देखिन्छ । दक्षिण एसियाली मुलुकहरूमा नेपाल लैङ्गिक विकास एवं असमानता सूचकाङ्कका दृष्टिकोणले चौथो स्थानमा पर्छ । राज्यले लैङ्गिक विकास प्रवद्र्घन गर्न र लैङ्गिक असमानता कम गर्नका लागि महिला सशक्तीकरण अभियानमा पर्याप्त ध्यान दिनु जरुरी छ ।
नेपालजस्ता विकासोन्मुख राष्ट्रमा महिलालाई सामाजिक–आर्थिक रूपमा सशक्त बनाउन लघुवित्त कार्यक्रम उपयोगी रहन्छ । लघुवित्तले गरिबीको रेखामुनि रहेका विपन्न एवं सीमान्तकृत वर्गका अतिरिक्त महिलाहरूलाई वित्तीय सेवाको पहुँचमा विस्तार गरी उनीहरूको जीविकोपार्जनमा सुधार ल्याउने कार्य गर्छ । जबसम्म वित्तीय सेवाको पहुँच सीमान्तकृत वर्गका मानिसहरूसम्म पुग्न सक्दैन, तबसम्म सामाजिक–आर्थिक रूपान्तरण हुन सक्दैन । महिलाहरूको उल्लेखनिय सहभागिता र प्रतिनिधित्वबिना मुलुकमा सन्तुलित एवं दिगो विकासको लक्ष्य हासिल गर्न सकिँदैन । त्यसैले राज्यको हरेक निकायहरूमा महिलाको उल्लेखनीय सहभागिता बढाउन र महिला सशक्तीकरण अभियानमा लाग्नका लागि लघुवित्त कार्यक्रम प्रभावकारी मानिन्छ ।
विकासको मूलधारबाट पछाडि परेका महिला एवं सीमान्तकृत वर्गसम्म पुग्नका लागि लघुवित्त कार्यक्रम उपयोगी वित्तीय औजार मानिन्छ । रूढिवादी सोचाइ, न्यून शिक्षाको स्तर, गरिबी तथा पछौटेपन आदिजस्ता कारणले कतिपय समाजमा महिलालाई भेदभावका दृष्टिकोणले हेर्ने गरिन्छ । अझै पनि कतिपय महिला शिक्षा, तालिम, सीप विकास, रोजगारी, स्वास्थ्य, वित्तीय सेवाको पहुँच, सम्पत्तिको स्वामित्व आदिजस्ता अवसरहरूबाट वञ्चित रहेका छन् । यस्तो परिस्थितिमा महिलालाई व्यक्तिगत, सामाजिक र आर्थिक रूपमा सबल एवं सशक्त बनाउन महिला अधिकारकर्मी, राज्यको नीतिनिर्माता र सबै सरोकारवर्गको ध्यान केन्द्रित हुन जरुरी छ ।
लघुवित्त संस्थाले महिलालाई समूहमा आबद्घ गराई वित्तीय तथा गैर–वित्तीय सेवा प्रदान गर्छ । वित्तीय सेवाअन्तर्गत बचत गर्न सिकाउने, बिनाधितो लघु ऋण प्रदान गर्नुका साथै यस्ता ऋणलाई सदुपयोग गर्न लघु व्यवसाय वा लघुउद्यम स्थापना गर्न सहयोग पु¥याउने, लघुबिमा, लघुपेन्सन, लघु विपे्रषण आदिजस्ता सेवाहरू प्रदान गर्छ । त्यस्तै वित्तीय साक्षरता, लघु व्यवसाय वा उद्यम विकासका लागि आवश्यक सीपको प्रबन्ध, स्वास्थ्य, शिक्षा आदिजस्ता चेतनामूलक गैर–वित्तीय प्रकृतिका सेवाहरू प्रदान गर्छ । सामाजिक एवं आर्थिक रूपले पछाडि परेका महिलालाई लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न उत्प्रेरित गर्दै रोजगारीका अवसर सिर्जना गर्न, आयआर्जन गर्न, महिला सशक्तीकरण एवं सामाजिक–आर्थिक रूपान्तरणमा सहयोग पु¥याउँछ । सामाजिक र आर्थिक रूपमा पछाडि परेका महिलालाई लघुवित्त संस्थाले उनीहरूको जीवनस्तर एवं पेसागत स्तरमा सुधार, स्वास्थ्य, शिक्षा, सूचना एवं वित्तीय सेवाको पहुँच विस्तारमा जोड दिँदै महिला सशक्तीकरणमा प्रभावकारिता ल्याउन सकिन्छ ।
लघुवित्त संस्थाले महिलालाई व्यक्तिगत, सामाजिक र आर्थिक रूपले सक्षम र सबल बनाउँछ । वित्तीय सेवाले आर्थिक सशक्तीकरण र गैर–वित्तीय सेवाले व्यक्तिगत तथा सामाजिक सशक्तीकरणमा सघाउँछ । लघुवित्त सेवाका लागि निश्चित समय र स्थानमा महिला सदस्यहरूको उपस्थिति नियमित रूपमा हुने भएकाले उनीहरूबीच एक आपसमा अन्तत्र्रिmया एवं विविध विषयमा छलफल हुन्छ । परिणास्वरूप उनीहरूको चेतनाको स्तरमा वृद्घि भई निर्णय लिन सक्ने क्षमताको विकास, आत्मनिर्भर वा आत्मविश्वासको विकासजस्ता व्यक्तिगत सशक्ती करणमा सुधार आउँछ । यसै गरी सामाजिक सम्बन्धमा सुधार, समूह वा नेतृत्ववर्गलाई आफ्ना विचार एवं धारणा राख्न सक्ने क्षमताको विकास, राजनीतिक चेतनाको स्तरमा वृद्घि आदिजस्ता सामाजिक सशक्तीकरणमा लघुवित्तले सघाउँछ । यसका अतिरिक्त लघुवित्तले महिलालाई वित्तीय सेवाको पहुँचद्वारा नगद वा ऋणको पहुचमा वृद्घि, रोजगारी अवसर सिर्जना, लघु उद्यम वा व्यवसाय स्थापना, आम्दानीको स्तरमा वृद्घि, सम्पत्तिको स्वामित्व आदिजस्ता आर्थिक सशक्तीकरणमा सुधार ल्याउन अहं भूमिका खेल्छ । नेपाल जस्ता विकासोन्मुख राष्ट्रहरूमा लघुवित्त कार्यक्रमले महिला तथा सीमान्तकृत वर्गको व्यक्तिगत, सामाजिक एवं आर्थिक सशक्तीकरण वृद्घि गर्ने कार्यमा सकारात्मक प्रभाव पार्छ ।
सरकारको एउटा प्रमुख दायित्व सामाजिक, आर्थिक र भौगोलिक रूपले पछाडि परेका मानिसहरूलाई विकासको मूलधारमा ल्याउनु हो । महिला विकास र सशक्तीकरणका लागि नेपालको संविधानले समावेशीताको सिद्घान्त अङ्गीकार गर्दै लैङ्गिक न्याय, समान अधिकार, विशेष संरक्षण/आरक्षणको व्यवस्था गरेको हुँदा आगामी दिनहरूमा महिलाको सामाजिक, आर्थिक, राजनीतिक, प्रशासनिक आदिजस्ता क्षेत्रहरूमा उल्लेखनिय सुधार हुने अपेक्षा गर्न सकिन्छ । नेपालको संविधानमा महिलालाई समान अवसर, पहिचान, पहुच र प्रतिनिधित्व सुनिश्चित गर्नका लागि विभिन्न प्रावधानको व्यवस्था भएको हँुदा यसको सफल कार्यान्वयनको खाँचो छ । महिला सशक्तीकरणका सवालमा राज्यले सबै सरोकार पक्षसँग समन्वय र सहकार्य गर्दै आर्थिक, सामाजिक र राजनीतिक रूपले महिलालाई सबल एवं सशक्त बनाउन सके मात्र मुलुक समृद्घिको पथमा अगाडि लम्कन सक्छ ।
महिलाको उल्लेखनीय सहभागिताबिना मुलुकमा सन्तुलित एवं दिगो विकासको लक्ष्य हासिल गर्न सकिँदैन । यसका लागि महिलाको चेतनाको स्तरमा वृद्घि ल्याउनुपर्छ । कतिपय हाम्रो रूढिवादी समाजमा भेदभावका कारण शिक्षाको अवसरबाट वञ्चित भएका महिलालाई शिक्षासँगै तालिम र सीपको अवसर प्रदान गरी उनीहरूको दक्षता एवं क्षमतामा वृद्घि गर्नु आवश्यक छ । महिला, विपन्न एवं सीमान्तकृत वर्गका मानिसहरूको सामाजिक–आर्थिक रूपान्तरणमा लघुवित्तको उल्लेखनीय भूमिका रहेकाले यसको सञ्जाललाई ग्रामीण क्षेत्रसम्म विस्तार गरी वित्तीय सेवाको पहुँच बढाउन आवश्यक छ । राज्यको मूलधारबाट पछाडि परेका सबै वर्ग वा समुदायका मानिसलाई वित्तीय सेवा उपभोग गर्ने वातावरण सिर्जना गरी उनीहरूमा रहेका सम्भावित क्षमता एवं अवसरहरूको अधिकतम उपयोग गर्न लघुवित्त सेवा प्रभावकारी वित्तीय औजार बन्न सक्छ ।
(डा. ढुंगाना लघुवित्त र वित्तीय समावेशीकरण विषयका विज्ञ हुन् ।)