एक गाउँ, एक सडक ;नमुना बन्दै पातारासी «

एक गाउँ, एक सडक ;नमुना बन्दै पातारासी

देशमा संघीयता कार्यान्वयन भएसँगै स्थानीय तहले उदाहरणीय कार्य गर्न थालेका छन् । सिंहदरबारको अधिकार गाउँगाउँमा महसुस गराउन जनप्रतिनिधि लागिपरेका छन् । पहिलो संघीय सरकारलाई बचाउन तथा कार्यान्वयन गर्नका लागि विभिन्न चुनौतीका बीच पनि गाउँपालिकामा समृद्धिको यात्रा थालिएको छ ।
गाउँपालिकामा कृषि प्राविधिक शिक्षालयदेखि पक्की पुल निर्माण तथा एक गाउँ एक सडकजस्ता योजनालाई प्राथमिकतामा राखेर समृद्धिको यात्रा थालिएको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए । गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा मंगलबार उनले पहिलो संघीयतालाई बचाउन विभिन्न चुनौतीका बीच समृद्धिको खाका कोरिएको बताए ।
युवा उद्यमशिलता, महिला सीपमूलक तथा होजियारी तालिम, कृषि कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखी काम भइरहेको उनको भनाइ थियो । सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीको जिज्ञासा मेटाउँदै अध्यक्ष बोहोराले ढिलो चाँडो गाउँपालिका समृद्धिको सन्देश जिल्लामा पातारासीबाटै दिने पनि दाबी गरे ।
कृषि उत्पादनका हिसाबले अबल भएकाले यहाँको आलु तथा विश्वकै उच्च स्थानमा धान फल्ने छुमचौर ज्युलोमा फल्ने कालीमार्सी धान संरक्षणजस्ता कुरालाई प्राथमिकता दिइने बताइएको छ । स्थानीय तहको निर्वाचन भएको एक वर्ष पुगिसक्दा पनि अन्योलबीच सडक निर्माण, एक घर एक धारा, पक्की पुल निर्माण, एम्बुलेन्स सेवालगायतका देख्न मिल्ले कुराको विकास भएको बताए ।
कर्मचारी र जनप्रतिनिधिबीच कुनै मनमुटाव छैन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढाले भने, “कर्मचारीको नियमितता, विषयगत कार्यालय कार्यक्रम सञ्चालनको अवस्था सन्तोषजनक रहेको बताए । नागरिकलाई सिंहदरबारको महसुस गराउन कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध नङ मासुजस्तो हुन आवश्यक छ । उनले थपे, “विस्तारै सबै कुराको व्यवस्थापन गर्दै पातारासी गाउँपालिकालाई जिल्लाकै नमुना तथा समृद्ध पालिका बनाउने योजना अघि सारिएको प्रमुख प्रशासकीय अधिकृत बुढाले बताए ।
गाउँपालिकामा आव ०७४÷७५ मा विभिन्न सात शीर्षकमा विनियोजित कुल २४ करोड ५८ लाख २१ हजार १२६ मा खर्च १२ करोड ६१ लाख ५४ हजार भएको छ । कुल बजेटको अहिलेसम्म ५१ प्रतिशत खर्च भएको छ । उनले भने, “त्यसै अनुरुप विनियोजित सबै शीर्षकको बजेट आवभित्रै खर्च गरिसक्ने लक्ष्य गाउँपालिकाले लिएको जानकारी दिए । जुम्लाका आठै स्थानीय तहमध्ये सबैभन्दा अघि पातारासीमै सबै विषयगत कार्यालय गाउँपालिकामा हस्तान्तरण हुने कार्यक्रम रहेको उल्लेख गरे ।
गाउँपालिकाले गर्ने विभिन्न गतिविधिको पारदर्शिता तथा आम नागरिकलाई सूसुचित पार्नका आगामी आवबाट वर्षमा तीनचोटि सार्वजनिक सुनुवाइ गरिने उनको भनाइ छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा जिज्ञासा राख्नेहरूले छोटो समय भए पनि गाउँपालिकाले संघीयताको महसुस गराएको बताए ।

प्रतिक्रिया दिनुहोस्