चर्किंदै एआई बहस

विज्ञानको क्षेत्रमा ख्यातिप्राप्त वैज्ञानिक अल्टबर्ट आइन्सटाइनको अभूतपूर्व सैद्धान्तिक अवधारणा पुष्टि भएका बेला त्यसको उपयोग मानव हितका बारेमा गर्ने कि मानवजातिको संहारका लागि गर्ने छलफल बहस व्याप्त थियो । आइन्सटाइन अणु बमको अविष्कारमा प्रत्यक्ष सहभागी थिएनन् । तर, यसको विकासमा उनको सहभागिता भएको हामी हेर्न पाउँछौं ।
ठीक यतिबेला यस्तै बहस कृत्रिम बौद्धिकता (आर्टिफिसल इन्टेलिजेन्स–एआर्ई)को विकासका बारेमा भइरहेको छ । कृत्रिम बौद्धिकताको प्रयोग आम विनासकारी घातक हातहतियारको प्रयोगमा मेसिनको सिकाइको प्रयोग गरी बनाउन हुने वा नहुने जस्ता विषयमा अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञ तथा वैज्ञानिकहरू माझ बहस चलिरहेको छ ।
अल्बर्ट आइन्सटाइन अणु बम
सन् १९०५मा आइन्सटाइनको सापेक्षकताको विशेष सिद्धान्त अन्तर्गत उनले ऊर्जा उत्पादनसम्बन्धी सूत्रको विकास गरे । जुन समीकरणको रूपमा स्थापित छ । सानो पिण्ड भएको कुनै वस्तुलाई प्रकाशको गतिको वर्गसँगको गुणनफल बराबर ऊर्जा हुन्छ । यो सूत्रको प्रयोगको व्याख्या नै अणु बमको निर्माण गरायो र हिरोसिमामा बम वर्षा गराई महाविनाश निम्त्याइयो ।
आइन्सटाइनले आफूलाई युद्ध विरोधीको रूपमा बनाउने विचार गरेका थिए । सन् १९२९ मा उनले सार्वजनिक रूपमा भने, “युद्ध भए म प्रत्यक्ष र अप्रत्यक्ष कुनैपनि रूपमा सामेल हुन्न, यसको विरोध गर्छु ।” रोनाल्ड क्लार्कको पुस्तक आइन्सटाइनः द लाइफ एन्ड टाइम्समा यो कुरा उल्लेख गरिएको छ । तर, उनको यो अडान सन् १९३३ मा बदलिन पुगेको देखिन्छ । जतिखेर जर्मनको शासकको रूपमा एडल्फ हिटलर पुगे र भौतिकशास्त्रीहरू माझ हिटलरले अणु बम बनाउन सक्ने आंशका बढ्न पुग्यो ।
त्यतिखेर आइन्सटाइनको महान भूमिका अणु बमको अविष्कारमा उनले हस्ताक्षर गरेको पत्र अमेरिकी राष्ट्रपति फ्रान्कलिन रुजबेल्ट समक्ष पुग्नुले भयो । जुन पत्रमा अणु बम बनाउन सकिन्छ भनिएको थियो । सन् १९३८ को डिसेम्बरमा जर्मनीमा युरेनियमलाई टुक्र्याउने कार्य भइरहेको र जर्मनको आक्रमणकारी रवैयाबाट जर्मनीले सो बम बनाउन कार्य गरिरहेको आंशका केही भौतिकशास्त्रीमा प¥यो ।
यस्ता भौतिकशस्त्रीहरूमा लियो जिलार्ड र युगिन विग्नर थिए । जिलार्डले आइन्सटाइनकसँगको वैज्ञानिक परामर्श गरेका थिए । लियो जिलार्डः हिज भर्सन अफ द फ्याक्टस नामक पुस्तकमा यसबारे उल्लेख छ । आइन्सटाइनको परामर्शपछि अगस्ट १९३९मा जिलार्डले राष्ट्रपति रुजवेल्टलाई आइन्सटाइनको हस्ताक्षर समेत भएको पत्र पठाएका थिए । यो पत्र रुजवेल्टलाई अक्टोबरमा उनका मित्र अलेग्जेन्डर स्याक्स मार्फत प्राप्त भयो । यतिबेला जर्मनीले भर्खरै पोल्यान्ड जित्न आक्रमण गरेको थियो । त्यतिखेरको अवस्था अनुसार अणु बमको विकास गर्ने राजनीतिक वातावरण पाकिसकेको थियो ।
युरेनियम शृंखला प्रतिक्रियाहरूको अध्ययन गर्न अक्टोबरमा द ब्रिग कमिटि गठन गरियो । यो कमिटिले काम गर्न धेरै ढिलाइ गरेको विषयबाट आइन्सटाइन, जिलार्ड र स्याक्सलाई रूजवेल्टलाई पत्र लेख्न बाध्य पा¥यो र चिठी मार्च १९४०मा लेखियो । अप्रिल १९४०मा आइन्सटाइनकै तर्फबाट जिलार्डले ब्रिग कमिटिलाई दबाब दिन अध्यक्ष लेम्यान ब्रिग्सलाई पत्र लेखे । जिलार्डको त्यो पत्रमा काम तीव्रतर भन्दा तीव्रतर गतिमा बढाउन आग्रह गरिएको थियो । यति हुँदाहुँदै पनि युरेनियम शृंखलाको अध्ययन कार्यक्रममा गति लिइरहेको थिएन ।
रिचार्ड रोडसको द मेकिङ अफ द अटमिक बम्ब नामक पुस्तकमा उल्लेख भएअनुसार रुजवेल्ट समक्ष अक्टोबरको १९४१मा बेलायतको माउद प्रतिवेदन पुग्यो । बेलायती दस्तावेजमा सन् १९४३को अन्त्यसम्म अणु बम युद्धमा प्रयोग गर्न तयार भइसक्नु पर्ने उल्लेख थियो । निर्धारित समयमा त्यो अणु बम तयार हुनेमा आंशका बढ्दै गइरहेको थियो । आइन्सटाइनले डिसेम्बर १९४१मा संलग्न भएर दुई दिनभित्रको छोटो समयमा कार्य पूरा गरे । अणु बम बन्यो र जापानको हिरोसिमा र नागासाकीमा बिस्फोटन भयो । त्यसको आमसंहारक विनाशकारी शक्तिबारे दुनियाँ विज्ञ छ ।
त्यो त्रासदीबाट पीडित भौतिकशास्त्री आइन्सटाइनले आफ्नो भौतिक शरीर त्याग गर्न पाँच महिना अघि सन् १९५४मा आफ्नो अनुभवलाई संश्लेषण गर्दै अणु बमको सिर्जनामा आफ्नो भूमिकाबारे भने, “मैले मेरो जीवनमा एक महान गल्ती गरेँ । जतिखेर मैले राष्ट्रपति रुजवेल्टलाई “अणु बमहरू बन्ने छन्, खतरा छ जर्मनहरूले तिनलाई बनाउने छन् उल्लेख गरी हस्ताक्षर गरी त्यो पत्र पठाएँ ।” आइन्सटाइनको यो बुझाइलाई अहिले एआर्ईको विकासको सन्दर्भमा भइरहेको बहसबीच राखेर निक्र्यौलमा पुग्नुपर्ने आवश्यकता छ ।
एआर्ई विरूद्धको राष्ट्रसंघीय बहस
आम बिनाशकारी हातहतियारमा एआर्ईको प्रयोग शक्तिराष्ट्रहरूले गरिरहेको भन्दै त्यसको विरोधमा अभियानहरू क्रियाशील छन् । ती अभियानहरूलाई दृष्टिगत गर्दै संयुक्त राष्ट्रसंघले हत्यारा रोबोट विषयमा बहस छलफल बढाउन अनुमति दिएको छ । यो बहसले घातक स्वचालित हतियार प्रणालीका लागि आचारसंहिताको निर्माण गर्नेछ । मानवअधिकार समूहहरूको दबाबपछि मानव संलग्नता बिना हत्या गर्न सक्ने हतियारहरूको परिभाषा र सम्भावित सीमाहरूको सीमांकन गर्ने गरी राष्ट्रसंघले एक प्यानल बनाएको छ ।
मानवअधिकार समूहहरूका अनुसार विश्वका सरकारहरूले एआर्ईको विकासमा अपनाउनुपर्ने उपाय र क्रियाकलाप बढाउन तदारूकता नदेखाएको पाइएको छ । यसबारे सजगता नअपनाए कम्प्युटरहरूले एक दिन दुनियाँलाई नियन्त्रण गर्न सक्नेछन् । एआर्ई प्रविधिको प्रयोगबाट बन्ने यस्ता हत्यारा रोबोटहरूले यस्ता खतराहरू निम्त्याउनेछन् ।
घातक स्वचालित हतियार प्रणाली (लेथल अटनमस विपन्स सिस्टम्स) शीर्षकमा सरकारका विज्ञहरूसँग राष्ट्रसंघमा भएको पहिलो औपचारिक बैठकको मौका छोपी अभियानकर्ताहरूले हत्यारा रोबोटहरू प्रयोगबाट हुन सक्ने सम्भावित खतराको एक भिडियो प्रस्तुत गरेका थिए । यस बैठकमा ८० भन्दा बढी देशका प्रतिनिधिहरूको सहभागीता थियो । यो बैठकको अध्यक्षता राष्ट्रसंघमा भारतका राजदूत अमनदीप गिलले गरेका थिए । गिलले यो बैठक सन् २०१८ मा फेरि हुने बताए । प्रविधि क्षेत्रमा भइरहेको प्रगति, यस्ता स्वचालित हतियारको सिर्जनालाई काननी घेरामा ल्याउने विषयमा विचारहरू माथि यो साता छलफल भयो ।
एआर्ईको प्रयोगलाई नियन्त्रण गर्नुपर्ने माग गर्दै अभियान चलाउनेहरूको छाता समूह “स्टप किलर रोबोटस”ले सो छलफलमा २२ देशका प्रतिनिधिहरूले यस्ता हतियारहरूमाथि प्रतिबन्ध लगाउने प्रस्तावको समर्थन गरेको जनायो । यो समूहको सदस्य ह्युमन राइट्स वाचले सन् २०१९ सम्मको अन्त्यसम्म यसलाई नियमन गर्न सहमतिको आह्वान गरेको छ । यो बैठक संयुक्त राष्ट्रसंघको निश्चित परम्परागत हतियारसम्बन्धी महासन्धी युएन्स कनभेन्सन अन सर्टेन कन्भेन्सनल विपन्स)अन्तर्गत हुन्छ ।
यसलाई इनह्युमेन विपन्स कनभेन्सनको रूपमा पनि बुझिन्छ । यो ३७ वर्ष पुरानो महासन्धी हो । यो महासन्धीले हातहतियार र विस्फोटक पदार्थको प्रयोगको बारेमा सीमाहरू तोकेको छ । घातक स्वचालित हतियार प्रणालीलाई प्रतिबन्ध लगाउने विषयको विरोधमा रुस र इजरायल लगायतका देशहरू रहेका छन् । अभियानकर्ताहरूले यस विषयमा अमेरिकाले सुस्त पहल गरिरहेको आरोप लगाउँछन् ।
राष्ट्रसंघका अधिकारीहरूले सैद्धान्तिकरूपमा पूर्ण स्वचालित, कम्प्युटर नियन्त्रित हतियार अझसम्म अस्तित्वमा नरहेको बताउँछन् । तर उनीहरूले किलर रोबोटस के हुन र यसले मानवसँगको अन्तरक्रिया कसरी गर्छ त्यसको परिभाषा गर्नुपर्ने विषयमा बैठक केन्द्रित रहेको बताए । अमेरिकाले सो बैठकमा यसको परिभाषालाई स्थापित गर्ने कुरा अहिले परिपक्व भइनसकेको तर्क पेश ग¥यो । उसले हलिउड र विज्ञानमा आधारित फिल्मको आधारमा आंशकालाई बढाइचढाइ गर्न खोजिएको जस्तो देखिएको भनेको छ ।
बैठकको अध्यक्षता गरेका भारतीय राजदूत गिलले यस्ता चासोका बारेमा सहजताकर्ताको भूमिका खेलेका थिए । उनले संवाददाताहरूलाई भने, “रोबोटसहरूले दुनियाँ जितिरहेको छैन भन्ने सूचना मसँग छ । त्यसैले हामीहरूका लागि राम्रो समाचार के हो भने अहिले पनि यसको जिम्मेवारी मानवहरूकै हातमा छ । यस्ता विषयमा सावधानी अपनाउनुपर्छ यसलाई भावनात्मक र नाटकीयताको रूपम दिने विषयमा सावधान हुनुपर्छ ।”अमेरिकाले स्वचालित हतियारले सैन्य लक्ष्यहरूको विरूद्धमा क्षेप्यास्त्रहरूलाई निर्देशन दिन सहयोग पु¥याउने भन्यो ।
तर चर्चित वैज्ञानिक स्टिफन हकिंग, टेस्ला कम्पनीका संस्थापक प्रविधि क्षेत्रका विज्ञ एलन मस्क र मानवअधिकारकर्मीहरूले एआर्ईको खतराबारे सतर्क हुनुपर्ने बताएका छन् । उनीहरूले यसलाई ध्यान दिइने भने ढिलो चाँडो एक दिन यस्तो प्रणालीले दुनियाँलाई नियन्त्रण गर्ने दाबी गरेका छन् । ह्युमन राइटसका कार्यकारी निर्देशक स्टिभन गुजले आधार रेखा भनेको यस विषयमा सरकारहरूले ढिलाई गरिरहेको आरोप लगाए । उनले यस विषयमा राष्ट्रसंघको महासन्धी सन् २०१९को अन्त्यसम्म भइसक्नुपर्ने आफूहरूको माग भएको बताए ।
चिन्ताबोध
महायुद्धहरूको परिणामबाट विश्व समुदाय अनविज्ञ भने छैन । कुनै पनि वैज्ञानिक अविष्कार मानव हितका लागि हुनुपर्ने विषय दोस्रो विश्वयुद्धको त्रासदीबाट पीडित आइन्सटाइनले व्यक्त गरेका विचारहरूबाट प्रस्ट हुन्छ । मानव समाजको विकास र यसको संरक्षणका लागि यस्ता प्रविधिहरूको विकास निरन्तर हुनुपर्नेमा कसैको दुविधा हुन सक्दैन । यो विषयमा विश्वभरबाट आवाज सशक्त पार्नुपर्ने आवश्यकतालाई सबैले बेलैमा सक्रियता देखाउनुपर्ने देखिन्छ । यसमा कन्जुस्याइँ गर्नु अन्ततः आफ्ना भावी सन्ततिको भविष्यलाई विनासमा धकेल्ने बाहेक अरू के नै हुन्छ ।
धर्मेन्द्र कर्ण