बक्स अफिस लागू भएपछि ५ लाखको रोजगारी सुरक्षित हुनेछ

आकाश अधिकारी नेपाली चलचित्र क्षेत्रमा बहुमुखी प्रतिभाका रूपमा स्थापित भइसकेका छन् । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष अधिकारी सफल निर्देशक, निर्माता तथा कलाकारसमेत हुन् । चलचित्र व्यवसायलाई व्यवस्थित गर्दै अर्थतन्त्रको मूल प्रवाहमा जोड्न वर्षौंदेखि लागिपरेका अधिकारीले ‘बक्स अफिस’ प्रणाली लागू गराउन वर्षौंदेखि पहल गरिरहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य रहेका अधिकारीले नेपाली चलचित्र क्षेत्रमै अढाई दशकभन्दा बढी समय बिताइसकेका छन् । मुम्बइको मधुमति इन्स्टिच्युटबाट फिल्ममेकिङ विषयमा डिप्लोमा पूरा गरेका अधिकारीले हिन्दी टेलिसिरियलमा समेत निर्देशकीय भूमिका निर्वाह गरेका छन् । उनको कम्पनी स्काई मुभिजमार्फत ठूला बजेटका फिल्महरू निर्माण भएका छन् । पन्छी, दाग, को आफ्नो को बिरानो, क्रोध, काठमान्डू, कोहिनूर, कान्छीजस्ता डेढ दर्जनभन्दा बढी लोकप्रिय चलचित्र निर्माण तथा निर्देशन गरिसकेका अधिकारी सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । चलचित्र क्षेत्रमा बक्स अफिसको आवश्यकता, नेपाली चलचित्रमा लगानीको प्रतिफल तथा चलचित्र क्षेत्रलाई सेवामूलक क्षेत्रबाट उद्योगका रूपमा स्थापित गराउन भइरहेको पहलका विषयमा कारोबारकर्मी सरस्वती ढकालले गरेको कुराकानीको सार :
पछिल्लो समय नेपाल चलचित्रको व्यापारमा निकै सुधार आएको छ भनिन्छ, निर्माता संघको अध्यक्षका नाताले यहाँको अनुभवले के भन्छ ?
हो, नेपाली सिनेमाले धेरै ठूलो फड्को मारिसकेको छ । गुणस्तरका विषयमा होस् या पपुलारिटीका बारेमा हामी विदेशी सिनेमाको कुरा गर्छाैं । हामीले बलिउड या हलिउडको सिनेमासँग तुलना गर्दा भौगोलिक अवस्था, सम्बद्ध देशका जनता, त्यहाँको आर्थिक अवस्था, प्रविधिलगायतका विविध विषयमा ख्याल गर्नुपर्छ । यो भनिरहँदा अबको युगमा हामी पछाडि हट्न भने खोजेको होइन । विदेशी सिनेमाले जुन प्रविधि प्रयोग गरेको छ ठ्याक्कै त्यही प्रविधि प्रयोग गर्न नसके पनि त्यसको हाराहारीको प्रविधिमा हामी गइरहेका छौँ । त्यसले गर्दा सिनेमाले फड्को मारेको छ ।
सिनेमाका धेरै पाटा हुन्छन्— एउटा, सिनेमा निर्माणको चरणमा हुने मेहनत । निर्माणक्रममा पनि धेरै पक्षहरू जोडिन्छन्; जनशक्ति, स्रष्टा, प्राविधिज्ञलगायत धेरैको हात हुन्छ । त्यस्तै निर्माण भइसकेपछि दर्शकसम्म पुराउनका लागि अर्काे पक्ष जोडिन्छ— सिनेमा हल, हामीले कन्टेन्ट लिएर गएपछि त्यसलाई प्रस्तुत गर्न सिनेमा थिएटरका पूर्वाधारहरू पनि राम्रा हुनुपर्छ । सुरुको सिर्जनादेखि हलसम्म पुग्दा सबै कुरा उचित ढंगले प्रस्तुत गर्न सकियो भने मात्रै दर्शकले गुणस्तरीय सिनेमा पाउने हो । अहिले ‘फिल्म मेकिङ’ले पनि राम्रो फड्को मारेको छ । त्यसैगरी सबै त म भन्दिनँ, तर ५० प्रतिशत सिनेमा थिएटरले गुणस्तर कायम भएका छन् । पछिल्ला प्रविधियुक्त हलमा तपाईं सिनेमा हेर्न जानुस्, सिनेमा राम्रो लाग्छ; तर अर्काे साधारणमा जानुस्, चित्त बुझ्दैन । यसको मतलब ‘कन्टेन्ट’ एउटै हो, तर त्यसलाई प्रस्तुत गर्ने पूर्वाधार र प्रस्तुतिले फरक पर्छ ।
पहिलेको तुलनामा अहिले निकै राम्रा सिनेमा बनेका छन् । ‘पन्छी’ मा म आफैं हिरोको भूमिकामा थिएँ, जुन मैले गरेको डिरेक्सनको तेस्रो सिनेमा थियो । त्यतिबेला मैले आफैं हलमा गएर हेरेको थिएँ । दर्शकहरू यति धेरै दर्शक आउनुभएको थियो, व्यवस्थापन गर्न हम्मेहम्मे प¥यो । पर्दामा त्यतिबेला मैले आफैंलाई चिनिनँ । त्यतिखेर मलाई हामीले चलचित्र उद्योगमा के गरेका छौ भनेर एकदमै धिक्कार लाग्यो । सिनेमा हेर्न आउने दर्शकलाई क्वालिटी दिने त हाम्रो पनि दायित्व हो । त्यसपछि सन् २००६ मा रेड डिजिटल भन्ने क्यामरा निस्केको थियो, जतिबेला हलिउडले त्यो क्यामेरा एनाउन्स गर्यो, त्यसपछि म र मेरा मित्र कपिल पराजुलीले क्यामराका बारेमा अनुसन्धान गर्येउ । त्यतिबेला ५ हजार डलर एड्भान्स पठाएर किन्ने निर्णय भयो । २००८ मा त्यो क्यामेरा नेपाल भित्रियो । त्यसपछि २००९ मा मैले ‘काठमाडौँ’ सिनेमा टेस्ट प्रोजेक्टका रूपमा सुरु गरेँ । त्यसमा प्राविधिक तर्फबाट धेरै कठिनाइ आए । तीन वर्षमा मैले सिनेमा काठमान्डु रिलिज गर्न सकेको थिएँ । त्यसरी सुरुमा दुःख भए पनि अहिले नेपालमा झन्डै २५/३० वटा रेड क्यामरा भइसकेका छन् । सिने क्षेत्रमा सुधार हुँदै आएको छ ।
नेपालमा बन्ने चलचित्रमध्ये कति नाफामा जान्छन्, कतिले लगानी उठाउँछन् र कतिले नोक्सानी बेहोर्छन् ?
बलिउडमा वर्षमा ६ हजार सिनेमा बन्छन् त्यसमध्ये धेरै कम सिनेमा रिलिज हुन्छन् । नेपालको हकमा बर्सेनि १ सयदेखि १ सय २० वटा सिनेमा बन्छन् । त्यसमध्ये ८०/८५ वटा रिलिज हुन्छन् । नाफा कमाउने सिनेमा ५ देखि १० वटा मात्रै हो । २५ देखि ३० वटा सिनेमाले आफ्नो लगानी उठाउँछन् । कुनै वर्षमा १५ वटाले पनि नाफा कमाउन सक्लान्, तर औसतमा भन्ने हो भने न्यूनतम ५ र अधिकतम १० वटाले मात्रै नाफा लिन सकेको अवस्था छ । त्यसपछि अरू सिनेमामध्ये केहीले १०, केहीले १५/२० र केहीले ९० प्रतिशतसम्म गुमाएको अवस्था छ । त्यसको लागत झन्डै ३ अर्बको हुन्छ । सिनेमामा हाम्रो लगानी छ, तर सुरक्षा छैन । छुट्टीका बेला सिनेमा लिएर दौडिने होडबाजी नभएको होइन, अवश्य पनि छ । हामी कोही पनि सिनेमा हेर्छाैं भनेर त बसिँदैन, विभिन्न आफ्ना काम, पढाइ, व्यवसाय धेरै कुरा छन् । बिदाको दिन परे सिनेमा हेर्न आमदर्शकले चाहनुहुन्छ । त्यसैले हामी निर्माता, निर्देशक, चलचित्रकर्मीले पर्खिरहेका हुन्छौँ । ब्यालेन्स मिलाउन त कठिन छ, तर पनि आजसम्म सिस्टममै गइरहेको छ ।
यति धेरैको संख्यामा सिनेमा घाटा गएको अवस्थामा यस क्षेत्रमा बर्सेनि लगानी बढ्दै जानुको कारण के हो ?
यो हाम्रो पेसा हो । जब मैले सन् १९९२ मा ग्य्राजुएसन सकेपछि तीन वर्षको फिल्मसम्बन्धी डिप्लोमा गरेँ । मेरो प्राइम टाइममा मैले फिल्मसम्बन्धी पढेँ । अब मैले अन्य क्षेत्रमा जाने हो भने शून्यबाटै सुरु गर्नुपर्छ । त्यस्ता व्यक्ति फिल्म उद्योगमा धेरै हुनुहुन्छ । कोही पढेर आउनुभएको छ भने कोही परेर आउनुभएको छ, जसले यो क्षेत्रमा लामो समय बिताउनुभएको छ भने उहाँलाई अब अर्काे क्षेत्रमा काम गर्न कठिन हुन्छ । त्यसले गर्दा पनि फिल्म उद्योगमा धैर्यका साथ नेपाली टेकनिक लगाएर पनि सिनेमा बनाएका हुन्छौँ ।
अत्याधुनिक प्रविधि प्रयोग गर्न धेरै लागत लाग्छ । त्यसले गर्दा पछिल्ला पूर्वाधार भिœयाउन पनि सकेका छैनौँ । अहिले प्रविधिले संसारलाई सानो बनाएको छ । कुनै ‘सट’ देख्नासाथ हामी कसरी निकाल्ने होला भनेर ध्यान दिन्छौँ । भनाइको अर्थ के हो भने हामी त्यति मेहनतका साथ काम गछौं । कतिपय अवस्थामा सिनेमा पैसाले बन्छ, जहाँ महँगा खालका पूर्वाधार, प्राविधिक, समय लगाएर हुन्छ कि कसरी हुन्छ, राम्रो बनाउने कोसिस गरिएको हुन्छ, तर हाम्रो एउटा टाइम फ्रेम हुन्छ । ३० देखि ५० दिनभित्र हामीले सुटिङ सक्नैपर्ने हुन्छ । त्यसपछि प्रोडक्सनको काम ३ महिनामा सक्नुपर्छ अनि पर्दामा ल्याउनुपर्छ । बढीमा ६ महिनाभित्र हामीले सिनेमा रिलिज गनुपर्ने भएकाले रातदिन नसुतेर हामी काम गर्छौं, तर पनि हाम्रा प्राविधिक, कलाकार, सर्जकले पैसाभन्दा पनि कसरी राम्रो गर्न सकिन्छ भनेर नेपाल फिल्म उद्योग लागिरहेको छ । यसका साथसाथै हामी जति मेहनत गर्छौं, त्यसको फल हामी निर्मातालगायतका व्यक्तिहरूलाई आइरहेको छैन । निर्माता भनेको फल दिने वृक्ष हो ।
चलचित्र क्षेत्रमा जति व्यापारबाट जति आम्दानी हुन्छ त्यसको अनुपातमा निर्माताले एकदमै कम पाउँछन् भनिन्छ, वास्तविकता के हो ?
जो हामी साथीहरू यस क्षेत्रमा आबद्ध छौ, एकजुट हुन नसकेर पनि निर्माताहरू मारमा परेका छन् । कुनै पनि क्षेत्रमा म एक्लै सफल हुन्छु भनेर जाने हो भने त्यहाँ कहीँ कतैबाट धोका हुन सक्छ । अझै फिल्म उद्योगमा एक्लो व्यक्तिले म अब्बल हुन्छु र अगाडि हुन्छु भन्ने नसोचे पनि हुन्छ । एक दिन न एक दिन हार हुन्छ, हुन्छ । पहिलो फिल्मबाटै मैले ‘बेस्ट डिरेक्टर’को अवार्ड पाएको व्यक्ति हुँ । आज मैले १८ वटा सिनेमा गर्दै गर्दा सधैं टप फाइभमा पर्न सफल भएको छु । सधैं मेरो दिन त्यस्तै रहन्छ म भन्न सक्दिन र सधैं अवार्ड विजेता हुन्छु पनि भन्न सक्दिनँ । समग्र उद्योगलाई लाभ छ भने अवश्य पनि म त्यही क्षेत्रको व्यक्ति हुनाले मलाई पनि लाभ छ । यदि उद्योगलाई नभएर आफूलाई मात्र लाभ लिएर हिँड्ने हो भने एक दिन त्यो दौडबाट बाहिरिनुपर्छ । यसको मतलब केही साथीहरू एकजुट हुन नसकेकै कारण निर्माताहरूले अपेक्षाकृत लाभ लिन नसकेका हुन् । ४२ दिनको आन्दोलनपछि चलचित्र संघ, हलका साथीहरूबीच पादर्शिताका विषयमा एउटा सहमति भएको थियो । त्यो सहमति केही महिना र केही वर्षसम्म पनि लागू भयो । त्यसपछि ब्रेक हुँदै गयो । जसरी गोलमेचमा बसेर सहमति भएको थियो, त्यसरी नै ब्रेक हुनुपथ्र्याे; तर त्यसो नभएका कारण आज हामीले आवाज उठाउनुपरेको हो ।
अहिले बक्स अफिस विषय निकै चर्चामा छ । बक्स अफिस भनेको के हो र यो किन आवश्यक छ ?
सामान्य रूपमा भन्नुपर्दा बक्स अफिस भनेको टिकट काट्ने ठाउँ हो। तर त्यहाँ भित्र कस्तो खालको सफ्टवेयर, हार्डवेयर र प्रविधि जडान गरेर काटिएको छ भन्ने मुख्य कुरा हो । कागज च्यातेर काटिने टिकट म्यानुअल टिकट हो । ई–टिकट बक्स अफिसअन्तर्गतबाट आएको हुन्छ । ई–टिकटमा अहिले हामीले खोजेको कुरा सरोकारवाला हल, निर्माता र वितरक सबैको सहमतिबाट जाने र पारदर्शी रूपमा आम्दानीको बाँडफाँड गर्ने । सयमा २ प्रतिशत निर्माताले फिल्म बनाएपछि एकमुस्ट वितरकले किन्छ भने ९८ प्रतिशत कमिसनका आधारमा चल्छ । उसले लगेर हलमा दिन्छ, सिनेमा चलेपछि कति प्रतिशत दिने भन्ने सहमति गरिएको हुन्छ । मैले आठ वर्षअगाडिदेखि नै बक्स अफिसको कुरा उठाएको थिएँ ।
अहिले हल र निर्माताबीच एकअर्कालाई आरोप लगाउने मात्रै काम भएको छ । यसको पारदर्शिताका लागि बक्स अफिस चाहिन्छ । यसमा सरोकारवालाले अनलाइन हेर्न सक्नुपर्छ । मैले मागेको बक्स अफिस विदेश बसेर पनि कुन–कुन हलमा सिनेमा चलेको छ, त्यसको पासवर्ड र कोडवर्ड लिएर आफ्नो मोबाइलबाट हेर्न पाउनुपर्छ । पारदर्शिता कायम भयो भने एक–अर्काेमा मन खुला भएर व्यवसाय गर्न सकिएमा हामी भनेको सिर्जना गर्ने मान्छे हो, कसरी नयाँ कुरा निकाल्ने, कसरी दर्शकमा विशिष्ट कुरा दिने भन्नेबारेमा जतिबेला पनि सोचेका हुन्छौ । आर्थिकतर्फ ध्यान दिन नपरेको खण्डमा धेरै राम्रा सिनेमा दिन सक्छौ । निर्माताले लगानी मात्रै उठाउन सकेमा त्योभन्दा राम्रो सिनेमा बनाउन अगाडि बढ्छौँ । यहाँ त कतिपय निर्माताको लगानी नै डुब्छ । केही दिन म सिनेमा बनाउँदिन भनेर बस्नुहुन्छ, फेरि केही दिनमा बनाऊँ–बनाऊँ लाग्छ अनि फर्कनुहुन्छ । त्यसकारण प्रतिस्पर्धाको युगमा दर्शकलाई गुणस्तरीय सिनेमा दिन सकिन्छ । बक्स अफिस लागू भएमा यस क्षेत्रमा आबद्ध भन्डै ५ लाखको रोजीरोटी राम्रैसँग चल्छ । फिल्म उद्योगले नै फड्को मार्न सक्छ ।
तपार्इंकै कार्यकालमा बक्स अफिस लागू गर्न सक्नुहोला त ?
निर्माता संघले बक्स अफिस चाहिन्छ भनेर अवधारणा दिएको हो । चलचित्र विकास बोर्डमा मलगायतका प्रतिनिधिहरूले झन्डै तीन महिना लगाएर बक्स अफिसको मापदण्ड बनाएको थियौँ । फिल्म उद्योगको नीतिमा यो व्यवस्था नभएकाले केही साथीहरूलाई अप्ठेरो परेर होला, मुद्दा प¥यो र रोकियो । त्यसपछि राज्यले मुद्दा जितेपछि तत्कालीन राजकुमार राई चलचित्र विकास बोर्डको अध्यक्ष हुँदा मन्त्रीज्यूसमक्ष प्रस्ताव गयो । त्यसका लागि आवश्यक सफ्टवेयर कस्तो चाहिने भन्ने विषयमा छलफल भयो ।
बोर्डले टेन्डर आह्वान गरेर सुरुवात गर्यो । त्यसपछि उहाँको कार्यकाल सकियो । अहिले निकिता पौडेल बोर्ड अध्यक्षमा आउनुभएको छ । उहाँ पनि यस विषयमा निकै सकारात्मक हुनुहुन्छ । अहिले बहुमतप्राप्त सरकार छ, राजनीतिक स्थिरता हुन्छ भन्ने हामीलाई लागेको छ । परिवर्तन देशमा आउँछ भन्नेमा हामी आशावादी छौँ । अहिले सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री पनि बक्स अफिस प्रणाली लागू गर्नुपर्छ भन्नेमा पुग्नुभएको छ । उपत्यकाभित्र जेठ १ बाट परीक्षणका रूपमा र साउन १ बाट व्यावसायिक रूपमा लाग्नुपर्ने थियो । माघको अन्तिमसम्ममा देशभर नै सबै हलभित्र जडान हुनुपर्ने र फागुनबाट व्यावसायिक रूपमा सुरु हुनुपर्ने थियो । गत ९ गते निर्माताहरूको भेला बोलाएर जेठ १ गतेभित्र बक्स अफिस नलागेमा, सेयर बाँडफाँडका विषय नमिलेमा त्यसको हलमा बजाइने ट्रेलरमा बुझाउनुपर्ने शुल्क, पोस्टर लगायतका विषयका कुरा नमिलेमा सबै सिनेमा रोक्न तयार हुने निर्णय भएको छ । चलचित्र क्षेत्रमा झन्डै १६ वटा संघसंस्था छन्, सबैबाट साथ छ । त्यसैले मेरै कार्यकालमा लागू हुन्छ भन्नेमा म विश्वस्त छु ।
तपाईं निर्माता संघको अध्यक्ष मात्रै नभएर नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पनि हुनुहुन्छ, सिनेमा क्षेत्र उद्योग हो या सेवा ?
हो, सिनेमा क्षेत्रको परिवर्तनका लागि मलगायत महासंघका पदाधिकारी साथीहरू पनि लाग्नुभएको छ । महासंघ अध्यक्ष भवानी राणाले पनि यस क्षेत्रमा परिवर्तनका लागि आफ्नै कार्यकालमा केही गरेर देखाउनुपर्छ भनेर लाग्नुभएको छ । यसले पनि हामीलाई हौसला दिएको छ । चलचित्र क्षेत्रमा ३ अर्ब रुपैयाँबराबरको लगानी भएको छ भने के त्यो उद्योग होइन ? अहिलेसम्म चलचित्र क्षेत्रलाई सेवामूलक उद्योग भनिएको छ । निर्माता संघमा मलगायत १७ जनाको टिम निर्विरोध आएको हो ।
चलचित्र क्षेत्रले विश्वास गरेर मेरो नेतृत्वमा टिम पठायो भने पनि मैले जेजे कामहरू पेन्डिङमा छन्, तिनलाई पूरा गर्नुपर्छ । नौवटा संघसंस्थाको समन्वय समिति बनाएका छौँ; त्यसमा कलाकार, निर्देशक समाज, प्राविधिक संघ, नृत्यकार संघ, लेखक संघ, इक्क्युपमेन्ट एसोसिएसन सबै छौँ र त्यसको संयोजक म छु । पहिलो कामका रूपमा चलचित्र उद्योगलाई सेवामूलकबाट हटाएर राज्यको मान्यताप्राप्त निर्यातमुखी पर्यटन उद्योगमा लैजाने भनेर लागेको हौँ । उद्योग मन्त्रालयबाट तत्कालीन मन्त्रीस्तरबाट पास भइसकेको छ । त्यसपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालयबाट नो अक्जेक्सन लेटर चाहिने रहेछ । त्यो पत्र ६ महिना फिल्म विकास बोर्डमा गएर बस्यो । अहिले मेरो ड्युटी नै सिंहदरबार जाने जस्तो भइरहेको छ । कहिले मन्त्रालय, राजस्व विभाग, कहिले कता सरकारका निकायमा फाइल लिएर हिँड्दा समय ठिक्क भएको छ ।
नेपालमा काम किन नहुने रहेछ भन्ने अहिले आएर थाहा पाएको छु । मन्त्रीस्तरबाट निर्णय भइसकेपछि कर्मचारी तह, प्रशासन तह यी सबै निकायले आफ्नो भूमिका मात्रै पूरा गर्ने हो भने पनि देश आज निकै फड्को मारिसकेको हुन्थ्यो । सरकारी काममा पाइला–पाइलामा फाइल अड्किन्छ । अहिले सबै फाइल फर्केर उद्योग मन्त्रालयमा आएको अवस्था छ । छिट्टै हुन्छ भन्नेमा आशावादी छु ।
अन्त्यमा तपाईं निर्माताबाट बिस्तारै नेता बन्न खोज्दै हुनुहुन्छ भन्ने आरोप छ नि ?
नेता न मेरो कुनै खान्दानीमा छ, न त म नै हो । यो त केवल मजबुरी मात्रै हो । हिजो म यस क्षेत्रमा प्रवेश गरेको डिरेक्टरबाट हो । अहिले १८ वटा सिनेमा बनाइसकेको छु । अहिले पनि कान्छी–टुका लागि मैले तयारी गरेकोे छु । दोस्रो, म कलाकार हुँ, किनकि म कलाकार र निर्देशकमा डिप्लोमा गरेर आएको छु । सिनेमा बनाउँदै गर्दा गलत भइरहेको छ भने कोही पनि बोल्दैनन्, कसैले साथ दिंदैनन् । निर्माता संघको अध्यक्ष भए पनि म पहिला भन्छु— निर्देशक र कलाकार हुँ । यो क्षेत्र मैले बुझेको छु र साथीहरूलाई पनि बुझाउन सक्छु भनेरै म निर्माता संघमा आएको हुँ । निर्माता संघमा सबै साथीले विश्वास गरेरै निर्विरोध आएको हुँ । मैले अब दायित्व पूरा गर्नुपर्छ । सबै दायित्व पूरा भएमा भोलि निर्माता संघ छोड्न तयार छु । फेरी सिनेमा सिर्जनामा लाग्नु छ, अहिले मलाई समय पुगेको छैन । मेरा फ्यानहरूले मलाई फिल्म किन नखेलेको भनेर पटक–पटक भन्नुभएको छ । फेरि पनि भन्छु— म नेता होइन, मजबुरीमा छु ।