मोदीको नेपाल भ्रमणबारे कुटनीतिक अन्योल «

मोदीको नेपाल भ्रमणबारे कुटनीतिक अन्योल

सरकारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले अन्योल सिर्जना गरेको छ । एक महिना अघिदेखि मोदीको नेपाल भ्रमणमा जुटेको सरकारले मोदीको भ्रमणबारे स्पस्ट नगरेपछि जनसाधारणमा अन्योल सिर्जना भइ सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी बढी भएको कुटनीतिज्ञहरूको बुझाइ छ ।
सामाजिक सञ्जालमा मोदीको भ्रमणबारे टिकाटिप्पणी बढेपछि भ्रमण सम्पन्न हुन एक साता अघि मात्र परराष्ट्रमन्त्रालयले विज्ञप्ति निकाली भ्रमण राजकीय भएको स्पष्ट पारेको छ । ४ मे मा सार्वजनिक गरिएको सो विज्ञप्तिमा मोदीले ११ र १२ मा गर्ने नेपालको भ्रमण राजकीय हुने उल्लेख छ । ११ मे मा राजधानीको टुँडिखेलमा मोदीलाई गार्ड अफ अनर दिइने उल्लेख गरिएको छ । तर, राजकीय भ्रमणलाई थप प्रस्ट पार्नुपर्ने विषयलाई विज्ञप्तिमा प्रस्ट नपारिएको केही कुटनीतिज्ञहरूको कथन छ ।
जनकपुरबाट सुरु हुने सो भ्रमणबारेमा जनकपुर उपमहानगरपालिका र काठमाडौं महानगरपालिकाले क्रमिक रूपमा नागरिक अभिनन्दन गरिने जनाइएको छ । अरूण तेस्रो जलविद्युत् परियोजनाको शिल्यान्यास गरिने र दुई देशबीचका पारस्परिक हितका बारेमा छलफल हुने पनि उल्लेख गरिएको छ ।
सामाजिक सञ्जालमा उठेका सवालबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीले गलत भनेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न भारतको भ्रमणमा उठेका विषयमा समझदारी र सम्झौता हुनसक्ने बताएका छन् । रक्सोलदेखिको पाइप लाइनको कुरा, जलमार्ग, कृषिमा साझेदारी, रेलमार्गका विषयमा समझदाी समझौता हुन सक्नेमा आफू आशावादी भएको उनले जनाएका छन् । तर परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा समझदारी र सम्झौतामा हस्ताक्षर हुन सक्ने पदावली उल्लेख गरिएको छैन ।
पूर्वराजदूत श्यामानन्द सुमनले सरकारको तर्फबाट भ्रमणबारे अन्योल फिँजाइएको बताए । उनले भने, “सरकारका उच्च पदस्थ पदाधिकारीहरूबाट भ्रमण अनौपचारिक , औपचारिक वा राजकीय भ्रमण के हो त्यसबारे पहिले प्रस्ट गरिएको भए जनसाधारणमा भ्रम पर्ने थिएन ।”
हुन त विश्वव्यापीरूपमै कुटनीतिक व्यवहारमा परिवर्तन हुँदै आएको छ । तर पनि सरकारका तर्फबाट भ्रमणका बारेमा जनतालाई स्पस्ट जानकारी गराउनु उचित हुने उनको कथन छ । पूर्वराजदूत सुमनले परम्परागतरूपमा राजकीय भ्रमणका केही सामान्य व्यवहारक्रम हुने गरेको बताए । उनले भने, “राजकीय भ्रमणका क्रममा द्विपक्षीय सन्धिसम्झौता हुने चलन हुनेछ । दुईपक्षीय टोलीबीच रात्रिभोज (डिनर)को आदान प्रदान हुन्छ । सरकार प्रमुख वा राष्ट्रप्रमुखबीच टोस्ट गरिन्छ । यो कार्यक्रममा देश र जनताको हितको कामना गरिन्छ । यो कार्यक्रम समावेश भएको भ्रमणलाई राजकीय भ्रमण भनेर बुझिने गरिन्छ ।”
पूर्वराजदूत सुमनका अनुसार राजकीय भ्रमणबारे विषयहरूमा परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा अभाव छ । अर्कोतर्फ परराष्ट्रमन्त्रीले सन्धि सम्झौता हुनसक्ने बताइरहेका छन् । सामाजिक सञ्जालको टिप्पणीप्रति आक्रमक देखिएका परराष्ट्रमन्त्रीले सांस्कृतिक भ्रमण बताइरहेकाले पनि थप भ्रम परेको हुनसक्ने उनको बुझाइ छ ।
परराष्ट्रसम्बन्धी स्रोतले जनाएअनुसार यो भ्रमण कस्तो हुने भन्ने टुंगो नै थिएन । ओलीको भ्रमणलाई राजकीय भ्रमण भनिएको थियो । त्यसैले सरकारले पनि मोदीको भ्रमणलाई राजकीय बनाउने प्रयाससम्म गरेको देखिन्छ । परराष्ट्रमन्त्रीले अपेक्षा अनुसार केही हस्ताक्षर हुन सक्नेलाई अन्यथा भन्न सकिन्न ।

 

प्रतिक्रिया दिनुहोस्