चिनियाँ पाइलट ल्याउँदा मापदण्ड मिचियो «

चिनियाँ पाइलट ल्याउँदा मापदण्ड मिचियो

नेपाल वायुसेवा निगमले चिनियाँ वाई–१२ ई जहाज उडानका लागि ल्याउन लागेका तीन चिनियाँ क्याप्टेनहरूसँग सरकारले तोकेको योग्यता नरहेको खुलासा भएको छ । ति चालकसँग कमर्सियल पाइलट लाइसेन्स (सीपीएल) मात्रै रहेको पाइएको छ । जबकी नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमावलीमा भने नेपालमा दर्ता भएका जहाज उडान गर्न पाइलटसँग एयरलाइन्स ट्रान्सपोर्ट पाइलट लाइसेन्स (एटीपीएल) अनिवार्य हुनुपर्ने व्यवस्था छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले पनि एटीपीएलवाहकलाई मात्र अनुमति दिनको लागि संसारभर नियम लगाउने गरेको छ । तर चिनियाँ जहाज उडान गर्न पाइलट अभाव खेपिरहेको निगमले ल्याउन लागेको तीन चिनियाँ पाइलट सीपीएलबाहकमात्र रहेको पाइएको हो । प्राधिकरण स्रोतले दिएको जानकारीअनुसार निगमले चिनियाँ जहाज उडाउन ल्याउन लागेका तीन पाइलटको नेपालको नागरिक उड्डयन नियमावली तथा पाइलटको कार्यविधि विपरित रहेको छ ।
प्राधिकरणले हाल नागरिक उड्डयन प्रशासन कार्यालय चीनमा पुनः प्रमाणित गर्नको लागि पठाएको र नेपालको नियमावलीअनुसार एटीपीएल प्रमाणपत्र ल्याएको अनुमति पाउने तर सीपीएलमात्र भए अनुमति नदिने तयारी प्राधिकरणको छ । “निगमले तलबसमेत फाइनल गरेको छ, विगतमा पनि पाइलट ल्याएको उनीहरूको लाइसेन्सको विषयमा पहिलेनै अध्ययन हुनुपर्ने थियो,” प्राधिकरण स्रोतले भन्यो ।
यता नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले नेपालको नियमावलीअनुसार एटीपीएल प्रमाणपत्र नभएर सीपीएल प्रमाणपत्र पेश गरेकोले पाइलट ल्याउन ढिला भएको बताए । “हामीले प्राधिकरणसँग अन्तर्राष्ट्रिय मापदण्डसमेत एकपटक अध्ययन गर्न भनेका छौं,” कंसाकारले भने ।
प्राधिकरणका अनुसार नियममा सीपीएल पाइलटको लागि प्राइभेट पाइलट लाइसेन्स (पीपीएल) अनिवार्य हुनुपर्दछ । जसमा कम्तीमा १ सय ५० घन्टा उडान गरेको पीपीएल बाहकले सीपीएलको जाँच दिन पाउने व्यवस्था रहेको छ । सीपीएलबाहकले २ हजार ५ सय देखि ३ हजार घन्टासम्म अनिवार्य उडान गर्नुपर्दछ । त्यसपछि मात्रै एटीपीएलको लागि जाँच दिन पाउने व्यवस्था छ । लिखित तथा प्रयोगात्मक परिक्षा पास गरेपछिमात्र नेपालमा दर्ता भएका जहाजको कमान्ड गर्न पाउने व्यवास्था रहेको छ । सीपीएल प्रमाणपत्र पाइलटले १८ वषकै उमेरमा पनि आवदेन दिन पाउने व्यवस्था रहेको छ । तर एटीपीएलको लागि भने २१ वर्ष पुरा भएको हुनुपर्दछ ।
निगमसँग हाल ४ थान जहाजका लागि २ जना मात्रै क्याप्टेन रहेका छन् । निगमले नेपाली क्याप्टेनको भन्दा १ हजार डलर अमेकिरी बढी तिरेर चिनियाँ क्याप्टेन ल्याउन लागेको थियो । निगमले एक जना चिनियाँ क्याप्टेनको लागि ८ हजार अमेरिकी डलर मासिक दिनेगरी सहमति गरेर अनुमतिका लागि निगम प्राधिकरण गएर प्रमाणपत्र पेश गरेपछि सीपीएल मात्रै प्रमाणपत्र रहेको पाइएको हो । पाइलट अभाव खेप्दै आएको निगमले चिनियाँ क्याप्टेन आएपछि १७ सिट क्षमताका ४ थान चिनियाँ चार वटा वाई १२ र ५६ सिट क्षमताका दुई थान एमए–६० ले आन्तरिक उडान राम्रो गर्ने आशा लिएको थियो ।

मन्त्री अधिकारीको सय दिने कार्यक्रम प्रभावित
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले एक सय दिनको कार्यक्रममा सवै चिनियाँ जहाज उडाउने घोषणा समेत गरेका थिए । तर पाइलट नै ल्याउन नसक्ने अवस्था आएपछि मन्त्रीले राखेको योजना समेत असफल हुने देखिएको छ । चीनको हार्विन एयरक्राफ्ट ग्रुपले निर्माण गरेको वाइ–१२ ई सिरिजका जहाज दुर्गम क्षेत्रमा उडान गर्ने लक्ष्य राखे पनि सुगममै उडान गर्न पनि पाइलटको अभाव छ । निगमसंग हाल चिनियाँ ६ थान र ट्वीनटर २ थान गरी ८ वटा आन्तरिक उडानका लागि जहाज भएका छन् । निगमले धमाधम चिनियाँ जहाज ल्याएपनि पाइलट तथा स्पेयर्स पार्ट्स अभावका कारण प्रत्येक वर्ष घाटा बेहोर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्