गाउँपालिका भवन निर्माण गर्न निःशुल्क जग्गा «

गाउँपालिका भवन निर्माण गर्न निःशुल्क जग्गा

खोटाङको दिप्रुङ–चुईचुम्मा गाउँपालिकाको कार्यालय निर्माणका लागि जग्गा प्राप्त भएको छ । दिप्रुङ–चुईचुम्मा गाउँपालिका–५ स्थित याङसोलाटारमा गाउँपालिका भवन निर्माणका लागि ७ रोपनी ८ आना निःशुल्क जग्गा प्राप्त भएको हो ।
दिप्रुङ–चुईचुम्मा गाउँपालिका–५ का होमप्रसाद राई सोही स्थानका हर्कराज राई, भवीन्द्र राई र इन्द्रप्रकाश राईले सोमबार जिल्ला मालपोत कार्यालय दिक्तेलमा आएर आफ्नो नाममा रहेको जग्गा गाउँपालिकाको नाममा पास गराएका छन् ।
गाउँपालिकाको कार्यालय निर्माणका लागि जग्गादाता भवीन्द्र राईले १ रोपनी ८ आना, इन्द्रप्रकाश राईले १ रोपनी ८ आना, हर्कराज राईले ३ रोपनी र होमप्रसाद राईले १ रोपनी ८ आना जग्गा उपलव्ध गराएर मालपोत कार्यालयमार्फत गाउँपालिकाको नाममा नामसारी गरिदिएको दिप्रुङ–चुईचुम्मा गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले जानकारी दिए । जग्गादाताहरूले मालपोत कार्यालयबाट गाउँपालिकाको नाममा जग्गा पास गराएर गाउँपालिकाका प्रमुख भूपेन्द्र राई र उपप्रमुख सपना राईलाई लालपुर्जा हस्तान्तरण गरेका छन् ।
जग्गादाताहरूबाट निःशुल्क जग्गा प्राप्त भएसँगै तत्काल गाउँपालिका निर्माणको काम थालिने प्रमुख राईको भनाइ छ । पञ्चमीबजारमा तोकिएको अस्थायी गाउँपालिकाको कार्यालयलाई गत चैत १४ गते याङ्सोलाटारमा रहने गरी राजपत्रमा प्रकाशित भएपछि गाउँपालिकालाई पूर्ण रूपमा याङ्सोलाटार सारिएको थियो । याङ्सोलाटारमा खानेपानी, सडकलगायतका भौतिक पूर्वाधार भए पनि भवन नहुँदा सेवा प्रवाहामा समस्या भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्