नेपाल ‘बहुराष्ट्रिय’ देश «

नेपाल ‘बहुराष्ट्रिय’ देश

राष्ट्रिय जनता पार्टीले नेपालले नेपाल बहुराष्ट्रिय देश भएको बताएको छ । महोत्तरीको जलेश्वरमा बिहिबार सार्वजनिक घोषणापत्रमा नेपाल बहुभाषिक, बहुधार्मिक, बहुजातीय र बहुराष्ट्रिय देश भएको उल्लेख छ । ‘पहिचान, अधिकार र सम्मान, राजपा नेपालको दृढ अडान’ भन्ने मूल नारासहित राजपाले घोषणापत्र सार्वजनिक गरेको हो ।
एक राज्य एक राष्ट्र हुनैपर्छ भन्ने धारणा आदर्शवादी भएपनि सधैं व्यवहारिक हुन नसक्ने भन्दै घोषणापत्रको प्रस्तावनामा भनिएको छ, ‘वास्तावमा एउटा राज्य–राष्ट्रको निर्माण तबमात्र प्रारम्भ हुन्छ, जब मुलुकका सबै तह र तप्का, वर्ग, समुदाय र नागरिकले समानताको महसुस गर्छन् र राज्य निर्माणको अभिभारा समान रूपले ग्रहण गर्छन् ।’ एकै राज्य भए पनि देश फरक हुनसक्ने राजपाको तर्क छ ।
‘भारतको दार्जिलिङ, सिक्किम, आसाम आदिमा बस्ने खस भाषाभाषी होस् वा नेपालमा बस्ने खस भाषाभाषी– संस्कृति, विचार एवं चालचलनको आधारमा एकै राष्ट्र हुन् तर तिनिहरूको देश फरक छ,’ घोषणापत्रमा लेखिएको छ । घोषणपत्र सार्वजनिक समारोहमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले नेपालको दक्षिणतिरको समथरभूमिमा बस्ने मधेशी, थारु, दलित, जनजाति र मुस्लिम शतप्रतिशत नेपाली भएपनि ती सामूहिक रूपमा आफंैमा एक राष्ट्र पनि भएको बताए ।

आधुनिक सहर, युवालाई ऋणदेखि फ्रि इन्टरनेटसम्म
राजपाले पनि आफ्नो घोषणापत्रमा विकासमा सपनाहरू उल्लेख गरेको छ । उसले आधुनिक सहर निर्माण गर्नेदेखि फ्रि इन्टरनेटको व्यवस्था गर्ने विषय घोषणापत्रमा प्राथमिकताका साथ उल्लेख गरेको छ । सहज आवागमन र सरसामानको ढुवानीका लागि हुलाकी मार्गलाई तराई–मधेस लोकमार्ग नामाकरण गर्दै यथाशीघ्र सम्पन्न गरी थप सडक सञ्जालको निर्माण गर्ने, पूर्व–पश्चिम राजमार्गको समानान्तर आधुनिक रेलमार्गको निर्माण गर्ने राजपाको योजना छ । जनकपुर अन्तर्राष्ट्रिय पर्यटन स्थल एवं विश्व हिन्दू केन्द्रलाई प्राथमिकता दिँदै जनकपुरको बृहत् र चौतर्फी विकासका लागि दक्ष र अनुभवी विशेषज्ञहरूको सहयोगमा आधुनिक गुरुयोजना तयार गरिने घोषणापत्रमा उल्लेख छ । जनकपुरलाई अन्तर्राष्ट्रिय पर्यटन र अध्यात्मिक केन्द्रको रूपमा विकास गर्ने, विमानस्थललाई सुरुमा क्षेत्रीय र पछि अन्तर्राष्ट्रिय आधुनिक विमानस्थलको रूपमा स्तरोन्नति गर्ने राजपाको संकल्प छ । ‘वीरगञ्जलाई आधुनिक सहरको रूपमा विकास गर्दै यसलाई बैंकिङ, बिमा, शेयर कारोबार र अन्तर्राष्ट्रिय व्यापारको केन्द्र बनाउने, नयाँ उद्योगहरू खोल्न निजी क्षेत्रलाई आकर्षित गर्ने सेवा, सुविधा र छुटको योजना बनाइने, वीरगञ्जलाई विश्वका अन्य व्यापारिक र आर्थिक कारोबार हुने सहरहरूसँग सरकारी स्तरमै जोडिने छ,’ घोषणापत्रमा भनिएकोे छ ।
विराटनगर, भैरहवा र नेपालगञ्ज नेपालको आर्थिक विकासको मेरुदण्ड रहेको भन्दै राजपा नेपालले निर्वाध विद्युत आपूर्ति, औद्योगिक विकासको व्यवस्थापन, औद्योगिक सडकको निर्माण एवं स्तरोन्नति, श्रमिक विकास, प्राविधिक प्रशिक्षण र राजनीतिक हस्तक्षेपको समाप्ति गर्ने जनाएको छ । त्यस्तै राजपाले राजविराज, सिरहा, जलेश्वर, मलंगवा, गौर, कलैया, नवलपरासी, तौलिहवा, नेपालगञ्ज, तुलसीपुर, गुलरिया र महेन्द्रनगरमा एकीकृत सहरी विकास कार्यक्रम लागू गरी आधुनिक सहरको निर्माण गर्ने उल्लेख गरेको छ । सूचना प्रविधि र इन्टरनेटको सेवा उपलब्ध नभएका वा गुणस्तरीय नभएका ठाउँहरूमा सुलभ र सस्तो इन्टरनेट सेवा उपलब्ध गराउने, सरकारी र सार्वजनिक रुपमा सञ्चालित माध्यमिक, उच्च माध्यमिक एवं व्यावासायिक शिक्षा केन्द्रहरूमा निःशुल्क इन्टरनेटको व्यवस्था गर्ने राजपाको घोषणा छ । हरेक वर्ष तराई–मधेसको समथर मैदानमा आउने बाढीको स्थायी समाधानका लागि वैज्ञानिक योजना बनाएर बाँध र कल्भर्ट निर्माण गर्ने योजना पार्टीको छ । वर्षा यामको पानीको उचित निकास, चुरेभावरको प्रभावकारी संरक्षण एवं व्यापक वृक्षारोपणको कार्यक्रम सञ्चालन गर्ने र तराई मधेसको नागरिकलाई प्रकोपबाट सधैंका लागि मुक्त गर्न सशक्त कार्यक्रम सञ्चालन गर्ने उसको प्रतिबद्धता छ । उच्च शिक्षा र वैदेशिक रोजगारमा जान चाहने युवाहरूका लागि धरौटीसहित ऋण उपलब्ध गराउने, बैंक र वित्तीय संस्थाहरूलाई कुल ऋण प्रवाहको कम्तिमा एक प्रतिशत युवाहरूको नयाँ कारोबारमा लगानी गर्नुपर्ने व्यवस्था गर्ने उल्लेख छ ।
वैदेशिक लगानी र नीजि क्षेत्रलाई प्रोत्साहन
राजपाले आफ्नो घोषणापत्रमा वैदेशिक लगानी आकर्षण र निजी क्षेत्रलाई प्रोत्साहित गर्ने जनाएको छ । त्यसका लागि विधिको शासन, नीतिगत स्थिरता, प्रभावकारी अनुगमन, वैदेशिक लगानीको वातावरण निर्माण, राजनीतिक हस्तक्षेपबाट मुक्ति र यथेष्ट प्रोत्साहन प्रदान गर्दै निजी क्षेत्रको विकास, विस्तार र राष्ट्र निर्माणमा योगदान गर्ने सहज स्थितिको सिर्जना गर्ने प्रतिबद्धता राजपाले घोषणापत्रमार्फत जनाएको छ ।

दुलहीलाई सुनको मंगलसूत्र
राजपाले आफ्नो घोषणापत्रमै प्लस टु पढेका र उमेर पुगेर विवाह गर्ने महिलालाई आधा तोला सुनको मंगलसूत्र दिने घोषणा गरेको छ । प्रदेश र प्रतिनिधिसभा चुनावका लागि जारी गरिएको घोषणापत्रमा उल्लेख छ, “कम्तिमा १० जोड २ सम्मको शिक्षा प्राप्त गरेका र उमेर पुगेका विवाहयोग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मंगलसूत्र वा सो बराबरको रकम प्रदान गरिनेछ ।” त्यस्तै राजपाले महिलाका लागि हरेक उच्च शिक्षा निःशुल्क गर्ने बताएको छ ।

दिर्घकालिन मुद्दति खाता
राजपाले नवजात बालिका जन्मनासाथ उसको सुरक्षित भविष्यका लागि आमाको संरक्षकत्वमा बालिकाको नाममा दीर्घकालीन मुद्दति खाता खोल्ने घोषणा गरेको छ । सो खाताका लागि १० हजार रुपैयाँ अनुदान दिने राजपाको घोषणा छ । यो रकम बालिका १८ वर्ष पुगेपछि आवश्यकता अनुसार व्याजसहित एकमुष्ट प्रयोग गर्न सकिने जनाइएको छ । “महिलाको लागि हरेक उच्च शिक्षा निःशुल्क गर्ने, हरेक नवजात बालिका जन्मनासाथ उसको सुरक्षित भविष्यका लागि आमाको संरक्षकत्वमा बालिकाको नाममा १० हजार रुपैयाँ अनुदान दीर्घकालीन मुद्दति खाता खोली बैंकमा जम्मा गरिनेछ, जुन बालिका १८ वर्ष पुगेपछि आवश्यकता अनुसार ब्याजसहितको एकमुस्ट रकम प्रयोग गर्न सक्नेछन्,’ घोषणापत्रमा उल्लेख छ ।

सहिद परिवारलाई ५० लाख
राजपाले मधेश आन्दोलनमा मारिएकाका परिवारलाई ५०–५० लाख रुपैयाँ दिने घोषणा गरेको छ । घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै राजपा नेता राजेन्द्र महतोले भने, “मधेश प्रदेशको सरकारले सहिद परिवारलाई ५०–५० लाख दिन्छ । ” प्रदेशमा नम्बर २ मा राजपा–संघीय समाजवादी फोरम नेपाल गठबन्धनको सरकार बन्ने पनि उनको दाबी थियो । तर ५० लाख दिने विषय घोषणापत्रमा भने छैन । प्रदेश सरकारमा आउने अवसरमा पनि शहिद परिवारलाई प्राथमिकता दिइने महतोले बताए ।

 

प्रतिक्रिया दिनुहोस्