मृत्युदण्डबाट बचाउन रोल्पाबाट सहयोग «

मृत्युदण्डबाट बचाउन रोल्पाबाट सहयोग

वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा रहेका रोल्पाका दिलबहादुर घर्तीले चलाएको गाडीका कारण साउदी नागरिकको मृत्यु भएपछि साउदी अदालतले मृतकका परिवारलाई ब्लड मनी स्वरुप नेपाली ६५ लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेपछि रोल्पामा दिलबहादुर बचाउ अभियान सुरु गरिएको छ ।
दिलबहादुरका लागि आवश्यक ब्लड मनी संकलन भइसके पनि बचाउ अभियान भने संचालनमा रहेको छ । उक्त मुद्दामा विगत ३ वर्षदेखि साउदी अरबको जेलमा रहेका रोल्पा नगरपालिका–१० धबाङका घर्तीको ७५ प्रतिशत गल्ती देखाउँदै त्यहाँको अदालतले २ लाख २५ हजार रियाल अर्थात् (नेपाली करिब ६५ लाख) बुझाउनु पर्ने फैसला गरेको छ । उक्त ६५ लाख रकम तिर्न नसके घर्तीलाई मृत्युदण्ड हुने भएकाले परिवारको आग्रहमा वाईसीएल रोल्पाको पहलमा दिल बहादुर घर्ती बचाउन अभियान सुरु गरिएको हो ।
रोल्पाको लिवाङमा पत्रकार सम्मेलन गरी वाईसीएल रोल्पाले १ लाख १ हजार रुपैयाँ खातामा जम्मा गरी अभियान सुरु गरिएको वाईसीएल रोल्पाका अध्यक्ष रितमान पुनले जानकारी दिए । अभियान मार्फत ३ महिनाभित्र ब्लड मनी स्वरुपको रकम संकलन गरी घर्तीलाई नेपाल फर्काउने उद्देश्यका साथ अभियानलाई तिब्र बनाइने पुनले बताए ।

प्रतिक्रिया दिनुहोस्