पोखरा–बागलुङ सडक विस्तार सुरु «

पोखरा–बागलुङ सडक विस्तार सुरु

पोखरा–बागलुङ सडक विस्तार र सुधार गर्नका लागि दैनिक साढे छ घण्टा सडक बन्द गरी काम सुरु गरिएको छ ।
सडक फराकिलो बनाउने क्रममा कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्ने गिरिचोकदेखि नयाँपुल बजार खण्डमा शनिबारदेखि दैनिक छ घण्टा सडक बन्द गर्न थालिएको हो ।
आयोजनाको घट्टेखोलादेखि नयाँपुल खण्डमा सडक फराकिलो पार्ने काम गरिरहेको एपेक्स कन्ट्रक्सन कम्पनी प्रालिले बिहान ७ बजेदेखि ८.३० बजेसम्म डेढ घण्टा बन्द गर्र्दै आएको छ भने बिहान नै ९.३० देखि १०.३० सम्म १ घण्टा बन्द गर्न थालिएको छ । दिउँसो १२.३० देखि २ बजेसम्म र ३ बजेदेखि ५ बजेसम्म सडक बन्द गरिएको छ । दिनमा चारपटक गरी ६ घण्टा बन्द गरिए पनि यात्रुको चाप र काम हेरेर बीचमा पनि छाड्ने गरिएको कम्पनीका साइट इन्चार्ज काशीराज बोहोराले बताए ।
मध्यपहाडी सडक आयोजना कार्यालयसँंग समन्वय गरेर सडक बन्द गरिएको उनले जानकारी दिए । कास्कीको गिरिचोकदेखि नयाँपुलसम्म झण्डै २ किमि सडक क्षेत्रमा साँघुरो सडक काम बन्द नै गरेर फराकिलो पार्नुपर्ने बाध्यता रहेको बोहोराको भनाइ छ । “आयोजनासँंग समन्वय गरी यात्रु र सवारी सधानलाई मर्का नपर्ने गरी बन्द गरेका छौं,” उनले भने, “बीचमा छ घण्टा भने पनि अहिले बढीमा दुई घण्टामात्रै काम गर्न सकिएको छ,” उक्त खण्ड फराकिलो बनाउन झण्डै १ महिना लाग्ने भएकाले त्यस अवधिमा यातायात बन्द हुनेछ । गिरिचोकबाट झोबाङ हुँदै नयाँपुल झर्ने वैकल्पिक सडकमा पनि सवारीसाधन चलेका कारण ठूलो मर्का नपर्ने र साना सवारी साधनलाई बीचबीचमा छाड्ने ब्यवस्था मिलाइएको उनले जानकारी दिए ।
मध्यपहाडी सडक आयोजना पश्चिम खण्डका सिनियर डिभिजन इन्जिनियर रमेशकुमार दृष्टिले भने पूर्व सूचनाबिना नै बन्द भन्दा पनि केहीबेर सवारी रोकेर काम गरिएको बताए । सडक बन्द गर्ने निर्णय गर्न स्थानीय प्रशासन, सरोकारवालासहितको बैठक बसेर निर्णय गर्नुपर्ने भए पनि अहिले निर्माण कार्य पनि हुने र कसैलाई लामो समय रोकिनु पनि नपर्ने गरी काम गर्न निर्देशन दिएको बताए । “इमर्जेन्सी भएको अवस्थामा सडक बन्द नगरी सवारी साधन वारपार गराउन भनेका छांै,” उनले भने, “पछि बैठक नै बसेर समय तालिका बनाउँछौं ।”
कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले भने सडक बन्द गर्ने औपचारिक निर्णय नभएको बताउँदै निर्माण कार्यको आवश्यकतालाई हेरेर आयोजनाले काम अगाडि बढाएको होला भनेर अनभिज्ञता प्रकट गरे । “के भएको छ, म बुझ्छु,” उनले टेलिफोनमा संक्षिप्त प्रतिक्रिया दिए । सडक निर्माण गर्दा पूर्व सूचना गरी स्थानीय सरोकारवालासहितको सहमतिमा गर्नुपर्ने हुन्छ ।
मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किमि लामो राजमार्गलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मत सम्भार तीव्र पारिरहेको छ । लोकमार्ग पूरै नयाँ स्वरुपमा विस्तार र स्तरोन्नति गर्न चारवटा प्याकेज बनाएर काम भइरहेको छ । मध्यपहाडी सडक आयोजनाले दिएको जानकारीअनुसार तीन वर्ष पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पूरै नयाँ बन्नेछ । २०५० सालमा निर्माण सम्पन्न भएको सडकका धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारी साधनको चाप बढेका कारण साँघुरो सडकमा ठाउँठाउँमा जामसमेत हुने गरेको थियो । साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी सञ्चालनमा समेत जोखिम बढेको थियो ।
आयोजनाका अनुसार पोखराको जिरो किलोमिटरदेखि याम्दीसम्म ६ किमि पहिलो र त्यसपछि घट्टेखोलासम्मको खण्ड दोस्रो भागमा पर्नेछ । घट्टेखोलादेखि नयाँपुलसम्मको करिब २५ किमिलाई तेस्रो खण्डमा र नयाँपुलदेखि पर्वतको मालढुंगासम्मको खण्ड (२४ किमि) लाई अर्काे खण्डमा बाँडेर मर्मतसम्भार र विस्तार गर्न थालिएको छ । जिरो किमिदेखि याम्दीसम्म ६ लेनको सडक तयार हुनेछ । केही खण्ड पूरा भइसकेको छ । त्यसपछि फेदीसम्म पनि ६ लेनको सडक बन्नेछ । फेदीदेखि मालढुंगासम्म ९ मिटर फराकिलो सडक बन्ने छ । करिब ७ मिटर फराकिलो सडकलाई २ मिटर विस्तार गरी ९ मिटर फराकिलो बनाइने छ । यो सडक विस्तार र स्तरोन्नति गर्न करिब ३ अर्ब ३२ करोड रुपैयाँ लागत पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्