छिटो न्याय दिनेगरी काम गर्छु : प्रधानन्यायाधीश «

छिटो न्याय दिनेगरी काम गर्छु : प्रधानन्यायाधीश

काठमाडौंः नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले छिटो न्याय दिनेगरी काम गर्ने बताएका छन् । सोमबार पदभार ग्रहण गर्दै प्रधानन्यायाधीश पराजुलीले न्याय दिने प्रणालीलाई छिटो र कम खर्चिलो बनाउने बताएका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा पद तथा गोपनियताको शपथ  गराएलगत्तै सर्वोच्च अदालत पुगेर उनले प्रधानन्यायाधीशको पदभार ग्रहण गरे । “जता गयो त्यतै गुनासो छ, न्याय ढिला भयो भन्ने । ढिला न्याय दिनु भनेको न्याय नदिनुसरह हो ।

संविधानले दिएको जिम्मेवारीभित्र रहेर काम गर्नेछु,” पदभार ग्रहण गर्दै उनले भने, “अनलाइनबाटै म्याद तामेली, तारेख कम खर्चमा गर्न सकिने र कसरी न्यायिक सुधार गर्न सकिन्छ भन्नेतर्फ पनि सोचेको छु ।” 

व्यवस्थापिका–संसद्को संसदीय सुनुवाइ विशेष समितिले आइतबार प्रस्तावित प्रधानन्यायाधीशमा पराजुलीको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो । आफूले न्यायिक सुधारसम्बन्धी ३९ बुँदे कार्ययोजना तय गरेको र सोहीअनुसार काम गर्ने पनि उनले बताए ।

गत जेठ २४ देखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका पराजुली आइतबार प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमोदन भएका थिए । उनी ०७५ वैशाख १५ गतेसम्म प्रधानन्यायाधीशको जिम्मेवारीमा रहनेछन् ।  

प्रतिक्रिया दिनुहोस्