ओराङवासी ३ वर्षपछि टहरोबाट पक्की घरमा «

ओराङवासी ३ वर्षपछि टहरोबाट पक्की घरमा

विगू गाउँपालिका–२ ओराङमा भूकम्पले भत्केका सबै घर बनेका छन् । पक्की घर बनेसँगै भूकम्पपीडितहरू ३ वर्षपछि टहरोबाट घरमा सरेका छन् ।
३ वर्षअघि भूकम्पले भत्केका घर पुनर्निर्माण गर्नेमा साविकको ओराङ गाविस हालको विगू–३ नै बनेको स्थानीयको दाबी छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार ५६५ घरधुरी पहिचान भएको छ । त्यसमध्ये हालसम्म ५६० घर निर्माण पूरा भई तेस्रो किस्तासमेत बुझिसकेका छन् । प्राधिकरणको अनुदान कार्यविधि अनुसार घर निर्माण पूरा भई बस्न योग्य भएपछि मात्र इन्जिनियर र स्थानीय वडा कार्यालयको सिफारिसपछि मात्र तेस्रो किस्ता लिन योग्य हुन्छ ।
विगू गाउँपालिकाको ओराङ र बुलुङमा प्राधिकरणको अनुमतिमा निजी आवास पुनर्निर्माणमा कारितासनामक एक गैससले सहयोग गर्दै आएको छ । सरकारको अनुमतिमा सामान ढुवानीका लागि सरकारले उपलब्ध गराउँदै आएको ३ लाखमा कारितासले थप ५० हजारसमेत लाभग्राहीलाई उपलब्ध गराएको छ ।
कारितास नेपालको ओराङका एसिया संयोजक शम्भु ठकुरीले स्थानीय गाउँमा भएका लाभग्राहीहरू सबैले घर निर्माण पूरा गरेको जानकारी दिए । लाभग्राहीको सूचीअनुसार ५६५ जनाले पहिलो किस्ता बुझे पनि प्राविधिक कारणले ५ जनाले घर निर्माण नगरेको उनले बताए । उनका अनुसार २ जना एकल लाभग्राहीको मृत्यु भइसकेको २ जना सम्पर्कविहीन भएको र एकजना विदेश भएकाले उनीहरूको घर नबनेको उनले बताए । मृत्यु हुने लाभग्राहीको एकजनाको आफन्त कोही दाबी गर्न नआएको र एकजनाको आफ्ना परिवारका सदस्य छुट्टिएको उनले बताए । अन्य ३ जनाका लागि पनि ताकेता जारी राखेको छ ।
पुनर्निर्माण प्राधिकरणका अनुसार दोलखाको सबैभन्दा धेरै घर ओराङमै बनेको पुष्टि गरेको छ । भवन डिभिजन कार्यालय चरिकोटका प्रमुख इन्जिनियर एकराज अधिकारीले लाभग्राही मध्ये घर बनिसकेको साविकको गाविसमा ओराङ नै देशमै पहिलो हुनसक्ने उनले दाबी गरे ।
दोलखाको ९ स्थानीय तहमध्ये विगू गाउँपालिकाको २ र ३ (साविकको ओराङ र बुलुङ गाविस) सम्पूर्ण घर निर्माणका लागि अनुदान र प्राविधिक सहयोगको जिम्मा कारितास नेपालले लिएको छ । कारितासले दुवै वडामा छुट्टाछुट्टै फिल्ड कार्यालयसमेत राखेर घर बनाउन डकर्मी सिकर्मी तालिम, प्राविधिक परामर्श, निरीक्षण, नक्सा तयारी लगायतका काम गर्दै आएको छ । त्यही कामलाई पुनर्निर्माण प्राधिकरणबाट खटिएका इन्जिनियरहरूले अनुगमन गरी किस्ताका लागि सिफारिस गर्छ ।
विगू गाउँपालिका–२ का वडाध्यक्ष कृष्ण ठकुरीले लाभग्राहीको नाम भए जतिको घर बने तापनि अझै ११५ जनाको गुनासोको सुनुवाइ हुन बाँकी रहेको जानकारी दिए । गुनासो सुनुवाइ भएर थप हुनेहरूको पनि पछि कारितासले नै घर बनाई दिनुपर्ने उनले माग गरे ।
कारितास नेपाल दोलखाका संयोजक दलबहादुर शाहीले पहिलो गुनासोबाट थप भएका २५० को निजी आवास बने पनि दोस्रो गुनासोबाट नाम थप भए त्यसको पनि सुनुवाइ हुने बताए । अहिले ओराङको सबै घर बनेको र बुलुङको पनि ९५ प्रतिशत घर बनेको बताए । जेठको दोस्रो सातासम्ममा बुलुङका पनि सबै घर तयार हुने उनले दाबी गरे ।
कारितास नेपालले भूकम्प परिचय पत्रका आधारमा लक्ष्मी बैंकमा खाता खोलिदिएको छ । त्यसवापत पहिलो किस्ता लिंदै एटीएम कार्ड नै उपलब्ध गराएको छ । दोस्रो र तेस्रो किस्ता लिन आउँदा भूकम्पपीडितलाई दिएको एटीएम कार्ड नं. र नागरिकता नं. राखेर बैंकका कर्मचारीले रुजु गरी सम्बन्धित लाभग्राहीको मेसिनमा औंठा छाप लगाएर पक्का भएपछि रकम पाउँछन् ।
लक्ष्मी बैंकको सिंगटीमा शाखा नभए तापनि बैंकको आफ्नो सहायक कम्पनी लक्ष्मी लघुवित्तमार्फत रकम वितरण गर्दै आएको छ । रकम लिनका लागि लाभग्राहीहरूका लागि कारितासका कर्मचारीसमेत आफैं बसेर सहयोग गरेका छन् ।

दिलबहादुर केसी

प्रतिक्रिया दिनुहोस्