Logo

सिन्धुलीका सहकारीमा १० अर्ब लगानी

सिन्धुली- सिन्धुली जिल्लामा सहकारी संस्था खुल्ने क्रम बढ्दै गएको छ । गत वर्षसम्म ४ सय ८५ वटा सहकारी रहेको सिन्धुलीमा यस वर्ष त्यो संख्या ह्वात्तै बढेर ५ सय ९ पुगेको छ ।
सहकारीप्रतिको बढ्दो आकर्षणले गर्दा जिल्लामा विभिन्न प्रकृतिका सहकारी संघसंस्था स्थापना भई सञ्चालनमा रहेका छन् । ती सहकारीले विभिन्न उत्पादनमूलक र सेवामूलक क्षेत्रमा लगानी समेत बढाउँदै गएका छन् ।
जिल्ला सहकारी संघ, सिन्धुलीका अनुसार जिल्लामा हालसम्म ५ सय ९ वटा सहकारीले १० अर्बभन्दा बढी लगानी गरेको जनाएको छ । जिल्लामा सञ्चालित सहकारी संस्थाको कुल बचत ९ अर्ब ८२ करोड रुपैयाँ छ भने सहकारीको सेयर पुँजी १ अर्ब ११ करोड रुपैयाँ रहेको जिल्ला सहकारी संघ, सिन्धुलीका अध्यक्ष कृष्णराज केसीले जानकारी दिए ।
जिल्लामा करोडभन्दा बढी कारोबार गर्ने सहकारीहरू दर्जनको हाराहारीमा सञ्चलानमा छन् । सहकारीको क्षेत्रमा अहिले सिन्धुली क्रमिक रूपमा अगाडि बढ्दै गएको देखिन्छ ।
जिल्लामा रहेका ५ सय ९ सहकारी संस्थामध्ये सबैभन्दा बढी कृषि सहकारी संस्था र दोस्रोमा बचत तथा ऋण सहकारी संस्था रहेको संघले जनाएको छ । जिल्लामा कृषि सहकारी संस्था मात्रै २ सय ६७, बचत तथा ऋण सहकारी संस्था १ सय ४० र बहुउद्देश्य २२ वटा छन् भने बाँकी तरकारी तथा फलफूल, मौरी, दुग्ध र जडीबुटी सहकारी संस्था रहेको संघका अध्यक्ष केसीले जानकारी दिए । जिल्लामा ६ वटा विषयगत संघ र एक जिल्ला संघ गरी ७ वटा संघ छन् ।
सहकारी संस्था खुल्ने क्रम बढेसँगै रोजगारी पनि सिर्जना भएको छ । सहकारीबाट सिन्धुलीका झन्डै ४ सय जना युवाले रोजगारी पाएका छन् ।
सहकारी संस्थाले दिने सहुलियत ऋण तथा अनुदानका कारण जिल्लाका व्यापारी, व्यवसायी तथा स्थानीयको सहकारीमा आकर्षण बढ्दै गएको छ ।
सहकारी संस्थाले घरदैलोमै पुगेर बचत संकलन गर्ने, सदस्यहरूले व्यवसाय सञ्चालन गर्नका लागि बिनाधितो सहजै ऋण पाउन सकिने भएका कारण उनीहरूको सहकारीमा आकर्षण बढेको हो ।
किसानहरूलाई सहुलियत दरमा ऋण दिनुका साथै कृषि र पशुपालनमा विभिन्न अनुदान र विद्यार्थीको शिक्षामा समेत सहयोग गरिरहेको छ । आवश्यक परेका बेला समयमा ऋण खोज्दा नपाइने समस्याबाट स्थानीय मुक्त भएका छन् । संस्थाको सदस्य भएपछि आवश्यक परेको कर्जा पाइने र जुनसुकै व्यवसाय सञ्चालन गर्न सहज भएको सहकारीका सदस्यहरू बताउँछन् ।
सहकारीमा सदस्य भएपछि कतिपयले आफ्नो जीवनमा निकै परिवर्तन आएको बताएका छन् । जिल्लाका अधिकांश सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्ने गरेकाले लगानीसमेत डुब्ने डर कम रहने सहकारी सञ्चालकहरू बताउँछन् । सदस्यहरूले कर्जा लिदाँ बैंकको तुलनामा कम ब्याज तिर्नुपर्ने र बिनाधितो कर्जा दिने भएकाले सहकारीको लोकप्रियता दिन–प्रतिदिन बढ्दै गएको छ ।
अहिले सहरमा मात्र नभएर गाउँमा पनि सहकारीको आकर्षण बढ्दो छ । विशेष गरी सहर र सदरमुकाममा केन्द्रित रहेको सहकारी अहिले स्थानीय तह भएसँगै गाउँगाउँमा समेत विस्तार हुन थालेको छन् ।

कृञ्जला पुलामी

प्रतिक्रिया दिनुहोस्