Logo

आँखा प्रतिष्ठानलाई १० करोड अनुदान

सरकारले तीलगंगा आँखा प्रतिष्ठानलाई रु १० करोड अनुदान उपलब्ध गराएको छ । 
‘नेपाल आँखा कार्यक्रम’ले उत्पादन गर्दै आएको मोतियाबिन्दुको शल्यक्रियापछि राखिने इन्ट्रअकुलर लेन्स उत्पादन क्षमता अभिवृद्धि गर्न सो अनुदान उपलब्ध गराएको हो । 
उद्योग, वाणिज्य तथा अपूर्ति मन्त्री मातृकाप्रसाद यादवले मन्त्रालयमा आज आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा प्रमुख प्राडा सन्दुक रुइतलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरे। कार्यक्रममा मन्त्री यादवले मोतियाबिन्दुको शल्यक्रियापछि राखिने लेन्स उत्पादन गरी विश्वका विभिन्न मुलुकमा निर्यात गरी व्यापार घाटालाई कम गर्न महत्वपूर्ण सहयोग पुग्ने बताए । 
सरकारका तर्फबाट प्रतिष्ठानलाई आवश्यक सहयोग गर्ने विश्वास दिलाउँदै उहाँले निर्यात प्रवद्र्धन गर्ने सबै प्रकारका उद्योगलाई सरकारले सहयोग गर्ने बताए । 
मन्त्रालयका वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले लेन्स उत्पादन गरी निर्यात गर्ने क्षमता अभिवृद्धिका लागि अनुदान सहयोग गरेको बताए । 

प्रतिष्ठानका प्रमुख रुइतले मन्त्रालयबाट प्राप्त सहयोगले प्रतिष्ठानको उत्पादन क्षमता अभिवृद्धि गर्ने र निर्यातलाई बढाउने विश्वास दिलाउँदै आगामी दिनमा सरकारबाट सहयोग प्राप्त भइरहने अपेक्षा गर्नुभयो । 

प्रतिष्ठानबाट उत्पादन भएका चार प्रकारका लेन्स चार लाखदेखि पाँच लाखसम्म उत्पादन हुँदै आएको छ । उत्पादित लेन्सलाई विश्वको ३५ देशमा निर्यात गर्दै आएको छ भने सबैभन्दा बढी चीन, थाइल्याण्ड र पाकिस्तानबाट माग हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्