जगदीशको जग रामेछाप «

जगदीशको जग रामेछाप

रामेछाप जिल्लाको विकास निर्माणका अभियान्ताका रुपमा स्व. जगदिश घिमिरेलाई लिन सकिन्छ । गैरसरकारी संस्था महासंघका केन्द्रीय संस्थापक अध्यक्षसमेत बनिसकेका घिमिरेले ३ दशकअघि रामेछापमा तामाकोसी सेवा समिति नामक गैरसरकारी संस्था स्थापना गरी गाउँगाउँमा खानेपानी, स्वास्थ्य, शिक्षा, सिँचाइ र सहकारीको क्षेत्रमा ठूलो योगदान दिएका थिए । अन्तर्राष्ट्रिय दातृ संस्थाको जागिर छाडेर बेलायतबाट स्वदेश फर्केका घिमिरे आफ्नो जन्मभूमि फर्केर महिला, बालबालिका, दलित जनजातिको हक अधिकारको क्षेत्रमा र उनीहरूको जीवनस्तर उकास्ने खालका काम सुरु गरे । गाउँका मानिसको लगानी नपरी तयार भएका संरचना बलिया हुँदैनन् भनी उपभोक्ता समिति निर्माण गरी काम गर्ने सुरुवात उनैले गरे त्यो अहिले नेपालभरका विकास निर्माणका साना लगानीका योजनामा उपभोक्ता समिति गठन गरी कार्यान्वयन गर्ने ब्यवस्था लागू भएको छ ।
विसं २०३९ सालदेखि उनले यी क्षेत्रमा काम गरेका हुन् । उनले गाउँका गरिबले साहु महाजन कहाँ गएर चर्को ब्याजमा ऋण गरी आप्mनो समस्या टार्ने गरेको थाहा पाएपछि सहकारीको अवधारणा ल्याए, जुन सहकारीको अवधारणाअन्तर्गत अहिले प्रत्येक गाउँपालिका र नगरपालिकाको वडामा सहकारी संस्थाहरू सञ्चालनमा छन् । उनको अगुवाइमा सञ्चालनमा रहेको मन्थली बचत तथा ऋण सहकारी संस्था रामेछाप जिल्लाकै सबैभन्दा ठूलो र उत्कृष्ट सहकारीका रूपमा परिचित छ । करिब ७ हजार सेयर सदस्य रहेको उक्त सहकारीमा आप्mनो आम्दानीबाट बचेको रकम जम्मा गर्ने र त्यसबाट आवश्यक परेको बेला ऋण निकालेर आफ्नो आवश्यकता टार्न रामेछापेलीलाई सहज भएको छ ।
गाउँमा झाडापखाला लाग्दा जीवनजल र ज्वरो आउँदा सिटामोल खान नपाएर मानिसहरू मर्ने क्रम बढेपछि उनले गाउँगाउँका स्वास्थ्य चौकीमार्फत निःशुल्क जीवनजल र सिटामोल बाँड्न थाले । जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्छ भन्ने अभिप्रायका साथ जिल्ला सदरमुकाम मन्थलीमा तामाकोसी सहकारी अस्पताल सञ्चालनमा ल्याए । २०४२ सालमा सामान्य स्वास्थ्य केन्द्रबाट सुरु गरिएको यस अस्पताल हाल २० शैयाको अस्पतालमा परिणत भई सामान्य शल्यक्रिया सेवासमेत उपलब्ध छ । यो अस्पताल सरकारी अस्पतालभन्दा बढी सुविधा सम्पन्न छ । जिल्ला अस्पताल रामेछाप डाँडामा रहेको र मन्थलीमा प्राथमिक स्वास्थ्य केन्द्रमात्र भएकाले पनि जिल्ला अस्पतालले दिन नसकेका सेवा दिएर रामेछापवासीलाई राम्रो सेवा दिइरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक रूपमा आउने बिरामीको तुलनामा तेब्बर बिरामी यस अस्पतालमा आएर उपचार गराउने गर्दछन् ।
शिक्षाअन्तर्गत उनले दलित र विपन्न बस्तीमा रहेका विद्यालय मर्मत गरिदिने, फार्निचरको ब्यवस्था गरिदिने र कम शिक्षक शिक्षिकाका कारण गुणस्तरीय पठन पाठन हुन नसकेको आधारभूत विद्यालयमा थप शिक्षक राखेर पठन पाठनलाई गुणस्तरीय बनाउने कामको थालनी पनि गरे ।
रामेछाप जिल्ला सुख्खाग्रस्त जिल्ला पनि हो । यहाँका धेरै गाउँपालिकाका वडा र नगरपालिकाका वडामा खानेपानीको हाहाकार बढ्दै गइरहेको छ । दुइ दशक अगाडि साविकका २८ वटा गाविसमा उनले खानेपानीको योजना सञ्चालनमा ल्याए । सँगै सञ्चालनमा आएका सरकारी निकायअन्तर्गतका अन्य गाविसका योजना २/३ वर्षसम्म पनि टिकेनन् तर उनीमार्फत सम्पन्न भएका कतिपय योजना अझै पनि सुचारु छन् ।
सिँचाइको क्षेत्रमा पनि उनले निक्कै काम गरे । ताजा तरकारी उत्पादन गरी आफूले खाएर बढी भएको बिक्री वितरणसमेत गर्नुपर्छ भन्ने अभियान चालेका घिमिरेले विभिन्न गाउँमा प्लास्टिक पोखरी बनाइदिए, वर्षात्को पानी संकलन गर्ने प्रविधि सिकाए र ठाउँठाउँमा सिँचाइ टयांकी निर्माण गरिदिएर गाउँमा ९८ वटा साना तथा मझौला सिँचाइ योजना निर्माण गरी सिँचाइ सुविधा पु¥याइदिएका छुन् । त्यसबाट कृषकलाई नजिकका खेत बारीमा सिँचाइ गरी मौसमी र बेमौसमी तरकारी उत्पादन गर्ने सिजनअनुसारका कृषि उपज तयार पार्ने कामममा असाध्यै सजिलो भएको छ ।
सडक निर्माणका लागि पनि उनले राम्रो सल्लाह दिए, पर्यावरण नबिग्रने गरी उपभोक्ता समितिमार्फत काम गरी अधिकांश गाउँका मानिसलाई फाइदा हुने किसिमका सडक निर्माण गर्नुपर्छ भन्ने उनको मूल मन्त्र थियो ।
जथाभावी दिसा पिसाब गर्नु हुँदैन जसका कारणले रोग लाग्छ भनी उनले गाउँमा सिमेन्ट रड, टवाइलेट प्यान पाइप र जस्ता दिएर शौचालय निर्माणका लागि सहयोग गरे । उनले दुई दशक अघिदेखि थालेको शौचालय निर्माणको अभियानले हाल जिल्लाका ८ वटै स्थानीय तह खुल्ला दिसामुक्त घोषणा भइसकेका छन् भने रामेलाछापलाई खुल्ला दिसामुक्त जिल्ला घोषणाको तयारीका लागि ठूलो सहयोग पुगेको छ ।
२००२ साल चैत २ गते जन्मिएर सामाजिक, साहित्यिक एवं बहुमुखी प्रतिभाका धनिका रूपमा चिनिएका घिमिरेको २०७० कात्तिक १४ गते माइलोमा रोगका कारण ६८ वर्षमै मृत्यु भएको थियो । उनले बाचुन्जेल जेजति काम गरे ती काम रामेछापको दिगो विकासका लागि उदाहरणीय बनेका छन् ।
रामेछाप जिल्ला सहिद गंगालाल, कम्युनिष्टका संस्थापक पुष्पलाल र मकैखेतका लेखक कृष्णलाल जन्मिएको ठाउँ भएकाले ३ लालको जिल्ला भनिन्छ । रामेछापको विकासको अभियान्ता स्व. घिमेलेलाई चौथो लालका रूपमा लिई चार लालको जिल्ला भनेर राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चिनाउनु पर्ने माग जिल्लावासीले गरिरहेका छन् ।
रमेश ढुंगेल

प्रतिक्रिया दिनुहोस्