महत्वाकांक्षी परियोजना शीघ्र सम्पन्न गर्दै एनआरएनए «

महत्वाकांक्षी परियोजना शीघ्र सम्पन्न गर्दै एनआरएनए

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माणाधिन भवन, एनआरएन शंखमूल पार्क र लाप्राक नमुना बस्तीलगायत महत्वाकांक्षी परियोजना यथाशिघ्र सम्पन्न गर्ने गरी २ वर्षे कार्ययोजना सार्वजनिक गरेको छ । नयाँ कार्यसमितिले लामो समयदेखि निर्माणमा रहेका परियोजना समयमा सम्पन्न गर्न नयाँ योजना सुरु गर्ने जनाएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माणाधिन भवन, एनआरएन शंखमूल पार्क र लाप्राक नमुना बस्तीलगायत महत्वाकांक्षी परियोजना यथाशिघ्र सम्पन्न गर्ने गरी २ वर्षे कार्ययोजना सार्वजनिक गरेको छ । नयाँ कार्यसमितिले लामो समयदेखि निर्माणमा रहेका परियोजना समयमा सम्पन्न गर्न नयाँ योजना सुरु गर्ने जनाएको छ । एनआरएनएको नयाँ कार्यसमितिले विगतका कार्यकालमा भएका कार्यहरूको समीक्षा, संस्थागत सुधारलगायत अन्य सरोकारका विषयमा विस्तृत छलफल गर्दै आगामी २ वर्ष गर्नुपर्ने कार्यहरूको योजना तर्जुमा गरेकोे हो । नयाँ कार्यसमितितिको समीक्षा बैठक ३ दिनसम्म सञ्चालन भएको थियो । नयाँ कार्यसमितिले विगतदेखि नै हँदै आएका निर्माणाधिन भवन, एनआरएन शंखमूल पार्क र लाप्राक नमुना बस्ती परियोजनाका बारेमा समीक्षा गरेर सो निर्माण र विकासका लागि अझ गतिशिल भएर काम गर्ने जनाएको छ । यसअन्तर्गत ती परियोजनाहरूका कार्य प्रगतिबारे ठेकेदार र परामर्श दाताबाट जानकारी लिएको एनआरएनएले जनाएको छ । पहिलो दिनको समीक्षा गोष्ठी नेपाल उद्योग वाणिज्य महासंघमा र दोस्रो दिनको समीक्षा गोष्ठी काभ्रेको धुलिखेल माउन्टेन माउण्टेन रिसोर्टमा गरिएको थियो । दोस्रो दिनको पहिलो सत्रमा संघको सदस्यता परिचयपत्र, सूचना प्रणालीको डेटाबेस र विगतका समितिहरू, उपसमितिहरू र कार्यदलका कार्यहरूलगायत संस्थागत र आन्तरिक विषयहरूमा छलफल भएको थियो । संघका अध्यक्ष भवन भट्टको सभापतित्वमा ३ दिनसम्म सञ्चालन भएको बैठकले १७ बँुदे कार्ययोजना सार्वजनिक गरेको छ । सो बैठकमा वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, पूर्वउपाध्यक्ष रामेश्वर साह एवं पूर्वप्रवक्ता डा. हेमराज शर्मालगायतको उपस्थिति थियो ।नयाँ कार्यसमितिले विगतका कार्यकालमा भएका कार्यहरूको समीक्षा, संस्थागतलगायत अन्य सरोकारका विषयमा विस्तृत छलफल गर्दै आगामी २ वर्ष गर्नुपर्ने कार्यहरूको योजना तर्जुमा गर्न बसेको तीन दिने बैठकको निर्णय हालै पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको थियो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष भट्टले एनआरएनएले नेपाल र नेपालीको हितमा काम गरिरहेको हुनाले सबै सरोकारवालालाई संघसँग हातेमालो गरेर देशको समृद्धिका लागि काम गर्न अनुरोध गरे । “हामीप्रति देश र जनताले धेरै अपेक्षा गरेको विषयलाई बैठकमा छलफल गरी विकसित मुलुकको सीप, ज्ञान, प्रविधि र लगानी ल्याउने अधिकतम प्रयास गरिनेछ,” अध्यक्ष भट्टले भने, “सबै क्षेत्रमा नेपाली एक हात एक साथ भयो भने हाम्रो देश पनि विकास र समृद्धिको बाटोमा छिट्टै जानेछ ।” सो अवसरमा संघका उपाध्यक्ष कुल आचार्यले एनआरएनएले नेपाली लगानी भित्र्याउने भन्दा पनि विदेशी लगानी ल्याउन सहजकर्ताका रूपमा काम गर्ने बताए । यस्तो लगानी समूह र व्यक्तिगत पनि हुन सक्ने उनले जानकारी दिए । सो अवसरमा अर्का उपाध्यक्ष डीबी कार्कीले पनि मन्तव्य राखेका थिए ।बैठकले भूकम्पपीडितका लागि गोरखा जिल्लाको लाप्राकमा ४२ करोडको लगानीमा निर्माण भइरहेको ५ सय ७३ घरसहितको लाप्राक नमुना बस्ती यथाशीघ्र सम्पन्न गर्नका लागि संघका अध्यक्षको नेतृत्वमा एक समिति गठन गरेको छ । यसरी नै बैठकले संघको कार्यालय भवनको पहिलो चरणको कार्य आगामी वैशाखसम्म सम्पन्न गरी सचिवालय आफ्नै भवनबाट सञ्चालन गर्ने तयारीसहित योजना अगाडि बढाउने निर्णय गरेको छ । अधिकार सम्पन्न बागमती सफाइ परियोजनाअन्तर्गत शंखमूलमा निर्माण भइरहेको एनआरएन पार्क आगामी वैशाखसम्म सम्पन्न गर्ने योजनाअनुसार काम भइरहेको पनि सो बैठकपछि आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । यसैगरी संघका अगुवाहरूको नेतृत्वमा नेपालको पूर्वाधार विकासमा उल्लेख्य लगानीको एउटा इन्भेस्टमेन्ट कम्पनी खडा गर्ने निर्णय गरेको छ । यसबारेमा एक महिनाभित्र विस्तृत अध्ययन गरी कार्यक्रम अघि बढाइने जनाइएको छ । वैदेशिक रोजगारीमा जाने समूहलाई लक्षित गरी जनचेतनामूलक सामग्री प्रकाशन गर्ने र वैदेशिक रोजगारीका समस्या, समाधानका लागि गर्नुपर्ने कामहरू र सम्भावनाका विषयमा विस्तृत अध्ययन गरी श्वेतपत्र तयार गरिने भएको छ । वैदेशिक रोजगार कल्याणकारी कोषलाई ५ करोड रुपैयाँ पु¥याई त्यसको नियमावली तयार गरी सञ्चालनमा ल्याइनेछ । वैदेशिक रोजगारमा गएकाहरूका लागि सञ्चयकोष स्थापना गर्ने अभियानलाई कार्यान्वयनमा ल्याउने निर्णय भएको छ । यसरी नै संघले सञ्चालन गर्दै आएका अतिथिदेवो भवः, नेपाल फेस्टिभल, नेपाली सामानको प्रवद्र्धन लगायतका कार्यहरूलाई निरन्तरता दिइने जनाइएको छ । विभिन्न कारणवश मध्यपूर्व तथा मलेसियामा जेल सजाय भोगिरहेका नेपालीहरूको तथ्यांक संकलन गरी उद्धारको कार्यक्रम सञ्चालन गर्न निर्णय पनि बैठकले गरेको छ । साथै साउदी अरबमा जन्मकैद भोगिरहेका थानेश्वर भुसाललाई उन्मुक्ति दिलाउन संघले आपतकालिन राहत कोषबाट १२ लाख ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको छ । 
यस्तो छ एनआरएनएको दुई वर्षे कार्ययोजना

१) भूकम्प पीडितका लागि गोरखा जिल्लाको लाप्राकमा ४२ करोडको लगानीमा निर्माण भइरहेको ५७३ घरसहितको लाप्राक नमुना बस्ती यथाशिघ्र सम्पन्न गर्नका लागि संघका अध्यक्षको नेतृत्वमा एक समितिको गठन बैठकले गरेको छ । निर्माण सम्पन्न गर्न मौसमी कठिनाइ, स्थानीयवासीको पर्याप्त सहयोग रहे पनि कामदारको उपलब्धता प्रमुख चुनौती रहेकोले पहिले तय गरिएको समय सीमाभित्र सम्पन्न गर्न कठिनाइ भइरहेको छ । 

२) संघको कार्यालय भवनको पहिलो चरणको कार्य आगामी वैशाखसम्म सम्पन्न गरी सचिवालय आफ्नै भवनबाट सञ्चालन गर्ने तयारी भैरहेको छ । पहिलो चरणमा सम्पन्न हुने उक्त भवनको लागि जग्गासहित करिब २५ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ । उक्त भवनको दोस्रो चरणको निर्माण कार्यलाई पनि निरन्तरता दिइने छ । यसका लागि स्रोत जुटाउनु पर्ने अवस्था छ । 

३) अधिकार सम्पन्न वागमति सफाइ परियोजना अन्तर्गत शंखमूलमा निर्माण भैरहेको एनआरएन पार्क आगामी वैशाखसम्ममा सम्पन्न गर्ने योजनाअनुसार काम भैरहेको छ ।

 ४) संघका अगुवाहरूको नेतृत्वमा नेपालको पूर्वाधार विकासमा उल्लेख्य लगानीको एउटा इन्भेष्टमेन्ट कम्पनी खडा गर्ने निर्णय गरिएको छ । यसबारेमा एक महिनाभित्र विस्तृत अध्ययन गरी कार्यक्रम अघि बढाइने छ ।

५) गैरआवासीय नेपालीहरूको मूल्यांकन मूलतः उनीहरूले व्यक्तिगत, सामूहिक वा संस्थागत रुपमा गरिने लगानी र कल्याणकारी कार्यहरूबाट नै हुने हो भन्ने कुरामा हामी सचेत छौं । गैरआवासीय नेपाली अभियानले यस्ता कामहरू गर्न संघको सञ्जाल अत्यन्त प्रभावकारी भैरहेको छ भन्ने हाम्रा विगतका कामबाट प्रमाणित भैसकेको छ । तसर्थ अव गैरआवासीय नेपालीहरूले विगतमा भन्दा पनि बढी व्यक्तिगत र सामूहिक रुपमा लगानी गर्न संघले अभिप्रेरित गर्नेछ । गैरआवासीय नेपालीहरूको लगानीमा बैंक, लघुवित्त र सहकारी स्थापना गरिनेछ । नेपालमा लगानी बढाउन र विदेशमा नेपालीहरूको लगानीलाई सुरक्षित र अझै बढी नाफामूलक बनाउन आवश्यक देशहरूसँग बिप्पा सम्झौता, आर्थिक साझेदारी सम्झौता (ईपीए) र दोहोरो कर मुक्ति सम्झौता (डीटीए) गराउन सरकारसँग मिलेर काम गरिनेछ । 

६) वैदेशिक रोजगारीमा जाने समूहलाई लक्षित गरी जनचेतनामूलक सामग्री प्रकाशन गर्ने र वैदेशिक रोजगारीका समस्या, समाधानका लागि गर्नुपर्ने कामहरू र सम्भावनाका विषयमा विस्तृत अध्ययन गरी एउटा श्वेतपत्र तयार गरिने भएको छ । वैदेशिक रोजगार कल्याणकारी कोषलाई ५ करोड पु¥याई त्यसको नियमावली तयार गरी सञ्चालनमा ल्याइने छ । वैदेशिक रोजगारमा गएकाहरूका लागि सञ्चयकोष स्थापना गर्ने अभियानलाई कार्यान्वयनमा ल्याउने निर्णय भएको छ । 

७) नेपाली नागरिकतासहितका गैरआवासीय तथा नेपाली मूलका विदेशी नेपालीहरूको नागरिकताको निरन्तरताका लागि नीतिगत तहमा विशेष पहल गरिने छ । 

८) नेपालको संविधानको धारा २९१ ले स्थायी वसोबास अनुमति पाएका नेपाली नागरिकहरूले नेपालमा कुनै पनि पदमा नियुक्ति, मनोनित र निर्वाचित हुन नपाउने व्यवस्था गरेको छ । यस्तो व्यवस्थाले गैरआवासीय नेपालीहरूको नैसर्गिक अधिकार हनन भएको तथा गैरआवासीय नेपालीलाई विदेशी नागरिकता लिन प्रोत्साहित गरेकोले उक्त धारा खारेज गर्न राजनीतिक दलहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ । 

९) संविधानको धारा १४ ले राजनीतिक बाहेक सबै अधिकार आम नेपाली सरह उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था भैसकेको छ । संविधानको उक्त व्यवस्था ऐनमा सुनिश्चित गर्न अनुरोध गरिन्छ । 

१०) विश्वव्यापी मान्यताअनुसार १८३ दिन भन्दा बढी दक्षिण एसियाली मुलुक बाहेकका राष्ट्रमा बसोवास गर्ने विद्यार्थी लगायतका गैरआवासीय नेपालीहरूलाई एनआरएनको परिभाषामा समावेश गरी गैरआवासीय नेपाली ऐनमा परिवर्तन गर्न पहल गर्ने निर्णय गरियो ।

११) गैरआवासीय नेपालीहरूले सिकेको ज्ञान, शिप र नवप्रवद्र्धनलाई नेपालको विकासमा सदुपयोग गर्न संघले सञ्चालन गर्दै आएका निम्न कार्यहरू एउटै छाताभित्र सञ्चालनमा ल्याउनका लागि एनआरएनए एकेडेमीको स्थापना गर्ने निर्णय गरियो ।. एनआरएनए साइन्स फाउण्डेशन ट्रष्ट. यात्रु सुरक्षा तथा सडक व्यवस्थापन कार्यक्रम. ब्लड ट्रान्सफ्युजन टेक्नोलोजी ट्रान्सफर कार्यक्रम. हेल्थ र हाइजिनमा टेक्नोलोजी ट्रान्सफर कार्यक्रम. नेपाल लाइब्रेरी परियोजनाको निरन्तरता. पोलिसी एकेडेमी सञ्चालन. खुला विश्वविद्यालय . उद्यमशिलता तालिम कार्यक्रम तथा रोजगारी निर्माण कार्यक्रम. टेलिमेडिसिन. विद्यालय भगिनी सम्बन्ध

१२) संघले सञ्चालन गर्दै आएका अतिथिदेवो भवः, नेपाल फेष्टिवल, नेपाली सामानको प्रवद्र्धनलगायतका कार्यहरूलाई निरन्तरता दिइने भएको छ ।

 १३) नेपालमा अहिले करिब २०० मेगावाट विद्युत्को अभावले लोड सेडिङ कायम रहेको तथ्यांकले देखाएको छ । यसलाई हटाउन तुरुन्तै विद्युत् उत्पादन बढाउन सकिने अवस्था नभएकाले विद्युत्को खपत घटाएर २०० मेगावाटभन्दा बढी उत्पादन बचत गर्न सकेमा राष्ट्रका लागि योगदान हुन सक्छ भन्ने संघको मान्यता छ । यसका लागि एलइडी बल्बको प्रयोगका लागि अभियान सञ्चालन गरेमा छिटै नेपाललाई लोडसेडिङ मुक्त गर्न सकिन्छ । गैरआवासीय नेपाली संघले यस सम्बन्धमा सम्भाव्यता अध्ययन गरी आवश्यक सहयोग गर्ने निर्णय गरिएको छ । 

१४) संघको विधानमा भिजन २०२० ले सिफारिस गरेको एनआरएनए फाउण्डेशनको स्थापना गर्ने, संघका सदस्यलाई परिचयपत्र प्रदान गर्ने, विधान सभा आयोजना गर्नेलगायत अन्य संघका आन्तरिक विषयमा महत्वपूर्ण निर्णयहरू गरिएको छ । 

१५) दोस्रो पुस्ताका गैरआवासीय युवा, महिला, नेपाली भूतपूर्व गोर्खा सैनिकलगायतका गैरआवासीय नेपालीहरूलाई दृष्टिगत गर्दै विभिन्न कार्यक्रम ल्याइने भएको छ ।

१६) गैरआवासीय नेपाली संघको एउटा सबैभन्दा महत्वपूर्ण कार्य नेपालीहरूका लागि कल्याणकारी कामहरूको अगुवाइ गर्ने हो । त्यसका लागि संघको केन्द्रले गर्ने नेपालभित्रका कार्यहरूका अलावा सबै गैरआवासीय नेपाली संघ स्थापना भएका देशहरूलाई कम्तिमा एउटा सामाजिक वा कल्याणकारी काम गराउने गरी कार्यक्रम अगाडि बढाइने छ । गैरआवासीय नेपाली संघभित्रको महिला समूहले गरिरहेका कार्यहरूलाई निरन्तरता दिँदै अरु नयाँ कार्यहरू पनि थपिने छ र संघका सबै कार्यक्रमहरूको अनुगमन र तथ्यांक संकलनलाई व्यवस्थित बनाइने छ ।

१७) विभिन्न कारणवश मध्यपूर्व तथा मलेसियामा जेल सजाय भोगिरहेका नेपालीहरूको तथ्यांक संकलन गरी उद्धारको कार्यक्रम सञ्चालन गर्न निर्णय गरियो । साथै साउदी अरबमा जन्म कैद भोगिरहेका थानेश्वर भुसाललाई उन्मुक्ति दिलाउन संघले आपतकालिन राहत कोषबाट १२ लाख ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरियो ।

प्रतिक्रिया दिनुहोस्