रोजगारी दिन र लिन जबडेस्क

नेपालमा बेराजगारी बढिरहेका वेला काम खोज्ने र काम दिनेलाई लक्षित गरी अनलाइन प्लेटफर्म सञ्चालनमा आएको छ । जबडेस्क नामक कम्पनीले आफ्नो वेबसाइट आवरजबडेस्क डटकममा सित्तैमा असीमित आवश्यकताको सूचना पोस्ट गर्ने सुविधा उपलब्ध गराएको हो । व्यक्तिलाई रोजगारी चाहिए वा कम्पनीलाई कर्मचारी आवश्यक परे अब पैसा तिरेर पत्रपत्रिकामा छाप्नु नपर्ने समय आएको कम्पनीले जनाएको छ ।
अनलाइनमै रोगरारी खोज्ने र कर्मचारी खोज्ने सुविधा उपलब्ध भएको छ । “कुनै कम्पनीलाई कामदार चाहिए उसले सिधै हाम्रो साइटमा सित्तैमा विज्ञापन राख्न सक्छ,” कम्पनीका निर्देशक बैकुण्ठराज आचार्यले भने, “सबैतिर पैसा नतिरी विज्ञापन गर्न नपाउने अवस्थामा हामीले सित्तैमा सेवा दिन थालेका छौं ।” कर्मचारी चाहिने कम्पनीले यस वेबसाइटबाट रोजागारी खोज्ने व्यक्तिको बायोडाटासमेत प्राप्त गर्न सक्नेछन् । कम्पनीले रोजगारीको खोजीमा रहेका व्यक्तिहरूलाई आफ्नो व्यक्तिगत विवरण बायोडाटा बनाएर राख्ने सुविधा वेबसाइटमा दिएको छ । जबडेस्कले निःशुल्क इन्टनसिप गर्न चाहनेहरूलाई समेत अबसर उपलब्ध गराउने निर्देशक आचार्यले जानकारी दिए । यसमा अपडेट गरिएका कर्मचारी आवश्यकताका सूचना सिधै सामाजिक सञ्जालमा सेयर गर्न सकिन्छ । कम्पनीसम्बन्धी कुनै जानकारी चाहिए वेबसाइटमा लाइभ च्याटको सुविधासमेत छ । जवडेस्कले बेरोजगारहरूलाई रोजगारी खोज्ने काम गर्दै आएको छ । आफूलाई कामदार चाहिने कम्पनीले पनि जबडेस्कमा सम्पर्क गर्न सक्छन् । यसरी जवडेस्कले काम खोज्ने र काम दिनेबीच पुलको काम गर्दै आएको छ ।