एकै महिना चीनसँग अमेरिकी व्यापार घाटा २२.१९ अर्ब डलर

बेइजिङ-गत वर्षको समान अवधिको तुलनामा चीनले अप्रिलमा गरेको आयातमा २१.५ प्रतिशतको वृद्धि भएको छ भने निर्यातमा १२.९ प्रतिशतले वृद्धि भएको छ ।
अमेरिकी डलरको आधारमा तय भएको चीनको यो वैदेशिक व्यापार विश्लेषकहरुको अपेक्षा भन्दा पनि बढी हो । सञ्चार माध्यमको सर्वेक्षणले आयात वृद्धिमा १६ प्रतिशत निर्यात वृद्धिमा ६.३ प्रतिशतले बढ्ने देखिएको थियो ।
अप्रिलमा चीनले २८.७८ अर्ब डलरको व्यापार बचत गरेको थियो । यो रोयटर्सको २४.७ अर्ब डलरको अपेक्षा भन्दा बढी हो ।
अप्रिलमा चीनको अमेरिकासँगको व्यापार बचत २२.१९ अर्ब डलर कायम भएको छ । यो मार्चको १५.४३ अर्ब डलरको दाजोमा बढी भएको भन्सार तथ्यांकले देखाएको छ ।
जनवरीदेखि अप्रिलसम्मको चार महिनाको अवधिमा चीनले अमेरिकासँगको व्यापारमा ८०.४ अर्ब डलरको बचत गरेको छ ।
व्यापारको विषयलाई लिएर डोनाल्ड ट्रम्प प्रशासन र बेइजिङबीचको गहन वार्ता भएको समयमा यो समाचारले अमेरिकालाई झनै चिढ्याउने अपेक्षा गरिएको छ । अमेरिकी पक्षले चीनसँगको व्यापारको अन्तर कम गर्नुपर्ने माग राख्दै आएको थियो ।
पछिल्ला महिनाहरुमा विश्वकै दुई ठूला अर्थतन्त्रहरुले एक अर्कालाई दसौ अर्ब डलरको भन्सार लगाउने चेतावनी दिँदै आएका छन् । यसले वासिङटन र बेइजिङ पूर्ण आकारको व्यापार युद्धमा जान सक्ने जोखिम सिर्जना गर्दै आएको छ । यसले विश्वव्यापी वृद्धि र विश्व बजार पनि प्रभावित हुन सक्ने अड्कलवाजी गरिदै आएको छ ।