रातो नम्बर प्लेटका गाडी भाडामा «

रातो नम्बर प्लेटका गाडी भाडामा

नेपालगन्ज- यातायात कार्यालयले यात्रु बोक्न र सवारी भाडामा चलाउनका लागि गाडीलाई कालो नम्बर प्लेट दिए पनि नेपालगन्जमा भने लामो समयदेखि रातो नम्बर प्लेटका निजि गाडीहरु धमाधम भाडामा चलाइने गरिएको छ ।
निजी सवारी साधनलाई रातो नम्बर प्लेट दिएर सवारी बोक्न नपाउने तथा भाडामा समेत चलाउन नपाउने भए पनि नेपालगन्जमा अधिकांश सवारी साधनहरुले रातो नम्बर प्लेट लिई गाडीलाई खुला रुपमा भाडामा चलाउँदै आएका छन् ।
लामो समयदेखि त्यस्तो कार्य भैरहँदा समेत सरोकारवाला निकायहरु ट्राफिक प्रहरी र यातायात कार्यालय मुक दर्शकमात्र भएको कालो प्लेट लिएका गाडी सञ्चालकहरुको गुनासो छ ।
नेपालगन्जमा हाल आएर रातो नम्बर लिई यात्रु बोक्ने कार्यमा केही टेम्पोहरु समेत देखा पर्ने गरेको तथा नियम मिच्ने त्यस्ता टेम्पोहरुलाई अहिलेसम्म ट्राफिक प्रहरीले रोक्न त परै जाओस्, सामान्य जरिवाना समेत लिन नसकेको स्थानीय गाडी सञ्चालक दिलिप कुमारले बताए ।
यातायात कार्यालयले बनाएको नियमअनुसार २० वर्षमाथिका सवारी साधनहरुलाई समेत रोक लगाएको भएपनि सो अनुसार पनि नेपालगन्जमा नभएको भेटिएको उनको दुखेसो छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले भने रातो नम्बर प्लेट भएका सवारी साधनले यात्रु बोक्न नपाउने जनाउँदै ट्राफिकले कडाइका साथ चेकजाँच गरिरहेको बताएको छ ।
यसैगरी सवारीको क्षमता अनुसार यातायात कार्यालयले सवारी अनुसार यात्रु बोक्ने क्षमताको स्वीकृत दिएकोमा सो अनुसार पनि नभएको बाँकेमा देखिएको छ । जिल्लामा सञ्चालनमा आएको कालो नम्बर प्लेट भएको सवारी साधनमध्ये म्याजिक जिपमा ७ यात्रु र १ चालक, मोटरसाइकल टेम्पोमा ८ यात्रु र १ चालक, अटो टेम्पोमा ३ यात्रु र १ चालकको अनुमति भएपनि सो भन्दा बढी यात्रु बोकेर यात्रुलाई दुःख दिने गरिएको सर्वसाधारणको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्