लगानीको वातावरण बनाउँछु : मुख्यमन्त्री राउत «

लगानीको वातावरण बनाउँछु : मुख्यमन्त्री राउत

वीरगन्ज-प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको विकासका लागि कृषि र उद्योगमा लगानी गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाएका छन् । नेपालमा कृषि औद्योगिकीकरणमा अग्रस्थानमा रहेको उद्योगी समूह निम्बसले वीरगन्जमा गरेको बार्षिक कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले कृषि र उद्योगका लागि आवश्यक पूर्वाधार तयार गर्न ऐन नियम निर्माण भइरहेको भन्द्यै उद्योगधन्दाको विकासलाई नै प्रदेश सरकारले प्राथमिकता दिएको बताए ।
मुख्यमन्त्री राउतले प्रदेश नम्बर २ कृषिमा आधारित उद्योगको सम्भावना बोकेको प्रदेश भएकाले यहाँ लगानीमैत्री वातावरण तयार गर्न प्रदेश सरकार तयार रहेको बताए । लगानीकर्तालाई लगानी गर्न आवश्यक पर्ने सबै प्रकारका सहयोग गर्न प्रदेश सरकार तयार रहेको भन्दै उनले उद्योग, पर्यटन, कृषि प्रदेशको मुख्य सम्भावित क्षेत्र भएको स्पष्ट पारे । यसलाई प्रदेशको नीति तथा कार्यक्रममा नै समावेश गरेर लैजाने तयारी भइरहेको उनको भनाइ थियो ।
कार्यक्रममा निम्बस समूहका अध्यक्ष जगदीश अग्रवालले कृषिप्रधान देश नेपालमा कृषि औद्योगिकीकरणसँगै मानव संशाधनको विकास आवश्यक रहेको बताए । उनले प्राविधिक शीप र ज्ञान भएको दक्ष जनशक्ति आवश्यक रहेको बताए । विश्वमा अनेक प्रविधिको विकास भइसकेको अवस्थामा नेपालमा अझै प्रविधिका् प्रयोग हुन नसकेको भन्दै उनले प्रविधिलाई कृषि तथा माटो सुहाउँदो बनाउनुपर्नेमा जोड दिए ।

निम्बस समूहले अत्याधुनिक कृषि खाद्यान्न भन्डार निर्माण गर्ने
कृषिजन्य उद्योगमा निकै सफल मानिएको निम्बस समुहले कृषि खाद्यान्न भन्डार परियोजना (एग्री–वायर हाउस प्रोजेक्ट) निर्माण गर्ने भएको छ । निम्बस समुहका प्रमुख कार्यकारी अधिकृत नीरज पराजुलीले कृषि खाद्यान्न भन्डार परियोजनाका बारेमा जानकारी दिँदै नेपालमा यो नयाँ अवधारण चुनौतीपूर्ण रहे पनि सफल हुने दाबी गरे । नेपालमा बार्षिक ९५ लाख टन खाद्यान्न उत्पादन हुने र ५० लाख टन बाहिरबाट आयात हुने गरेको तथ्यांक प्रस्तुत गर्दै उनले खाद्यान्न भन्डारण गर्ने आधुनिक भन्डारहरू नरहेकाले परम्परागत प्रणालीमा कृषि भन्डारण गर्दा धेरै नोक्सानी हुने गरेको र पौष्टिक तत्वहरू पनि नष्ट हुने गरेको बताए । त्यसलाई नियन्त्रण गर्न पनि यो परियोजना सफल हुने उनले विश्वास व्यक्त गरे ।
निम्बस समुहले कृषि खाद्यान्न भन्डारको आधुनिक प्रविधिको नेपालमा सम्भाव्यता देखेकैले यस परियोजनालाई नेपालको विराटनगर, वीरगन्ज र भैरहवा गरी तीन स्थानमा शुरु गर्न लागेको प्रमुख कार्यकारी अधिकृत पराजुलीले जानकारी गराए । उत्पादित खाद्यान्न मध्य अत्याधुनिक र सुविधा सम्पन्न खाद्य भन्डारहरू नभएका कारण बार्षिक २५-३० प्रतिशत खाद्यान्न नष्ट हुने गरेको र ३० लाख मेट्रिक टन बार्षिक खाद्यान्न नीजिक्षेत्रको लगानी भए पनि व्यावस्थापनमा भने लगानी नरहेकाले यो परियोजना सफल हुने उनको तर्क छ । खाद्यान्न भन्डारण, ठूलो मात्रामा ढुवानी गर्ने सुविधा (बल्क ट्रान्स्पोर्टेसन) र भन्डारणका लागि लाग्ने आर्थिक सहयोगलगायतका एकीकृत सुविधाको रूपमा विकास गरी वैज्ञानिक रूपमा खाद्यान्न भन्डारण गर्ने योजना कम्पनीले बनाएको छ । वीरगन्जमा २५ हजार टन, विराटनगर र भैरहवमा १५-१५ हजार टन क्षमताको खाद्यान्न भन्डार निर्माण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्