पुँजीबजार प्रदर्शनी हुने «

पुँजीबजार प्रदर्शनी हुने

बजार सहभागिहरूले आफ्नो स्टलमार्फत आफ्नो संस्था र संस्थाले प्रदान गर्ने धितोपत्र बजार सेवाबारे लगानीकर्तालाई जानकारी गराउने छन् । प्रदर्शनीमा करिब १७० वटा स्टल रहने छन् ।

नेपाल धितोपत्र बोर्डले रजत जयन्तीका अवसरमा पूँजीबजार प्रदर्शनी गर्ने भएको छ । बोर्डले यही बुधबार र बिहीबार काठमाडौंमा प्रदर्शनी गर्ने जनाएको हो । बोर्ड २०७४ जेठ २५ देखि २५ औं वर्ष अर्थात रजत जयन्ती वर्षमा प्रवेश गरेको अवसरमा पूँजीबजार प्रद्धर्शनीको आयोजना गर्ने भएको हो ।
धितोपत्र बजारको इतिहासमा नै पहिलो पटक गरिने पूँजीबजार प्रदर्शनीमा नेपाल स्टक एक्चेन्ज, सीडीएस एन्ड क्लियरिङ, धितोपत्र दलाल कम्पनी, मर्चेन्ट बैंकर, सामूहिक लगानी कोष, क्रेडिट रेटिङ कम्पनी, डीपी र आस्वा सेवा प्रदान गर्ने कम्पनीहरू, सूचीकृत कम्पनीहरूका साथै नेपाल राष्ट्र बैंक, बीमा समिति तथा आइक्यानको सहभागिता रहनेछ ।
बजार सहभागिहरूले आफ्नो स्टलमार्फत आफ्नो संस्था र संस्थाले प्रदान गर्ने धितोपत्र बजार सेवाबारे लगानीकर्तालाई जानकारी गराउने छन् । प्रदर्शनीमा करिब १७० वटा स्टल रहने छन् । धितोपत्र बजार, सीडीएस तथा बजार पूर्वाधार व्यवस्था, मर्चेन्ट बैंकिङ व्यवसाय तथा धितोपत्र दलाल व्यवसाय सम्बन्धमा प्रस्तुति र अन्तक्र्रियाका कार्यक्रम सञ्चालन हुने बोर्डले जनाएको छ ।
सार्वजनिक निस्कासन कार्यलाई थप व्यवस्थित गर्दै ७७ जिल्लामा पु¥याएको बोर्डले जनाएको छ । पुँजी परिचालनका लागि प्रोत्साहनमूलक व्यवस्था गर्न बोर्डले धितोपत्र निस्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ लागू गरी प्राथमिक निस्कासनमा आवेदन दिने सम्पूर्ण आवेदनकर्तालाई न्यूनतम १० कित्ता सेयर बाँडफाँट गरिनुपर्ने व्यवस्था लागू गरी धितोपत्र बाँडफाँट प्रणाली समावेशी बनाएको बोर्डले जनाएको छ । वित्तीय अवस्था सन्तोषजनक नरहेका मुख्यतः जलविद्युत् कम्पनीहरूको सार्वजनिक निस्कासन सम्बन्धमा खुलाउनुपर्ने थप विवरण सम्वन्धमा व्यवस्था गरिएको छ ।
धितोपत्र लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलव्ध गराउने तथा धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गर्ने उद्देश्यले मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन जारी गरिएकोमा नेप्सेबाट प्राप्त कार्यविधिमा सुझाव दिइएकोमा बोर्डको सुझाब अनुसार पुनरावलोकन गरी पुनः प्राप्त कार्यविधि स्वीकृतिको अन्तिम चरणमा रहेको छ । मर्चेन्ट बैंकरको वित्तीय अवस्था सुदृढ बनाउन चुत्ता पुँजीमा तीन गुणाभन्दा बढीले वृद्धि गर्नुका साथै संगठित संस्थाको संरचना हेरफेर, मूल्यांकन, व्यावसायिक योजना, लोन सिन्डिकेसन, वर्किङ क्यापिटल फाइनान्सिङ, भेञ्चर क्यापिटल, प्राइभेट इक्विटी, हेज फन्ड जस्ता कोष सञ्चालन तथा सम्पत्ति व्यवस्थापनलगायतका विषयमा परामर्शदाताको रूपमा कार्य गर्न सक्ने गरी मर्चेन्ट बैंकरको कार्य क्षेत्र विस्तार गरेको बोर्डले जनाएको छ ।
धितोपत्र दलालले चुक्ता पुँजी वृद्धि गरी २० लाखबाट २ करोड पुर्याउनुपर्ने, शाखा कार्यालयका लागि आवश्यक मापदण्ड पूरा गरी बोर्डबाट स्वीकृति लिनुपर्ने, दक्ष जनशक्ति, आवश्यक पूर्वाधार विकास गर्नुपर्नेलगायतका व्यवस्था थप गरी धितोपत्र व्यवसायी नियमावली, २०६४ मा आवश्यक संशोधनसमेत गरेको छ ।
भेन्चर क्यापिटल, प्राइभेट इक्विटी फन्ड, पूर्वाधार कोष, हेज फन्ड, साना तथा मझौला कोषसम्बन्धी व्यवस्था समावेश गरी वैकल्पिक लगानी कोष नियमावलीको प्रारम्भिक मस्यौदा तयार गरिरहेको बोर्डले जनाएको छ । कारोबार तथा सूचीकरणसम्बन्धी नियमावली स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएको तथा राज्यको संघीय संरचना बमोजिम बोर्डको प्रादेशिक कार्यालय स्थापना गर्ने सम्बन्धमा अध्ययन शुरु भएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्