राष्ट्रिय सुरक्षाको बलियो किल्ला जनता : ओली «

राष्ट्रिय सुरक्षाको बलियो किल्ला जनता : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रिय सुरक्षाको प्रश्न उन्नतस्तरमा पुगेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको १७ औं वार्षिकोत्सव समारोहमा उनले नागरिक, देश र स्वाभिमानलगायत समग्र सुरक्षासम्बन्धी अवधारणामा आज नेपाल उन्नतस्तरमा पुगेको स्पष्ट पारे ।
राष्ट्रिय सुरक्षा र विकासको प्रश्नमा जनताको अवधारणा र मानसिकता के छ भन्ने कुरा महत्वपूर्ण हुने बताउँदै प्रधानमन्त्री ओलीले हाम्रा सुरक्षा अंगले निकै महत्वपूर्ण योगदान गरेको उल्लेख गरे । राष्ट्रिय सुरक्षा बलियो बनाउन सबैभन्दा पहिला जनतामा राष्ट्रियताको भावना प्रवद्र्धन गर्न आवश्यक रहेको बताउँदै उनले भने, “राष्ट्रिय सुरक्षाको सबैभन्दा बलियो किल्ला भनेका जनता हुन् । त्यसका लागि जनता राष्ट्रिय हित र सार्वभौमसत्ताप्रतिको अडान तथा भौगोलिक अखण्डता र स्वाभिमानप्रति दृढ हुनुपर्छ ।”
राष्ट्रिय सुरक्षालाई नीतिगत, व्यवहार र प्रयासबाट थप सुदृढ तुल्याउने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षाको विषय अघि बढाउँदा आर्थिक, सामाजिक र वातावरणीय पक्षलाई पनि हेक्का राखेर काम गर्ने प्रतिबद्धता जनाए ।
कसैको दासत्व, पराधीन र उपनिवेश नस्वीकारेका कारण नेपाल गौरव गर्ने हैसियत राख्छ भन्दै प्रधानमन्त्री ओलीले भने, “हाम्रो गौरवपूर्ण परम्परा, दासत्व स्वीकार गर्न नजान्ने परम्परा, हार्न नजान्ने र नमान्ने परम्परा नेपालले सदैव कायम राख्नेछ ।”
रक्षामन्त्री एवं सुरक्षा परिषद्का सदस्य ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा नीतिको परिमार्जन, राष्ट्रिय प्रतिरक्षा नीति र राष्ट्रिय सुरक्षा परिषद् ऐन निर्माण तथा सचिवालय सुदृढीकरणका कामलाई रक्षा मन्त्रालयले उच्च महत्वका साथ अगाडि बढाइरहेको जानकारी दिए ।
परिषद्ले नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि नेपाल सरकारलाई सिफारिस गर्ने कार्यादेश पाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्