एक सचिवको जिम्मामा तीन वडा «

एक सचिवको जिम्मामा तीन वडा

अहिले जिल्लाभरका स्थानीय तहका ३० वटा वडाहरू सचिवविहीन अवस्थामा रहेका छन् । १० स्थानीय तहमा एक सय वडा रहेका छन् । यसले स्थानीयले सहज रूपमा वडाबाट सेवा पाउन वञ्चित भएका छन् । वडाबासीहरूले सम्बन्धित वडाबाट हुने कामलाई सचिव पर्खन पटक–पटक कार्यालय धाउनुपर्ने बाध्यता रहेको छ ।

दाङ- जिल्लामा कर्मचारी अभाव हुँदा एउटा सचिवले ३ वटा वडा हेर्नुपर्ने बाध्यता भएको छ । राजपुर गाउँपालिकाका वडा नंं १, २ र ३ को काम एउटै सचिव मेघसिंह पछाईले हेर्दै आएका छन् । साविक बेला गाविसअन्तर्गत रहेका तीन वडाको सम्पूर्ण काम आफुले विगत असार महिनादेखि हेर्दै आएको सचिव पछाईले बताए ।
एउटा वडामा एउटा सचिवको हुनुपर्ने भए पनि गाउँपालिकामा अहिलेसम्म कुनै पनि सचिव नआउँदा आफुले तीन वटा वडाको सम्पूर्ण जिम्मेवारी हेर्दै आएको उनी बताउँछन् । “सचिव नहुँदा दैनिक प्रशासनिक कामदेखि आर्थिक हिसावमा समस्या हुने गरेको छ,” वडा सचिव पछाईले भने, “पञ्जीकरणका कामहरू प्राविधिकहरूले गर्ने गरेपनि आर्थिकको विषयमा समस्या हुने गरेको छ ।”
एउटा सचिवले तीन वडाहरू हेर्नुपर्ने बाध्यता भएका कारण जनताहरूको काममा कुनै अप्ठेरो नहोस् भनेर आफु नभएको अवस्थामा पनि वडामा सचिवले गर्ने सम्पूर्ण कामको जिम्मेवारी वडाका प्राविधिक तथा लेखापालहरूलाई दिने गरेको पछाईले बताए ।
राजपुर गाउँपालिकाका ८ वडा रहेका छन्, जसमा अहिले दुई जनमा मात्र सचिव रहेका छन् । वडा सचिव नभएका वडाहरूमा लेखापाल तथा प्राविधिकहरूले वडाको काम गर्ने गरेको गाउँपालिका अध्यक्ष लोकराज केसीले बताए । “राजपुर गाउँपालिकामा कुनै पनि कर्मचारी आएका छैनन् । स्थानीय तहमा जनप्रतिनिधि आएदेखि सचिवलगायत कर्मचारी ल्याउने प्रयास गरे पनि सकेको छैन,” गाउँपालिका अध्यक्ष केसीले भने, “सचिवहरू नहुँदा वडाहरूमा हुने धेरै काममा समस्या भएको छ ।”
त्यस्तै गढवा गाउँपालिकामा पनि आठ वडाहरूमध्ये अहिले दुई वटा वडाहरूमा मात्र सचिवहरू रहेका छन् । बाँकी ६ वडाहरूमा लेखापाल तथा प्राविधिकहरूले वडामा सचिवको काम गर्ने गरेका छन् । गढवा गाविस हुँदासम्म लेखापालको काम गर्दै आएका कुलराज कुमाल गढवा गाविस गाउँपालिका भएसँगै कुलराजले वडा सचिवको काम गर्दै आएका छन् ।
गढवा गाउँपालिका वडा नं. २ को जिम्मेवारी तोकिए पनि सचिव अभावका कारण आफुले वडा नंं १ को समेत प्रशासनिक काम गर्दै आएको कुमालले बताए । “वडा सचिवका रुपमा मैले वडाको दैनिक प्रशासनिक कार्यदेखि मालपोत बुझ्ने कामहरू गर्ने गरेको छु,” कुमालले भने, “लामो समयदेखि यही क्षेत्रमा काम गर्ने गरेका कारण मलाई काममा समस्या भएको छैन ।”
दैनिक वडामा हुने पञ्जीकरण, सिफारिस, नाता प्रमाणिकरण, उद्योग दर्तालगायत कामहरू गर्दै आएको बताउने कुमालले आर्थिक क्षेत्रको काम गर्दा समस्या हुने बताए । “वडामा विकास निर्माणका कामहरूसँगै पेश्की बजेट माग गर्दा सचिवै चाहिने भन्दा आफुहरूलाई काम गर्न समस्या हुने गरेको छ,” कुमालले भने, “वडाका अन्य दैनिक प्रशासनिक कामहरू गर्न सहज नै छ ।” वडा नं १ मा सचिव नहुदाँ आफुले हेरीदिने गरेकोे उनले बताए । गाउँपालिकामा वडा सचिवहरू नहुदाँ विकास निर्माणका कामहरूदेखि दैनिक प्रशासनिक कामहरू गर्न कठिनाइ हुँदै आएको गढवा गाउँपालिका अध्यक्ष सहजराम अहिरले बताए ।
“वडा सचिवहरू नहुँदा वडामा योजना निर्माणदेखि आर्थिक पक्षको काम गर्न समस्या देखिने गरेको छ,” अहिरले भने, “आफ्नो गाउँपालिकाका वडाहरू सचिव बिहिन भएको र सचिवहरू उपलव्ध गराईदिन जिल्लालाई अनुरोध गरिरहेको छु ।” जनताहरूको सहजताका लागि काम चलाउने गरि गाउँपालिकाले लेखापाल तथा प्राविधिकहरूलाई जिम्मेवारी दिएर वडाको काम गर्न आग्रह गरेकाले प्राविधिक तथा लेखापालहरूले वडाको काम गर्दै आएको उनले बताए ।
पछाई र कुमाल त प्रतिनिधिपात्र मात्रै हुन् । उनीहरू एक भन्दा बढी वडा हेर्ने धेरैजना सचिवले यसरी नै काम गर्दै आएका छन् । पछिल्लो जानकारी अनुसार अहिले जिल्लाभरका स्थानिय तहका ३० वटा वडाहरू सचिव विहिन अवस्थामा रहेका छन् । १० स्थानिय तहमा एक सय वडा रहेका छन् । यसले स्थानियबासीहरूले सहज रुपमा वडाबाट सेवा पाउन बञ्चित भएका छन् । वडाबासीहरूले सम्बन्धित वडाबाट हुने कामलाई सचिव पर्खन पटक पटक कार्यालय धाउनुपर्ने बाध्यता रहेको छ । यसले उनीहरूलाई नयाँ संरचनापछि सरकारी काममा झनै समस्या भएको अनुभूति हुन थालेको छ । यसले उनीहरूलाई परिवर्तनको प्रत्याभूतिको साटो झनै समस्या थापिएको महसुस भएको छ ।
स्थानीय तहमा कर्मचारीको अभावका कारण काम प्रभावकारी हुन सकेको छैन । जिल्लामा भएका केही कर्मचारीहरूलाई व्यवस्थापन गरेपनि जिल्लाका अधिकांश स्थानीय तहमा समस्या देखिएको जिल्ला समन्वय अधिकारी कृष्ण गौतम बताउँछन् । “जिल्लामा आएका कर्मचारीहरूलाई स्थानीय तहको आवश्यकता अनुसार व्यवस्थापन गर्ने गरेका छौँ,” गौतमले भने, “तर जिल्लामै सामान्य प्रशासयन मन्त्रालयले कर्मचारी नपठाउँदा स्थानीयतहमा समस्या देखिएको छ ।”
घोराही र तुलसीपुर उपमहानगरपालिका बाहेक जिल्लामा सवै स्थानीय तहरूमा कर्मचारी अभाव देखिएको समेत उनले बताए । “अहिले जिल्लामा करिब ३० देखि ४० जनासम्म वडा सचिवहरूको आवश्यकता देखिएको छ, त्यतिकै मात्रमा अन्य कर्मचारीहरूको समेत अभाव छ,” जिल्ला समन्वय अधिकारी गौतमले भने, “जिल्लामा कर्मचारी छैनन्, मन्त्रालयले कर्मचारीहरू पठाउँदैन ।” कर्मचारीहरू नहुँदा स्थानीय तहमा काममा समस्यासँगै जनताहरूले सहज रुपमा सेवा लिनलाई समस्या पर्ने गरेको छ । जिल्लाका बंगलाचुली, राजपुर, गढवा, बबई, दंगीशरण, शान्तिनगर गाउपालिकालगाएतका स्थानीय तहहरूमा कर्मचारीहरूको अभाव रहेका स्थानीय तहरूले बताएका छन् । स्थानीय तहमा कर्मचारी अभाव भएको जिल्लामा जानकारी गराउँदा समेत कर्मचारी व्यवस्थापनमा ध्यान नदिने गरेको स्थानीय तहहरूको गुनासो रहेको छ । यसले स्थानियबासीहरूको गुनासो सुन्दै जनप्रतिनिधिहरू दिनहुँ हैरानीमा पर्ने गरेका छन् ।

 अमरराज आचार्य

प्रतिक्रिया दिनुहोस्