Logo

निजी विद्यालय छाडेर सामुदायिकतर्फ आकर्षण

झापाका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन हुन थालेपछि विद्यार्थीहरू निजी छाडेर सामुदायिक विद्यालयतर्फ आकर्षित भएका छन् ।
झापाको सुरुङ्गामा रहेका नाम चलेका निजी विद्यालयहरू पशुपति, हरिकुल, प्यारागन, देवकोटा, झापा मेरिगोल्डलगायतमा अध्ययनरत विद्यार्थीहरू ती विद्यालय छाडेर सामुदायिक विद्यालय कन्काई मावि, सुरुङ्गामा भर्ना भएका हुन्
झापाको कन्काई मावि, सुरुङ्गामा विगत आठ वर्षदेखि अंग्रेजी माध्यमबाट पठनपाठन हुन थालेपछि त्यस क्षेत्रका विद्यार्थी निजी विद्यालय छाडेर कन्काई माविमा भर्ना हुने क्रम बढेपछि विद्यार्थी व्यवस्थापनमा समस्या भएको कन्काई मावि, सुरुङ्गाका सहायक प्रधानाध्यापक हरिप्रसाद तिम्सिनाले बताए ।
कन्काई माविको क्षमता १५ सय भए पनि हाल २ हजारभन्दा बढी विद्यार्थी विद्यालयमा अध्ययनरत रहेको र विद्यालयको क्षमताभन्दा बढी विद्यार्थी भएपछि विद्यालयले विद्यार्थी थेग्न नसकेर विगतका वर्षदेखि नै प्रवेश परीक्षा लिन थालेको कन्काई मावि, सुरुङ्गाका सहायक प्रधानाध्यापक तिम्सिनाले बताए ।
सुरुङ्गामा रहेका नाम चलेका निजी विद्यालयहरूमा अध्ययनरत ३ सय विद्यार्थी यो शैक्षिक सत्रका लागि कन्काई माविका भर्ना हुन आएको कन्काई मावि सुरुङ्गाका सहायक प्रधानाध्यापक तिम्सिनाले बताए ।
विद्यार्थीको चापका कारण खानेपानी र शौचालयको समस्या परेको कन्काई मावि सुरुङ्गाका सहायक प्रधानाध्यापक तिम्सिनाले बताए ।
विज्ञान समूहका कक्षाबाहेक कक्षा ११ र कक्षा १२ का कक्षाहरू बिहानीसत्रमा सञ्चालित भए पनि बाँकी १७ सय भन्दा बढी विद्यार्थीको दिवा सत्रमै पठनपाठन हुने भएकाले बसाइ व्यवस्थापन, खानेपानी र शौचालयको समस्या बढ्दै गएकोे कन्काई मावि, सुरुङ्गाका सहायक प्रधानाध्यापक तिम्सिनाले बताए ।
कन्काई माविमा विद्यार्थीको चापका कारण कक्षा ८ मा मात्रै ४ वटा वर्गमा राखेर पठनपाठन गराइँदै आएको, कक्षा ९ मा ६ वटा वर्गमा राखेर पठनपाठन गराइँदै आएको, कक्षा १० मा ५ वटा वर्गमा विद्यार्थीलाई राखेर पठनपाठन गराइँदै आएको कन्काई मावि सुरुङ्गाका सहायक प्रधानाध्यापक तिम्सिनाले बताए ।
तल्लो कक्षाको तुलनामा माथिल्लो कक्षामा विद्यार्थीको चाप अधिक रहेकाले पठनपाठनमा समस्या रहेको विद्यालयका अर्का सहायक प्रधानाध्यापक कर्णबहादुर डाँगीले बताए ।
कन्काई माविमा ४२ जनाको दरबन्दी छ । दरबन्दीमा रहेका शिक्षकहरूबाट मात्र विद्यालय सञ्चालनमा समस्या भएपछि निजी दरबन्दीमा २२ जना शिक्षक राखिएको छ । शिक्षकलाई तलब खुवाउन समस्या भएपछि पटक–पटक सरकारको ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएको विद्यालय व्यवस्थापन समितिका सदस्य तथा शिक्षक प्रतिनिधि बल्लभकुमार गौतमले बताए । २०१५ सालमा स्थापित कन्काई मावि त्यस क्षेत्रको पुरानो विद्यालय हो । उक्त विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन सुरु भएपछि विद्यार्थीसँगै अभिभावकको समेत चहलपहल बढेको छ । कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट र ६ देखि १२ कक्षासम्म नेपाली र अंग्रेजी माध्यमका अलग–अलग वर्गमा पठनपाठन भएपछि अभिभावकको रुचि सामुदायिक विद्यालयतर्फ गएको कन्काई मावि, सुरुङ्गाका सहायक प्रधानाध्यापक हरिप्रसाद तिम्सिनाले बताए ।
विद्यालयको आन्तरिक स्रोतबाट राखिएका २२ जना शिक्षकलाई तलब खुवाउन अहिले विद्यालय प्रशासनलाई धौ–धौ छ । विद्यालयको जग्गाबाट २१ हजार रुपैयाँ आम्दानी भए पनि मालपोत नै १ लाख रुपैयाँभन्दा बढी तिर्नुपरेपछि विद्यालय प्रशासनलाई समस्या छ । त्यसका अतिरिक्त विद्यालयको अन्य कुनै स्रोत नभएकाले शिक्षकलाई तलब खुवाउन दाताको भर पर्नुको विकल्प नरहेको विद्यालयका प्रअ निर्मलकुमार खतिवडाले बताए ।
विद्यार्थीका अभिभावकबाट सहयोग जुटाएर शिक्षकलाई तलब खुवाउनुपर्ने अवस्था हुँदा पनि सम्बन्धित निकायले विद्यालयलाई नहेरेको बताइएको छ । कन्काई माविको विद्यालय हाताभित्र ६ बिघा १५ कठ्ठा जमिन छ भने बाहिर विद्यालयको नाममा ५२ बिघा जमिन भए पनि आम्दानीका कारणले शून्यसरह छ ।
विद्यालयको नाममा रहेको धेरैजसो जग्गा नदीकिनारमा रहेकाले बर्से बाली लगाउन समस्या भएको र लिजमा लिएकाहरूले हिउँदे बालीका रूपमा खरबुजा, काँक्रा लगाउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेतीले बताए । विद्यालयको जग्गाबाट प्राप्त आम्दानी भन्दा बढी मालपोत, राजस्व तिर्नुपर्ने विडम्बनापूर्ण अवस्थाको अन्त्य हुनुपर्ने र यसका लागि कन्काई नगरपालिका, नागरिक समाज र जग्गा कमाउनेहरूले सकारात्मक भूमिका खेल्नुपर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेतीले बताए ।
कन्काई माविमा अंग्रेजी माध्यममा पठनपाठन सुरु भएपछि शिक्षकहरू स्वयंले आफ्ना नानीहरूलाई आफंै अध्यापन गर्ने विद्यालयमा भर्ना गरेका छन् ।
सोही विद्यालयबाट अंग्रेजी माध्यममा पठनपाठन सुरु भएपछि गत वर्षहरूमा शिक्षकहरू तीर्थराज खरेल, चन्द्रप्रसाद पोखरेल, शारदा पाठक, गोपीकृष्ण भट्टराई, चन्द्रप्रसाद शिवाकोटी र जीवेन्द्र घिमिरेका छोराछोरीहरूले एसएलसी उत्तीर्ण गरिसकेका छन् भने हाल सहायक प्रधानाध्यापक डाँगी, शिक्षकहरू तीर्थराज खरेल, चन्द्रप्रसाद पोखरेल, जानुका चम्लागाईंका नानीहरू र शिक्षक विक्रम बानियाँकी बहिनी हाल अध्ययनरत् छन् ।
—तुलसीप्रसाद निरौला

 

प्रतिक्रिया दिनुहोस्