जीवनशैली सुधार्ने सिद्धिका स्थानीयलाई नगद पुरस्कार «

जीवनशैली सुधार्ने सिद्धिका स्थानीयलाई नगद पुरस्कार

चितवनको कालिका नगरपालिका १० र ११ नम्बर वडामा बसाइँ सुधार गरेका ७५ घरधुरीलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको छ । स्थानीय स्रोत, साधनको प्रयोग गर्दै घर आकर्षक बनाएका, सरसफाइमा ध्यान दिएका र आनीबानी सुधार गरेका घरमध्ये उत्कृष्ट घरलाई नगदसहित पुरस्कार दिइएको हो ।
साविक सिद्धि गाविसका ९ वडामा रहेका ६५१ घरधुरीमा ३ हजार ८२७ जनसंख्या छ । जसमध्ये ९० प्रतिशत चेपाङको बसोबास छ । सपना भिलेज इम्प्याक्ट सोसाइटीले ‘प्रकृतिको संरक्षण गर्दै सिद्धिको विकासमा एक कदम’ परियोजनामार्फत जनताको सहभागितामा गरिबी उन्मूलनका लागि विविध कार्यक्रम सञ्चालन हुँदै आएका छन् । सोसाइटीले तयार गरेको प्रश्नावली र अनुगमनका आधारमा घर, टोल, विद्यालयलाई विभिन्न ६ विधामा उत्कृष्ट छनोट गरी कालिका–१० तीन दोभानमा एक कार्यक्रमका बीच पुरस्कृत गरिएको हो ।
अन्तर घर प्रतियोगितामा ७५ घरधुरीका धनीलाई कुल ४९ हजार नगद पुरस्कार दिइएको थियो । यस्तै अन्तर टोल प्रतियोगितामा उत्कृष्ट तीन टोललाई कुल १ लाख ९५ हजार नगद पुरस्कार दिइएको छ । “चेपाङ घरले सरसफाइमा जोड दिएका छन्,” सोसाइटीका कार्यक्रम संयोजक सुजन बस्नेतले भने, “घरमा सुधारिएको चुलो, शौचालय तथा आकर्षक घर बनेका छन् ।” उनले प्रतियोगितामा झण्डै १ सय स्थानीयलाई पुरस्कृत गरिएको बताए । उनका अनुसार १३ लाख बराबरको नगद पुरस्कार दिइएको छ ।
“स्वयं जागरुप बनेर जीवनशैली सुधारमा लाग्न प्रतिस्पर्धाको भाव जगाउन पुरस्कार दिइएको हो,” उनले भने, “जसले समुदाय नै नमुना गाउँतर्फ उन्मुख भएको छ ।” सोसाइटीले साविक ९ वडालाई १५ क्षेत्रमा विभाजन गरी मापदण्ड बनाएर उत्कृष्टता छनोट गरेको थियो । “प्रतियोगितामार्फत चेतना अभिवृद्धि गर्ने कामसमेत भएको छ,” सोसाइटीका अध्यक्ष धु्रव गिरिले भने, “सामाजिक, शैक्षिक, स्वास्थ्य क्षेत्रमा सुधार आएको छ । यो नौलो प्रयोग हो ।” यसअघि ७ महिना पहिले सोसाइटीले पहिलो पटक यस्तै पुरस्कार वितरण गरेको थियो । परियोजनाले डेढ वर्ष अघिदेखि काम सुरु गरेको थियो । सिद्धिमा हाल ११७ घरमा सुधारिएको चुलो, १७९ घरमा पक्की शौचालय बनेका छन् । यस्तै सबै घरमा करेशाबारी, अधिकांश घर स्थानीय माटोले लिपपोत गरी आकर्षक बनेका छन् । यस्तै सरसफाइमा सुधार आएको छ ।
पुरस्कार वितरण कार्यक्रममा कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले सिद्धिलाई आयआर्जनमा अब्बल गाउँका रूपमा विकास गरिने बताए । “खोरिया, डाँडापाखामा निमुवा, कागती, फलफुल खेतीलाई प्रोत्साहन गर्ने नीति कार्यान्वयन गरिनेछ,” उनले भने, “स्थानीय युवालाई तालिम दिएर आधुनिक खेती सुरु गर्ने अभियान चलाइनेछ ।” मेयर श्रेष्ठका अनुसार सिद्धिलाई मौरीको पकेट क्षेत्रका रूपमा विकास गरिनेछ ।
कालिकाको ९, १० र ११ नम्बर वडामा वार्षिक ७ करोडको महको कारोबार हुने गरेको एक अध्ययनले देखाएको छ । “प्रत्येक घरधुरीलाई मौरीको घार वितरण, तालिमजस्ता गतिविधि नगरपालिकाले सञ्चालन गर्नेछ,” उनले भने, “सामुदायिक वनलाई पनि आम्दानीको ३५ प्रतिशत रकम फलफूल खेतीमा लगानी गर्न आग्रह गरिनेछ ।” उनले सपना भिलेज इम्प्याक्ट सोसाइटीले सिद्धिमा सञ्चालन गरेको परियोजनाले चेतनास्तर विकासमा सहयोग पु¥याएको बताए । यसैबीच, सोसाइटीले बनाएको सुविधासम्पन्न बर्थिङ सेन्टर हस्तान्तरण गरिएको छ । सुविधा सम्पन्न २ कोठे भवन निर्माण गरी हस्तान्तरण गरिएको हो । यस्तै, मझवाङ माविमा २ कोठे विद्यार्थी आवासगृह निर्माण गरी हस्तान्तरण गरिएको छ । परियोजनामार्फत सिद्धिमा चेपाङ समुदायको आयआर्जनका लागि उन्नत जातका ३० वटा बोका सहयोग गरिएको थियो । यस्तै, यो वर्ष १ लाख २६ हजार डाले घाँसका बिरुवा वितरण गरिँदैछ । गतवर्ष झण्डै डेढ लाख डालेघाँसका विरुवा वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्