समयमै बनेन व्यास नगरपालिकाको भवन «

समयमै बनेन व्यास नगरपालिकाको भवन

निर्धारित समयमै निर्माण सम्पन्न हुन नसक्दा व्यास नगरपालिकाको भवनको म्याद ५ महिना थपिएको छ ।
सम्झौताअनुसार २०७४ माघ २२ गतेभित्रै भवन निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि उक्त अवधिमा निर्माण नसकिएपछि नगरपालिकाले ५ महिनाको म्याद थपेको हो । थपिएको अवधि अनुसार उक्त भवन असार २२ गतेसम्म निर्माण सम्पन्न हुने नगरपालिकाका वरिष्ठ इन्जिनियर रविन्द्रलाल मूलले बताए । उक्त भवनको २०७३ साल मंसिर २२ गते शिलान्यास गरिएको थियो ।
२०७४ सालमा लगातार निर्वाचन परेकाले समयमै भवन निर्माण हुन नसकेको उनले बताए । “२०७४ सालमा स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भएकाले पनि काममा ढिलाइ भयो,” उनले भने, “थपिएको अवधिभित्र निर्माण कम्पनीले भवनको सबै काम सक्छ ।” २०७४ साल वैशाखमा स्थानीय तहको र मंसिरमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भएको थियो । लगातार निर्वाचन पर्दा आचारसंहिताले समेत काम गर्न अप्ठ्यारो भएको र दशैं, तिहार, छठजस्ता चाडपर्वका कारण मजदुर घर जानाले काममा ढिलाइ भएको मूलले जानकारी दिए ।
कार्यालयको जीर्ण भवनले सेवा प्रवाहमा असुविधा भएको भन्दै नगरपालिकाले बहुउद्देश्यीय भवन निर्माण सुरु गरेको थियो । भवन निर्माणका लागि ११ करोड ३७ लाख ८६ हजार रुपैयाँ अनुमान गरिएकोमा भ्याट र कन्टिजेन्सी बाहेक ८ करोड ९ लाख ७५ हजार ९३९ रुपैयाँमा ठेक्का लागेको थियो । काठमाडौंस्थित सिनर्जी बिल्डर्स प्रालिले उक्त भवन निर्माणको जिम्मा पाएको छ ।
भवन निर्माणका लागि नगर विकास कोषले ऋण उपलब्ध गराएको हो । नगर विकास कोषले ९० प्रतिशत ऋण प्रदान गरेको छ । नगर विकास कोषले दुई प्रकारको ऋण सुविधा उपलब्ध गराएको छ । नगर विकास कोषले वार्षिक ८ प्रतिशत व्याजदरमा ऋण र वार्षिक ५.५ प्रतिशत व्याजदरमा सरल ऋण उपलब्ध गराउने छ । दुवै ऋण २० वर्षभित्र तिर्नुपर्नेछ । बाँकी रकममध्ये ७.५ प्रतिशत नेपाल सरकारले अनुदान दिनेछ भने २.५ प्रतिशत नगरपालिकाले व्यहोर्नेछ ।

यस्तो हुनेछ भवन
४ तले भवनले ९ हजार ७३४ वर्गफिट क्षेत्रफल ओगट्ने छ । मूलका अनुसार भवनको लम्बाइ ३६.६७ र चौडाइ २४.६७ हुनेछ । भवनमा पार्किङ, व्यापारिक सटर, कार्यालय, बैंक तथा वित्तीय संस्थाका कार्यालय र नगरपालिकाको कार्यालय रहनेछ ।
सबैभन्दा तल पार्किङ रहने छ । जहाँ २७ वटा कार/जिप पार्किङ गर्न मिल्नेछ । पहिलो तल्लामा ३६ वटा व्यापारिक प्रयोजनका लागि सटर निर्माण हुनेछ । त्यहीँ प्रतीक्षालय, शौचालय, प्राविधिक कक्षसमेत निर्माण गरिने छ ।
दोस्रो तल्लामा बैंक तथा वित्तीय संस्थाका लागि सटर निर्माण गरिने छ भने तेस्रो तल्लामा नगरपालिकाको आफ्नै कार्यालय हुनेछ । जहाँ मेयर कक्ष, कार्यकारी अधिकृतको कक्ष, मिटिङ हल, प्रशासन शाखा, लेखा शाखा, इन्जिनियरिङ शाखा, वडाध्यक्षको कार्यकक्ष, आईटी सेन्टरलगायत रहने छ ।
-कृष्ण न्यौपाने

प्रतिक्रिया दिनुहोस्