इलामका उत्कृष्ट गन्तव्य «

इलामका उत्कृष्ट गन्तव्य

इलाम –धेरैले इलामलाई स्वर्गको उपमा दिन्छन् । कसैले यसलाई ‘नकुँदिएको हिरा’ –‘अ नै अ को जिल्ला’ समेत भन्ने गरेका छन् । एउटामात्र हैन, यहाँ धेरैवटा पर्यटकीय स्थल छन् । प्राकृतिक रुपमा सुन्दर यहाँका ठाउँहरू जो कोहिलाई मन पर्छन् ।
कृत्रिम ढंगले पनि सिंगार्न सके पर्यटकीय हिसाबमा इलाम अब्बल गन्तव्यको रुपमा चिनिन सक्ने विज्ञहरू बताउँछन् । साँच्चै भन्ने हो भने यी पर्यटकीय गन्तव्यहरूको स्याहार पुग्न सकेको छैन ।
अग्र्यानिक चिया, ओलन, अकवरे, अम्लिसो, अलैँची, आलु लगायतका नगदेबाली उत्दापदमा उत्कृष्ठ भूमिको रुपमा समेत इलाम अगाडि आउँछ ।
चियाको जिल्ला भनेर चिनिने इलाम अन्य थुपै्र कुरामा अगाडि छ । इलामको पहिचान नेपालमै पहिलो चिया बगान सँगै क्षणभरमै बादल र घाममा लुकिरहने डाँडाहरू मात्र होइनन्, यहाँको भौगोलिक बनोट, नगदे बालीले अनी यसले सुधारिएको जीवन शैली, जैविक विविधता, धार्मिक क्षेत्र, जातीय संस्कृति, दृश्यावलोकन, तालतलैया, पशु चौपाया, सिमसार क्षेत्र र झुल्के घाम लगायतले पनि इलाम भित्रिने आगन्तुकलाई आनन्दित तुल्याउँछ ।
इलाम बजारभित्र रहेका नारायणथान, माईथान, सिंहबाहिनी सेतीदेवीले अनि इलाम बजार बाहिर रहेका पाथीभरा, गजुरमुखी, माइपाखरी लगायतका धार्मिक क्षेत्रहरूले पनि पर्यटक भुलाउने गर्छन् ।

यी हुन् इलामका मुख्य पर्यटकीय गन्तव्य

अन्तु
जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित अन्तु सूर्योदय र सुर्योस्थको दृष्यका देशकै उत्कृष्ठ गन्तव्यका रुपमा परिचित छ । सूर्योदय हेर्न मुलुककै उत्कृष्ट स्थान मानिएको अन्तुमा भौतिक पूर्वाधार विकासदेखि पर्यटकको वृद्धिका लागि यहाँका स्थानिय लागिपरेका छन् ।
लोपोन्मुख लेप्चा जातिको संस्कृति, अन्तु पोखरी, हराभरा चियाबारी, अतिथि सत्कार अन्तुको लोभलाग्दो पाटो हो । ७ हजार ६ सय ३७ फिट उचाइमा रहेको अन्तु पुग्न फिक्कलबाट १३ किलोमिटर सडक पार गर्नुपर्छ । यहाँ असोजको पहिलो सातादेखि पर्यटक बढ्छन् । सडकको अवस्था सुधार र अन्तुपोखरीमा डुंगा निरन्तर चल्ने हुँदा १२ महिना नै पर्यटकको उपस्थिति हुने गर्छ ।

माईपोखरी
माईपोखरी जिल्लाको एक पर्यटकीय तथा धार्मिक गन्तव्यको रुपमा परिचित छ । इलाम सदरमुकामदेखि १३ किलोमिटर उत्तरको रामसार क्षेत्रमा सूचीकृत माईपोखरीमा दैनिक सयौँ धर्मवलम्बीहरू पुग्ने गर्दछन् । यहाँ विभिन्न प्रजातीका चराचचुरुङ्गी, दुर्लभ वन्यजन्तु र वनस्पति पाइन्छन् । २१ सय मिटरको उचाइमा रहेको माईपोखरीमा दुई हेक्टर जलाशयसहित १२ हेक्टर क्षेत्रलाई जैविक विविधताको दृष्टिले संवेदनशील मानिएको स्थानिय बताउँछन् । मेची राजमार्गको बिब्ल्याँटेबाट ९ किलोमिटर दूरी उत्तरमा रहेको माइपोखरीमा पूजापाठसहित घुमघामका लागि आउनेहरूको भीड देखिन्छ । तिहारपछिको ठूली एकादशीमा मेला लाग्ने यस क्षेत्र धार्मिक तथा पर्यटकीय गन्तव्यको सम्भावना बोकेको एक स्थल मानिन्छ ।

ढाप पोखरी
जिल्लाकै कान्छो पर्यटकीय स्थलसमेत भनेर चिनिने यहाँ भर्खरैबाट डुङ्गा सञ्चालन गरिएसँगै पर्यटकहरूको सङ्ख्यामा समेत वृद्धि भएको छ । सन्दकपुर गाउँपालिका ५ जमुनामा रहेको ढाप पोखरी पर्यटकीय गतिविधि बढाउने उद्देश्यले पोखरीमा दुइटा डुंगा चलाउन थालिएको हो ।
पोखरीको संरक्षण र व्यवस्थापन गर्दै आएको चन्द्रपाल थेबे ढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिले डुंगा सञ्चालन गराएको हो । सदरमुकामबाट २१ किलोमिटर उत्तरको यो पोखरी स्थानीयको पर्यटन विकासप्रतिको मोह र सक्रियताका कारण अढाई वर्षकै अवधिमा आकर्षक गन्तव्यका रूपमा विकास भएको हो ।
क्षेत्रफलका हिसाबले जिल्लाकै ठूलो मानिएको पोखरी ५० रोपनीमा फैलिएको छ । विस्तार गर्ने पर्याप्त ठाउँ रहेकाले आवश्यकताअनुसार क्षेत्रफल बढाउन सकिनेछ ।
०७२ वैशाख १ गतेदेखि पोखरी संरक्षणको काम थालिएको हो । दलदल र सिमले भरिएको उपत्यकाजस्तो क्षेत्रको पूर्वी मोहोडामा बाँस, हिलोमाटो र ढुंगाको बाँध बनाएर काम थालिए पनि अहिले मजबुत ड्याम बनाइएको छ । यहाँ डुंगा सञ्चालन थालिएपछि सन्दकपुर, टोड्के झरना, माबुथाम, हाँगेथाम, चोयाटार, जौबारीलगायत क्षेत्रमा आउने पर्यटक पनि पुग्ने गरेका छन् ।
फरक विशेषता भएका यी क्षेत्रलाई प्याकेज बनाएर पर्यटन प्रवद्र्धन गर्नसके थप फाइदा पुग्ने सरोकारवालाको भनाइ छ । त्यहाँसम्म पुग्ने सडकको बिग्रँदो अवस्थाले भने समस्या आएको स्थानीय बताउँछन् ।
ढापपोखरी पुग्ने पर्यटकका लागि स्थानीयले होमस्टे सञ्चालन गर्ने सोच बनाएका छन् । अहिले पनि त्यस क्षेत्रका घरमा ५० जनासम्म अतिथिलाई खाने–बस्ने व्यवस्था मिलाउने चाँजो मिलाइएको छ । पोखरीमा माछापालन थालिएपछि आगन्तुकलाई आकर्षणको केन्द्र भएको छ । तराईमा पाइने सारसलगायत विभिन्न चराचुरुंगीसमेत पोखरीमा आउने गरेका छन् । पोखरी आसपास लोपोन्मुख सुनगोहोरो र विभिन्न प्रकारका सुनाखरी पाइन्छन् ।

सन्दकपुर
जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित सन्दकपुर क्षेत्र पूर्वाञ्चलकै प्रमुख गन्तव्यका रुपमा समेत परिचित छ । भारतसँग सिमा जोडिएको सन्दकपुर पुग्न सदरमुकामबाट करिब ५० किलोमिटर पार गर्नुपर्छ । यहाँ नेपालतिर व्यवस्थित होटल छन् भने भारततर्फ सरकारी आवास गृह छ । ३ हजार ६ सय ३६ मिटरको उचाइमा रहेको सन्दकपुरबाट सगरमाथा, कञ्चनजंघालगायत नेपाल, भारत र भुटानका थुप्रै हिमाललाई आँखामा कैद गर्न सकिन्छ । सूर्योदय दृश्यावलोकनका लागि पनि सन्दकपुर अब्बल स्थान हो । यो क्षेत्र धार्मिक र जैविक विविधताले पनि महत्वपूर्ण छ ।
कन्काई माईको उद्गम स्थल सन्दकपुर क्षेत्रमा असोजदेखि जेठसम्म पर्यटकको लर्को हुन्छ । युरोप, अमेरिकादेखि भारतका विभिन्न सहरबाट यहाँ घुम्न आउने गर्छन् । यहाँ चैत–वैशाखमा डाँडै ढाक्ने गरी ढकमक्क फुलेको गुराँसले मन लोभ्याने स्थानिय वताउँछन् । सदरमुकाम इलामबाट माईपोखरी माईमझुवा हुँदै गोरुवालेबाट सन्दकपुर पुग्न सकिन्छ । माबुबाट कालपोखरी हुँदै पनि सन्दकपुर पुगिन्छ । यो जिल्लाकै अग्लो स्थानमा रहेको ठाउँ समेत हो ।

कन्याम
मेची राजमार्ग सँगै जोडिएको कन्याम झापाबाट इलाम आवागमनमा विच बाटोमा नै पदर्छ । चियाको पर्याय बनेको कन्याम वनभोज स्थलले चर्चित छ । असोजदेखि वैशाखसम्म वनभोज आउनको सयौं गाडी यहाँ देखिन्छन् । मेची राजमार्गले चिरेको कन्याम चिया बगान फिक्कलभन्दा १० किलोमिटर नजिक पर्छ । कन्याम, नजिकैको हाँसपोखरी, कुटीडाँडा, पाथीभरा मन्दिर, करफोक, फिक्कललगायत क्षेत्रमा तराईमा असाध्य गर्मी हुने भएकाले चिसोको आनन्द लिन पर्यटक आउने गरेका छन् । यो क्षेत्र प्रेम जोडीहरूको घुम्ने तथा नव बिवाहित जोडीहरूको हनिमुन मनाउने ठाउँ भनेर समेत चिनिन्छ । कन्याम नजिकै पर्ने पाथीभरा मन्दिर समेत धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित हुँदै छ । यहा शनिवार र मंगलबार दैनिक हजारमाथी पर्यटकहरू पुग्ने गर्छन् ।

सिद्धिथुम्का
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सिद्धिथुम्का पर्यटक तान्ने एक आकर्षक केन्द्रका रुपमा परिचित छ । सदरमुकाम इलाम बजारबाट २० किलोमिटर पश्चिममा अवस्थित सिद्धिथुम्का डाँडा सूर्योदय र सूर्यास्त तथा हिमशृंखला तराईका फाँटलगायतको दृश्यावलोकन गर्न अब्बल छ । ऐतिहासिक खान्द्रुङ गुफा, पञ्चमी बजार, अजम्बरी डाँडा पनि पर्यटकीय महत्वका छन् । यहाँ विशेष गरेर हिउँदमा वढि पर्यटक आउने गर्दछन् ।
माङसेबुङ
मादक पदार्थ र सूर्तीजन्य पदार्थ सेवनमा रोक लगाइएको यस क्षेत्र पर्यटकीय क्षेत्रका रुपमा समेत विकास हुँदै छ । किराँत धर्मस्थलका रूपमा परिचित माङसेबुङ धार्मिक पर्यटन क्षेत्रका रूपमा विकास हुँदै गएको छ । धार्मिक भावना बोकेर यो क्षेत्रमा पुग्नेहरूको कमी हुँदैन । धर्मगुरु आत्मनन्द लिङदेनको बासस्थान रहेको यो क्षेत्रमा गुरुको जन्मोत्सवको अवसरमा महोत्सव नै सञ्चालन हुने गरेको छ । झापाको दमकबाट करिब २० किलोमिटर उत्तरमा रहेको यो क्षेत्र पुग्न सडकको दूरवस्थाले भने निकै कठिन हुन्छ ।
गजुरमुखी
पश्चिमी गजुरमुखी धाम धार्मिक आस्थाका कारण महत्त्वपूर्ण मानिन्छ । सदरमुकामबाट ५० किलोमिटर दूरीमा यो स्थान रहेको छ । मेची राजमार्गको नेपालटारबाट मंगलबारे हुँदै गजुरमुखी पुग्न सकिन्छ । मंगलबारेसम्म कालोपत्रे र त्यसउताको सडक ग्राभेल गरिएकाले त्यहाँ पुग्न सहज छ ।
-टीका खतिवडा

प्रतिक्रिया दिनुहोस्