सडक, विद्युत्लगायतका सबै विकास राप्तीपारि पुराइने छ : पोखरेल «

सडक, विद्युत्लगायतका सबै विकास राप्तीपारि पुराइने छ : पोखरेल

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल पहिलो पटक बाँकेको सबैभन्दा दुर्गम र विकट मानिने राप्तीपारि पुगेका छन् । राप्ती–सोनारी गाउँपालिका–६, सिधनवास्थित सिद्धेश्वर माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहमा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् ।
पहिलो पटक सो क्षेत्रमा पुगेपछि मुख्यमन्त्री पोखरेलले सो क्षेत्रका जनतालाई सम्बोधन गर्दै छिटै राप्तीपारिका बासिन्दाले पनि सडक, विद्युत्, टेलिफोन र खानेपानी लगायतका सेवा सुविधाको उपभोग गर्न पाउने बताए । उनले राप्तीपारिका बासिन्दाले अब सडक, विद्युत्, टेलिफोन र यातायात सेवाबाट वञ्चित हुन नपर्ने जनाउँदै अन्य ठाउँका नागरिकजस्तै सो क्षेत्रका बासिन्दाले पनि बाह्रै महिना यातायात सेवा लिन पाउने बताए ।
हरेक वर्ष राप्ती नदी आसपासका नागरिक बाढीको चपेटामा पर्ने गरेको उल्लेख गर्दै उनले दीर्घकालीन समस्या समाधानको उपाय खोजिने बताए । उनले जंगल फडानी गरेर बस्नुभन्दा राप्ती नदीबाट हुने क्षति न्यूनीकरणका विषयमा उपाय खोजिनु पर्ने बताए । राप्ती नदीमा आउने बाढीबाट जोगिन सुरक्षित ठाउँमा एकीकृत बस्ती बसाल्न सकिने उनले जनाए । उनले स्थानीय नागरिक एकीकिृत बस्ती बसाल्न तयार भए सहयोग गर्ने बताए । “एकीकृत बस्तीका लागि तपार्इंहरू योजना बनाउनुस् प्रदेश सरकार सहयोग गर्न तयार छ,” मुख्यमन्त्री पोख्रेलले भने ।
उनले नौमुरे जलविद्युत् आयोजनाले राप्ती नदी समस्या कम गर्ने तर्क गरे । उनले परिस्थिति अनुसारको खेती गर्न सुझाव दिए । उनले प्राचीनकालीन कृषि पद्दतिमा अहिले पनि खेती भइरहेको बताउँदै नयाँ प्रविधिको प्रयोग गरेर खेतीपाती गर्ने बेला आएको बताए । “आधुनिक र व्यावसायिक रूपमा गरिने खेतीलाई प्रदेश सरकारको साथ र सहयोग रहने छ,” उनले भने ।
सो अवसरमा सांसद महेश्वर गहतराज अथकले राप्तीपारि क्षेत्रमा प्रशस्त सम्भावना भए पनि सडक, बिजुली र टेलिफोनका कारण आर्थिक उपार्जन गर्न नसकिएको बताए । उनले राप्तीपारिका नागरिक अत्यावश्यक सेवा, सुविधाबाट समेत वञ्चित भएको बताउँदै नरैनापुरमा ५० शैयाको अस्पताल आवश्यक भएको औँल्याए ।
प्रदेशसभा सदस्य कृष्णा केसी (नमुना) ले राप्तीपारिका नागरिक प्राकृतिक प्रकोपको मात्र नभई राज्यको सेवाबाट समेत उपेक्षित भएको बताउँदै अब विकासमुखी योजना बनाइने बताइन् । उनले राप्तीपारिका गाउँमा सडक विस्तार भइरहेको बताउँदै उनले हुलाकी सडक निर्माणले केही राहत मिलेको बताइन् । तर सो काममा पटकपटक अवरोध आइरहेकाले सोतर्फ ध्यान दिन उनले प्रदेश सरकारसँग आग्रह गरिन् ।

 

प्रतिक्रिया दिनुहोस्