टेलिकमका ग्राहक २ करोडनजिक «

टेलिकमका ग्राहक २ करोडनजिक

नेपाल टेलिकमका ग्राहक १ करोड ९१ लाख १३ हजार पुगेका छन् । फागुन मसान्तसम्म कम्पनीको डाटा सेवाका प्रयोगकर्ता ९९ लाख ५४ हजार ७ सय २२ पुगेका छन् । डाटा सेवाका लागि कम्पनीले हाल ५ एमबीपीएससम्म गतिको अनलिमिटेड एडीएसएल इन्टरनेट सेवा मासिक न्यूनतम ५ सय ८३ रुपैयाँ सम्मको मूल्यमा उपलब्ध गराएको छ । चालू आर्थिक वर्षको फागुन महिनासम्ममा डाटा सेवामा १८.१४ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।
गत वर्ष देखि सुरु गरेको फोरजी सेवालाई देशैभर विस्तार गर्नका लागि आह्वान गरेको टेण्डर मूल्यांकनको अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ । एक करोड जीएसएम आयोजना अन्तर्गत दुई प्याकेजमध्ये काठमाडौं उपत्यका तथा पश्चिमाञ्चल क्षेत्रको ४८ लाख क्षमताको नेटवर्क विस्तार कार्य सतप्रतिशत सम्पन्न भइसकेको र अर्को प्याकेजअन्तर्गत मध्यमाञ्चल क्षेत्र, पूर्वाञ्चल क्षेत्र, मध्य पश्चिमाञ्चल क्षेत्र तथा सुदूर पश्चिमाञ्चल क्षेत्रको ५२ लाख क्षमताको नेटवर्क विस्तार कार्य ७२ प्रतिशत सम्पन्न भएको छ ।
मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने कार्यका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग भएको सम्झौता पश्चात् आवश्यक सम्पूर्ण सर्भे कार्य सम्पन्न गरी कम्पनीले माइक्रोवेभ ट्रान्समिसन तथा टावरको छुट्टाछुट्टै बोलपत्र आह्वान गरी टावर निर्माण कार्य सुरु भइसकेको र माइक्रोवेभ ट्रान्समिसनको बोलपत्र मूल्यांकनको अन्तिम चरणमा रहेको जनाएको छ । साथै प्रदेश १, २ र ३ मा अप्टिकल फाइबर बिछ्याउने कार्यको तीन वटा छुट्टाछुट्टै बोलपत्रहरू तयार गरी अन्तिम स्वीकृतिका लागि सञ्चालक समितिमा पेश भइसकेको छ । हाल उपभोक्ताको रुचि डाटामार्फत प्राप्त हुने सेवातर्फ आकर्षित हँुदै गएकोले विश्वव्यापी रुपमा नै अन्तर्राष्ट्रिय भ्वाइस सेवाबाट हुने आम्दानी घट्दै गएको देखिन्छ ।
पीडब्लूसी नामक कम्पनीले गरेको अध्ययन प्रतिवेदन अनुसार सन् २०१७ मा अन्तर्राष्ट्रिय कलको आम्दानी विश्वव्यापी रुपमा करिब २० प्रतिशतले घटेको छ । नेपालको सन्दर्भमा नेपाल टेलिकम र अन्य सेवा प्रदायकको पनि २० प्रतिशतकै हाराहारीमा सो आम्दानी घटेको सेवा प्रदायकहरूको वार्षिक प्रतिवेदनबाट देखिन्छ । कम्पनीले सेवा विस्तारका लागि आवश्यक उपकरण जडान गर्ने कार्यलाई पनि तीव्रता दिएको छ । आर्थिक वर्ष २०७३/४ मा मात्रै एक हजार ४ सय १५ नयाँ बीटीएस टावर सञ्चालन र ६८९ पुरानो बीटीएस टावर प्रतिस्थापन गरेको छ । साथै ३ सय ८७ फोरजी बीटीएस समेत गरी कुल २ हजार ४ सय ९१ बीटीएस सञ्चालन भएका छन् ।
आर्थिक वर्ष २०७४/५ को अन्त्य सम्ममा थप २३५ स्थानमा बीटीएस सञ्चालन गर्ने लक्ष्य छ । सो मध्ये ४० बीटीएस सिराहा र सप्तरीमा मात्रै सञ्चालन गर्ने लक्ष्य रहेकोमा १२ वटा सञ्चालनमा आइसकेका छन् भने ३ वटा सञ्चालनको क्रममा रहेका छन् । ७ वटा बीटीएस जडानको क्रममा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्