मोरिङ्गाको व्यावसायिक उत्पादन «

मोरिङ्गाको व्यावसायिक उत्पादन

चामत्कारीक वनस्पतिको रुपमा चिनिने मोरिङ्गाको व्यावसायीकरणको सुरुवात गरिएको छ । तराइ तथा पहाडी क्षेत्रमा पाइने वहुपोषणयुक्त बुटी मोरिङ्गाको व्यावसायिक उत्पादन तथा बिक्री वितरणको आइतबार उद्घाटन गरिएको छ ।
मोरिङ्गा नेपाल प्रा.लि.ले एक कार्यक्रम गरी मोरिङ्गाबाट उत्पादित उत्पादन तथा बजारीकरणको सुरुवात गरेको हो । काठमाडौंको बालुवाटरस्थित चियापान रेष्टुरेन्टमा एक कार्यक्रम गरि मोरिङ्गा नेपालको उत्पादनहरू सार्वजनिक गरिएको छ । मोरिङ्गा नेपालका अध्यक्ष शिशीरकुमार भट्ट, मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले, पोषण विज्ञ डा. अरुणा उप्रेतीलगायतका अतिथिहरूले मोरिङ्गाबाट बनाइएको चिया एकैसाथ पिएर उत्पादनको सार्वजनिक गरिएको हो ।
परम्परागत रुपमा उपभोग गर्दै आइएको यो वनस्पति खानयोग्य रहेको प्रमाणित गरेर बजारमा ल्याइएको कम्पनीका अध्यक्ष भट्टले बताए । “मोरिङ्गाको प्रयोग यसअघि आआफ्नो तरिकाले हुँदै आएको छ तर हामीले प्रमाणित नगरी बजारमा ल्याउन नमिल्ने भएकाले आधिकारिक सरकारी ल्याबबाट प्रमाणित गरेर बजारमा ल्याएका हौं,” उनले भने, “केन्द्रीय खाद्य प्रयोगशालाबाट यो वनस्पति खान मिल्ने र पौष्टिक रहको प्रमाणित गरेर व्यावसायिक उत्पादन थालेका छौं ।” करिब एक वर्षदेखि मोरिङ्गा वनस्पति प्रयोगमा आएको मानिन्छ । मोरिङ्गालाई संस्कृतमा सिग्रु, हिन्दीमा सहिजन, नेपालीमा सितलचिनी, र बोटानिकल नेमका रुपमा मोरिङ्गा ओलिफेराको नामले बुझिन्छ ।
कम्पनीले व्यावसायिक उत्पादन थालेको प्रजाती मोरिङ्गा ओलिफेरा हो । काभ्रे र गोरखामा पाँच हजार विरुवा रोपेर व्यावसायिक उत्पादन थालिएको जनाइएको छ । सामान्यतया समुन्द्र सतहदेखि ११ सय मिटरको उचाइसम्म, तुसारो र हिउँ नपर्ने स्थानमा यसको खेति गर्न सकिन्छ । “परिवारको आम्दानी बढाउन र स्वास्थ्यमा पनि फाइदाजनक भएकाले कृषकले घरमै उत्पादन गरेर पनि यसको उपभोग गर्न सक्छन्,” भट्टले भने, “हामीले यसको व्यावासायिक उत्पादन गरेर मुलुक र मुलुकबाहिर पनि निर्यात गर्ने लक्ष्यका साथ काम सुरु गरेका छौं ।” हाललाई १ सय ग्रामको मोरिङ्गा पाउडर, २५ टिब्याग अदुवाका स्वादमा र २५ टिब्याग दालचिनीको स्वादमा बिक्रीका विक्री थालिएको उनले बताए । मोरिङ्गामिश्रित केक र ब्रेड पनि बजारमा ल्याइएको र अन्य उत्पादन पनि बजारमा ल्याउने उनले जानकारी गराए ।
उद्घाटन कार्यक्रममा राष्ट्रिय मृगौला केन्द्रका वरिष्ठ निर्देशक डा. ऋषिकुमार काफ्लेले वहुपोषणयुक्त मोरिङ नियमित खाने बानी गर्नु स्वास्थ्यका लागि लाभदायी हुने बताए । “विश्वमा गरिएका अनुसन्धानबाट मोरिङ्गा स्वास्थ्यका लागि फाइदाजनक देखिएको छ । यसमा रहेको पोषक तत्वले सबैलाई फाइदा हुने देखिन्छ,” उनले भने, “सुरुमा तपाइ दिनमा एक चम्चा यसको उपभोग गर्नुहोस्, तीन चार हप्तामा दुई चम्चा बढाउन सकिन्छ र यहाँ भनिए जस्तै दिनको तीन चम्चा उपभोग गर्न सकिन्छ ।” उनले विरामी नभएकाले पनि खाँदा यसबाट लाभ लिनसक्ने बताए ।
डा.अरुणा उप्रेतीले मोरिङ्गालाई संजीवनी (मृत्युबाट बचाउने जडिबुटी) भएकाले वालवालिकाका लागि पनि उपयोगी भएको बताइन् । “नेपालमा ४५ देखि ५० प्रतिशत बालवालिका कुपोषणबाट पीडित छन्, सरकारले कुपोषण अन्त्य गर्न विभिन्न भिटाभिनयुक्त गोलिहरू वितरण गर्दै आएको छ,” उनले भनिन्, “तर, हामीले हाम्रै गाउँघरमा पाइने यो मोेरिङ्गाको प्रयोग गरिरहेका छैनौं । यसमा शरिरलाई चाहिने पोषक तत्वको भण्डार हुने भएकाले यसलाई संजीवनीको रुपमा नाम दिने गरिएको हो, यसको उपभोग गरौं ।” के कति मात्रामा कति उपभोग गर्ने भन्ने थप अध्ययन आवश्यक रहेको बताउने उनले बाललालिकालाई दिनमा ५ ग्राममात्र मोरिङ्गा दिन सुझाइन् ।
मोरिङ्गाको उपयोगिता
विश्वका धेरै देशहरूले मोरिङ्गालाई जडीबुटीका रुपमा स्वीकारेका छन् । जसले गर्दा पोषणको अभाववाट मानिसलाई अकाल मृत्यु हुनबाट बचाउँछ भने बिभिन्न किसिमका रोगकानिम्ति प्रतिरक्षात्मक क्षमता प्रदान गर्न मद्धत गर्दछ । मधुमेह, मुटुरोग, रक्तअल्पता, जोर्नीका समस्या, कलेजोको समस्या, श्वासप्रश्वास, चर्मरोग, पक्षघात, नपुंसकता, तथा पाचनप्रकृया जस्ता रोगहरूका निम्ति यसले महत्वपूर्ण भूमिका निभाउछ भने सुगर तथा प्रेसरका निम्ति समेत उपयोगी मानिएको छ । बनस्पतिबाट एन्टीफङ्गल, एन्टीभाइरल, एन्टीएर्बोटीफीसेन्ट (अधिग्रोबिरुद्ध) प्रतिरक्षात्मक क्षमता पैदा गर्छ भने प्रोटिन, भिटामीन बि ६, भिटामिन सी, क्याल्सीयम लगायत बिभिन्न पौष्टिक तत्वहरूको प्रचुर श्रोतका रुपमा यसलाई लिइएको छ । दैनिक ७ ग्राम मोरिङ्गा ३ महिनासम्म नियमित सेवन गरेका ३० जना महिलाहरूको रक्त परिक्षणमा चिनीको मात्रा १३.५ प्रतिशतले कमि आएको हेल्थलाइन डटकमको रिपोर्टमा छ ।
तत्काललाई मोरिङ्का उत्पादनहरू काठमाडौंको बालुवाटारस्थित चियापान रेष्टुरेन्ट बालुवाटार र लग्गी नीति डिमार्टमेन्टल स्टोर बत्तिसपुतलीबाट बिक्री वितरण भइरहेको कम्पनीले जनाएको छ । निकट भविष्यमै उपभोक्ताको मागलाई मध्यनजर गरेर थप स्थानहरूमा पनि बिक्रीको प्रबन्ध गरिने कम्पनीका कार्यक्रम निर्देशक वसन्त देवकोटाले बताए । हरेक घरमा एउटा मोरिङ्गाको रुख रोपेर पनि यसको फाइदा लिन सकिने सुझाव उनको छ ।

प्रतिक्रिया दिनुहोस्