Logo

इँटाका लागि कोइला आयातमै समस्या

ललितपुर- नेपालमा सञ्चालित अधिकांश उद्योग तथा कलकारखाना कच्चा पदार्थमा परनिर्भर छन् । उत्पादन गर्ने कम्पनीका सञ्चालक नेपाली भए पनि कम्पनीमा प्रयोग हुने कच्चा पदार्थ भारत तथा तेस्रो मुलुकबाट आयात गर्नुपर्ने बाध्यता छ । यसले गर्दा उत्पादन लागत बढ्नुका साथै निर्यातमा समेत समस्या हुने गरेको छ ।
भूकम्पपछिको पुनर्निर्माणले तीव्रता पाइरहेका बेला नेपालमै उत्पादित इँटाको माग निकै छ । तर, इँटा उत्पादनका लागि आवश्यक पर्ने कोइरा भने नेपालमा उत्पादन हुँदैछ । त्यसैले छिमेकी मुलुक भारतबाट कोइला आयात गर्नुपर्ने बाध्यता व्यवसायीलाई छ । यसले इँटाको लागत मूल्य बढाएको छ ।
नेपालका इँटा उद्योले भारतबाट कोइला आयात गरिरहेका छन् । तर, कोइला आयातमा पनि पटक–पटक समस्या झेल्नु परेको इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले बताए । “इँटा आयातमा पटकपटक पर्ने गरेका समस्याका कारण लागत मूल्य बढ्ने गरेकाले इँटाको मूल्य पनि वृद्धि हुने गरेको छ,” अध्यक्ष चित्रकारले भने, “कच्चा पदार्थ नै महँगो पर्ने भए पनि उत्पादित इँटा पनि स्वतः महंगो पर्ने र त्यसले उपभोक्तालाई बढी असर पर्ने गर्छ ।”
कतिपय पुरातात्विक उत्खनन्का क्रममा तीन हजार वर्ष पुराना इँटा भेटिने गरेका छन् । त्यसबेला आगोले पोलेर तयार पारिएका इँटा निकै गुणस्तरीय हुने गरेको देखिन्छ । बुद्धकालभन्दा अघिको रातो इँटा अहिले पनि भेटिने गरेकाले त्यसको गुणस्तर अरूसँग तुलना गर्न नसकिने चित्रकार बताउँछन् ।
केही वर्षअघिसमम नेपालमा इँटा पोल्नका लागि अवाल भट्टा मात्र थिए । पछिल्लो समयमा भुसे भट्टा र अस्थायी चिम्नीको प्रयोग बढेको छ । अझ पछिल्लो समयमा त चिम्नी नै धेरै व्यवसायीको रोजाइ बनेको छ । त्यस्ता भट्टीमा कोइलाको प्रयोग अत्यधिक हुने गर्छ । तर, कोइला आयातमा व्यवसायीलाई परेको समस्याका कारण उत्पादन लागत बढ्ने गरेको छ । व्यवसायीका समस्या समाधान गर्न सरकारले पहल गर्नुपर्ने इँटा व्यवसायीको माग छ ।

भूमिराज जोशी

प्रतिक्रिया दिनुहोस्