Logo

कर्मचारी समायोजन ऐन पालना गर्न आग्रह

नेपाल स्वास्थ्यकर्मी युनियनका अध्यक्ष उज्ज्वल कुमार शर्माले कर्मचारी समायोजन ऐनको अक्षरश पालना गर्नुको विकल्प नरहेको बताएका छन् । रिपोर्टर्स क्बल नेपालमा युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष शर्माले यस्तो टिप्पणि गरेका हुन् ।
उनले भने, “कर्मचारी समायोजनलाई रोक्ने काम कुनै एउटा मन्त्रीले चाहेको स्थितिमा सम्भव हुँदैन, त्यो संसदबाट पारित भएको ऐन हो । विशुद्ध स्वास्थ्य क्षेत्रका कर्मचारी समायोजन गर्न सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सक्नुहुन्न । कर्मचारीमध्ये आधा जति कर्मचारी स्वास्थ्य क्षेत्रका छन् ।”
काठमाडौंमा वैशाख १७ र १८ गते सम्पन्न केन्द्रीय कमिटिको बैठकका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा युनियनका केन्द्रीय अध्यक्ष शर्माले मन्त्री पण्डितप्रति लक्षित गर्दै ऐन मिचेर कदम चाल्ने प्रयास गरे जटिल स्थिति सिर्जना हुने ठोकुवा गरे ।
उनले भने, “अनुत्पादक क्षेत्रमा सरकारले लगानी गरिरहेको छ, राज्यको निकायमा रहेर कर्मचारीहरुले सेवा प्रदान गरेर आए । सम्मान स्वरुप कर्मचारी समायोजन ऐन अघिल्लो सरकारले ल्याएको हो । उक्त ऐनलाई कार्यन्वयन गर्नुको साटो अनेक बाहानाबाजि देखाएर कर्मचारीमाथि प्रहार गर्ने काम भएको छ ।”

प्रतिक्रिया दिनुहोस्