मिलोमतोमा ठेक्का

डडेल्धुराः अमरगढी नगरपालिकाको नयाँ भवन निर्माणका लागि झन्डै एक करोड रुपैयाँको मिलोमतोमा कर्मचारीले आफ्नो मान्छेलाई ठेक्का दिएको खुलासा भएको छ । नगरपालिकाले भवन निर्माणका लागि आएको कुल रकमको ४ लाख कममा ७ करोडको भवन ठेक्का सदर गरेको हो ।
अमरगढी नगरपालिका कार्यालय डडेल्धुराको भवन निर्माणका लागि आव्हान गरिएको टेन्डर ४ लाख कममा कमर्चारीको मिलोमतोमा सदर गरिएको हो । ७ करोड ४८ लाख रुपैंयाँको अमरगढी नगरपालिकाको भवन निर्माणका लागि भएको ठेक्का प्रतिस्पर्धामा रोयल कन्ट्रक्सन कैलालीले जम्मा ४ लाख कममा काम गर्ने गरी जिम्मेवारी पाएको छ ।
मूल्य अभिवृद्धि करसहित ७ करोड ४८ लाख लागत भए पनि रोयल कन्ट्रक्स कैलालीलाई ७ करोड ४४ लाख रुपैयाँमा ठेक्का सदर गरिएको छ । यस सम्बन्धमा अमरगढी नगरपालिकाका इन्जिनियर कवीन्द्र भट्टलाई सम्पर्क गर्दा प्रतिस्पर्धामा ४ निर्माण कम्पनी रहेको र सबैभन्दा बढी रोयलको देखिएकाले उसैको सदर भएको बताए ।
भवन तथा निर्माणकार्य प्रतिस्पर्धामा हुने भए पनि पहिलो पटक यस्तो यो टेन्डर स्वीकृत भएको छ, जुन ०.१ प्रतिशतमा मात्र ठेक्का सदर भएकाले यसमा कर्मचारीको मिलोमतो रहेको चाँदनी कन्ट्रक्सन डडेल्धुराका प्रबन्धक लोकेन्द्र गुरुङले बताए ।
रातारात कर्मचारीले कागजात मिलाएर ठेक्का सदर गरेको भन्दै जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा उजुरीसमेत दिएको चाँदनीका प्रबन्धक गुरुङले बताए । यति थोरैमा काम भएको यो डडेल्धुराकै इतिहासमा पहिलो पटक भएकाले यसमा कर्मचारीको मिलोमतो हुनसक्ने निर्माण व्यवसायी गुरुङले बताए ।
उक्त भवन निर्माणका लागि ८ निर्माण व्यवसायी प्रतिस्पर्धामा सहभागी भए पनि अन्तिममा चार निर्माण कम्पनीलाई मात्रै छनोट गरिएको थियो । चार कम्पनीले प्रतिस्पर्धा गर्दा पनि ४ लाखमात्रै कममा स्वीकृत हुनु त्रुटि पूर्ण हुनसक्ने कार्यालयकै कर्मचारीहरू बताउँछन् ।
आसयपत्र प्रकाशित भएपछि मात्रै आफूहरूले कम दरमा टेन्डर स्वीकृत भएको थाहा पाएपछि मात्रै जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा उजुरी दिएको निर्माण व्यवसायीहरू बताउँछन् ।
डडेल्धुरामा दर्जन पत्रिका प्रकाशित हँुदै आए पनि अमरगढी नगरपालिकाले डडेल्धुरामा वितरण (सर्कुलेसन) नभएको पत्रिकामा सूचना प्रकाशित गर्नु त्रुटिपूर्ण रहेको निर्माण व्यवसायीले आरोप लगाएका छन् । ७ करोडको ठेक्का ४ लाख कममा पर्नु संयोग नभएको निर्माण व्यवसायीहरूको भनाइ छ ।