विमानस्थलमा शव प्रतीक्षा कक्ष सुरु «

विमानस्थलमा शव प्रतीक्षा कक्ष सुरु

रोजगारीको क्रममा विदेशमा ज्यान गुमाउने नेपालीको शवलाई व्यवस्थित तवरले परिवारका सदस्यले प्राप्त गर्न सकुन् भनेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव राख्ने, श्रद्धान्जली प्रकट गर्ने प्रतीक्षा कक्ष सञ्चालनमा ल्याइएकोे छ ।
मृतक कामदारको शव लिन विमानस्थल पुगेका आफन्तले शोकका बेला समवेदना प्रकट गर्नसमेत विभिन्न समस्या भोग्नुपर्ने भएपछि सरकारले आइतबारदेखि वैदेशिक रोजगार सहायता कक्ष सुरु गरेको हो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले रोजगारीका क्रमका विदेशमा ज्यान गुमाएका नेपालीको समवेदना र आफन्तको सहजताका लागि सेवा कक्ष स्थापना गरिएको बताए ।
“रोजगारीको विकल्प खोज्दै विदेश गएका नेपालीले ज्यान गुमाउनु दुखद् घटना हो,” उनले भने, “मृतक कामदारको शव व्यवस्थित गरी आफन्तलाई सहज रुपमा हस्तान्तरण गर्न सहयोग होस् भनेर यस्तो व्यवस्था गरिएको हो ।” सरकारले लामो समयदेखि मृतक कामदारको शव घरसम्म पुर्याउनका लागि निशुल्क यातायातको व्यवस्था गदै आइरहे पनि मृतकका परिवारजनलाई शवको प्रतिक्षा गर्ने स्थानको व्यवस्थापन गर्न सकेको थिएन । “यो व्यवस्थालाई अन्य रुपमा हेर्नेभन्दा पनि मृतक कामदारको देशप्रति योगदान र परिवारका सदस्यका लागि समवेदना हो,” निर्देशक काफ्लेले भने, “शोकाकुल परिवारको सहयोग र मृतक कामदारको शव व्यवस्थापन गर्न सरकारले एक कर्मचारीसहित सेवा सुरु गरिएको हो ।”
सरकारले विदेश रहेका नेपाली कामदारको सहयोगका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजनाअन्तर्गत विमानस्थलमा यो व्यवस्था गरेको हो । सरकारले ५ वर्ष अघिदेखि नै यो सेवा सुरु गर्ने योजना जनाए पनि अहिले आएर सुरु गरेको हो । वैदेशिक रोजगारीका क्रमका मृत्यु भएका कामदारको शव नेपाल ल्याएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा व्यवस्थापन गर्ने विषयमा अन्योल हुने गरेका कारण यसको व्यवस्थापन गर्न लागिको हो ।

प्रतिक्रिया दिनुहोस्