बैंक र नगरपालिकाको लापरबाहीले सामाजिक सुरक्षा भत्ताबाट वञ्चित

बैंक र नगरपालिकाको लापरबाहीका कारण सुर्खेतका केही नागरिक सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएका छन् ।
तथ्यांक संकलन तथा व्यवस्थापनमा बैंक र नगरपालिकाका कर्मचारीको लापरबाहीका कारण गतवर्ष सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका केही नागरिकहरू यस वर्ष वञ्चित भएका हुन । गत वर्ष बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिएका सदरमुकाम वीरेन्द्रनगरसहित भेरीगंगा, सुभाघाट र पञ्चपुरी नगरपालिकामा उक्त समस्या देखिएको हो । तथ्यांकमा नाम नहुँदा अघिल्ला वर्षमा सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका केही नागरिक यस वर्ष बञ्चित भएको वीरेन्द्रनगर– ११ का वडाअध्यक्ष नन्दलाल शर्माले बताए । “बैंकको कमजोरी हो या नगरपालिकाका कर्मचारीको कमजोरी हो,” वडाअध्यक्ष शर्माले भने, “गत वर्ष भत्ता पाएका केही व्यक्तिको नाम छुटेकाले अप्ठेरो परेको छ ।” वीनपा– ११ का मात्रै करिब २० देखि २५ जना सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएको वडाअध्यक्ष शर्माले बताए । तथ्यांकमा कतिपयको उमेर घटेको र कतिपयको ठेगाना फरक परेको शर्माको भनाइ छ । “गत वर्ष ७० वर्ष पुगेर मासिक दुई हजार बुझेका केहीको यसपटक ७० भन्दा कम उमेर देखाइएको छ,” उनले थपे, “यस्तो गडबडीले हामी जनप्रतिनिधिलाई नै अप्ठेरोमा पारेको छ ।” सरकारले ७० वर्ष पुगेका सबै ज्येष्ठ नागरिकलाई एक हजार सामाजिक सुरक्षा भत्ता र थप एक हजार उपचार खर्च दिन्छ । गत वर्ष ७० बर्ष उमेर पुगेर मासिक दुई हजारका दरले भत्ता पाएका केही व्यक्तिले यसपटक नगरपालिकाको तथ्यांकमा उमेर घटाइएका कारण मासिक एक हजारमा मात्रै पाउने भएपछि असन्तुष्टि प्रकट गरेका छन् । “मैले पोहोर साल भत्ता बुझेकी हुँ,” वीननपा– ११ की नरमती सुनारले भनिन्, “पोहोरै ६० पुगेको मान्छे यसपालि कसरी पुग्दैन ?”
नगरपालिकाका सूचना सहायक खुमलाल न्यौपानेले नगरपालिकाका केही वडामा उक्त समस्या देखिएको स्वीकार्दै छिटै सामाधान गरिने बताए । पञ्जीकरण विभागले केही वर्ष अघिदेखि नगरपालिकाहरूमा सामाजिक सुरक्षाभत्ता पाउनेहरूको विवरण सफ्टवेयरमार्फत राख्ने व्यवस्था गरेको छ ।
भेरीगंगा नगरपालिकामा पनि केही व्यक्तिको नाम छुटेको वडा नं. १३ का वडाअध्यक्ष टीकाराम सुवेदीले बताए । कर्मचारीको लापरवाहीले नाम छुटेको तथा कतिपयको विवरण फरक परेको वडाअध्यक्ष सुवेदीको भनाइ छ । नगरपालिकाका सूचना अधिकारी कुलबहादुर खड्काले सफ्टवेयर सिस्टममा तथ्यांक राख्दा केही तलमाथि हुन गएको भए पनि अहिले समस्या समाधान भइसकेको बताए । सुभाघाट नगरपालिकाका मेयर हस्त पुनले सफ्टवेयर सिस्टमबाट डाटा इन्ट्रीमा सामान्य समस्या आए पनि त्यसलाई सामाधान गर्ने प्रयास भइरहेको बताए ।
गोविन्द खत्री